बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नख्खु जेलका कैदीबन्दीको झगडा समाधान गर्न समिति गठन

सोमबार, २१ भदौ २०७८, १५ : १४
सोमबार, २१ भदौ २०७८

ललितपुरस्थित नख्खु कारागारका कैदीबन्दीले उठाएका समस्या छानविन गर्न र आन्तरिक सुधारका लागि सुझाव दिन समिति गठन गरिएको छ । कारागार ब्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई बताए ।

नख्खुका कैदीबन्दीले आइतबार २७ बुँदे माग राखेर आन्दोलन गरेका थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारीले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरुले आन्दोलन स्थगित गरेका छन् । समितिमा प्रहरीका डिएसपी रमेश पण्डित, जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत दिपक न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर दिपक केसी र सेनाको राज दल गण कारागार सुरक्षा बेसका अधिकृत सदस्य छन् । कैदीबन्दीले उठाएका समस्याको अध्ययन र आन्तरिक सुधारका लागि १० दिनमा सुझाव प्रतिवेदन पेश गर्न समितिलाई कार्यादेश दिइएको छ ।

कैदीबन्दीहरुले आफुसँग पैसा उठाएर नाइकेहरूले हिनामिना गरेको, फोनमा कुरा गर्दा आफ्नो मातृभाषा प्रयोग गर्न नदिएको र काममा लगाएर पैसा नदिएको जस्ता आरोप लगाएका छन् । विवादमा संलग्न नाइकेहरूलाई त्यहाँबाट स्तानान्तरण गरिएको प्रजिअ निरौलाले बताएका छन् । नाइकेहरूले कैदीबन्दीको सुविधाका लागी राखिएका ९ थान फोन आफ्नो नियन्त्रणमा राखेर एउटा मात्रै प्रयोग गर्न दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप