शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी सम्झौता परिमार्जन गर्ने अमेरिकाको सङ्केत

​फातेमा र ब्रुक्स नेपाल आउनुअघि नै अमेरिकाको चासो
सोमबार, २१ भदौ २०७८, १२ : ५०
सोमबार, २१ भदौ २०७८

अमेरिकाले नेपालसँगको एमसीसी सम्झौता संशोधन गर्ने सङ्केत देखाएको छ । नेपालले राखेको चासोलाई सम्बोधन गर्दै अमेरिकाले सम्झौता परिमार्जन गरेपछि  राष्ट्रिय सहमतिका आधारमा सम्झौता अनुमोदन गर्ने नेपाल सरकारको तयारी छ ।

 अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच चार वर्षअघि भएको उक्त सम्झौता नेपालमा व्यापक विरोध र विवादित भएपछि अमेरिका सम्झौता  संशोधन गर्ने पक्षमा आइपुगेको नेपाली पक्षको बुझाइ छ । सोही अनुसार नेपाली पक्षको मागबमोजिम नै अमेरिकाले सम्झौतामा भएका कुन–कुन प्रावधान संशोधन गर्नुपर्ने हो भनेर सोधेको उच्च स्रोतले रातोपाटीलाई बतायो ।

 परिमार्जनमार्फत सम्बोधन गर्नुपर्ने विवादित विषयहरू नोट गरेर पठाउन अमेरिकी पक्षले भनेकाले नै नेपालले बुँदामा संशोधन गर्नुपर्ने विषयहरू समेटेर पत्र पठाएको प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतले बताएको छ ।

 


 

 पछिल्लो मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री देउवाले अमेरिकाले एमसीसीबारे राखेको चासोका विषयमा ब्रिफिङ गर्दै संशोधन गर्नुपर्ने विषयहरू पठाउन भनेअनुसार नेपाल पक्षले पत्र पठाएको बुझिएको छ ।

 स्रोतका अनुसार संशोधन गर्नुपर्ने र अस्पष्ट भएका विषयहरू एमसीसीका उपाध्यक्ष फातेमा जे सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमणमा आउनुअघि नै प्रष्ट पार्न भनेकाले सरकारले अमेरिकालाई पत्र पठाएको स्रोतले बतायो ।

 । ‘यसअघि अमेरिकाले सम्झौता संशोधन हुँदैन भन्दै आएको थियो । तर, अहिले उसैले संशोधन गर्नुपर्ने विषयहरू खुलाउन भनेकाले ऊ संशोधनका लागि तयार भएको भन्ने सङ्केत मिलेको छ’, प्रधानमन्त्री देउवा निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘एमसीसीका उपाध्यक्षको टोली नेपाल आएपछि यसबारे प्रष्ट हुन्छ ।’

 एमसीसी विवाद : को हुन् नेपाल आउन लागेका फातिमा र जोनाथन ?

अमेरिकास्थित एमसीसी मुख्यालयकी उपाध्यक्ष फातिमा सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स मंगलबार नेपाल आउँदैछन्  । फातिमा र जोनाथनले एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र शीर्षस्थ नेताहरूसँग भेट गर्ने बुझिएको छ ।

फातिमा सुमर

फातिमा सुमर अन्तरराष्ट्रिय विकास, वैदेशिक नीति, कूटनीति र वकालतमा पोख्त रहेकी एमसीसी मुख्यालयको वेभसाइटमा उल्लेख छ । 

सुमार एमसीसीको कम्प्याक्ट अप्रेशनकी उपाध्यक्ष हुन् । उनले नै एमसीसी सम्झौताअन्तर्गत अमेरिकाले प्रवाह गरेको अनुदान सहायता हेर्छिन् ।

पूर्वाधार, वातावरण, जलवायु परिवर्तन, निजी क्षेत्र, लैंगिक तथा सामाजिक समावेशीकरण, मानव र समुदाय विकास, भूमि तथा कृषि, खरिद, वित्त व्यवस्थापन, रणनीतिक साझेदारी, सम्झौता र अनुदान व्यवस्थापन पनि उनको कार्यक्षेत्र हो । 

कम्प्याक्ट अप्रेशन उपाध्यक्ष हुनुअघि उनी युरोप, एसिया–प्रशान्त, दक्षिण अमेरिका हेर्ने एमसीसीकी सहायक उपाध्यक्ष थिइन् । उनले यी क्षेत्रमा एमसीसी कम्प्याक्ट व्यवस्थापन गर्ने गर्थिन् । 

सुमरले अक्स्फार्म अमेरिकाकी उपाध्यक्ष पनि भइसकेकी छिन् । उनले अमेरिकी सरकारको कार्यपालिका र व्यवस्थापिका गरी दुवै क्षेत्रमा काम गरिसकेकी छिन् । 

अमेरिकी विभागमा दक्षिण तथा मध्य एसिया हेर्ने उप–सहायक निर्देशकको जिम्मेवारी पनि सम्हालिसकेकी सुमरले विभिन्न देशमा आर्थिक र ऊर्जा क्षेत्रमा अमेरिकी संलग्नता बढाएकी थिइन् । अमेरिकी कंग्रेसमा उनी अफगानिस्तान, पाकिस्तान र सीमावर्ती क्षेत्र हेर्ने वरिष्ठ कर्मचारी थिइन् । 

सुमर अमेरिकाको प्रिन्स्टन, कोर्नेल र इन्डियाना विश्वविद्यालयकी सल्लाहकार बोर्डमा पनि छिन् । उनले प्रिन्स्टन विश्वविद्यालयबाटै सार्वजनिक मामिलामा ग्य्राजुुएट गरेकी छिन् । 

जोनाथन ब्रुक्स

ब्रुक्स एमसीसीका कम्प्याक्ट अप्रेशनका सहायक उपाध्यक्ष हुन् । उनले एमसीसी कार्यक्रमको प्राविधिक र क्षेत्रीय विभाग तथा एजेन्सीहरूको नियमन गर्छन् । 

एमसीसीका मान्यता र साझेदारीमा केन्द्रित रही ब्रुक्सले नतिजा र नीतिगत सुधारमा काम गरिरहेको एमसीसी वेभसाइटमा उल्लेख छ । विदेशी सरकारहरूसँग उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी पनि एमसीसीले ब्रुक्सलाई नै दिएको छ ।

उनले एमसीसी सहायताका परियोजनाको गुणस्तर, खरिद मापदण्ड, वित्तीय व्यवस्थापन, वातावरण, सामाजिक प्रभाव र अनुुगमन तथा मूल्यांकनसमेत गर्छन् । यसअघि नै उनले एल–साल्भाडोर, इन्डोनेशिया, कोशोभो, मंगोलिया, नेपाल र टिमोर लेस्टेमा एमसीसी परियोजना अघि बढाउन काम गरिसकेका छन् । 

ब्रुक्स होन्डुरसमा एमसीसीका देशीय निर्देशक पनि भएका थिए । राजनीतिक अस्थिरताबीच त्यहाँ एमसीसीले जेनतेन केही परियोजनाहरू बनाएको छ । 

जर्जिटाउन विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका ब्रुक्सले दक्षिण अमेरिकी मुलुकहरूमा पनि काम गरिसकेका छन् ।

फातिमा सुमर र जोनाथन ब्रुुक्स नेपाल आएपछि विवादित एमसीसी सम्झौता संसद्बाटै अनुमोदन गराउने पृष्ठभूमि सरकारले नै बनाउँदैछ । उनी नेपाल आउने समाचार सार्वजनिक भएसँगै गृह मन्त्रालयले मित्रराष्ट्र विरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने चेतावनी दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप