प्रदेश २ र सुदूरपश्चिममा एमालेलाई झट्का, एकीकृत समाजवादी बन्यो ठुलो दल

सामान्यतया कुनै पनि दल विभाजन हुँदा मूल दलको तुलनामा विभाजनपछि गठन भएको नयाँ दलको आकार सानो र संगठनात्मक अवस्था कमजोर नै देखिन्छ । यद्यपि, नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीको सन्दर्भमा प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा त्यो मान्यता गलत साबित भएको छ ।
एमाले विभाजनपछि प्रदेश २ मा एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी पार्टी ठुलो देखिएको छ । प्रदेशसभामा एमालेका २१ सांसदमध्ये १२ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजिसकेका छन् भने थप एक सांसदले नयाँ दलको पक्षमा सनाखत गराउने प्रक्रिया जारी रहेको बताइएको छ ।
प्रदेश २ प्रदेशसभामा एमाले दोस्रो ठुलो दल थियो । प्रदेशसभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल ५५ सांसदसहित पहिलो दल रहँदा एमाले २१ सांसदसहित दोस्रो ठुलो दल थियो । तर पार्टी विभाजनपछि एमाले प्रदेशसभामा पाँचौं दलका रुपमा सीमित भएको छ ।
प्रदेशसभामा अहिले जसपाका पक्षमा ३९ सांसद छन् । यस आधारमा प्रदेशसभामा अहिले पनि जसपा पहिलो दलकै रुपमा कायम छ । यस्तै नेपाली काँग्रेस १९ सांसदसहित प्रदेशसभामा दोस्रो ठुलो दल रहँदा जसपाबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी दल १६ सांसदसहित तेस्रो ठुलो दल बनेको छ । एमालेबाट विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी १२ सांसदसहित चौथो ठुलो दल बनेको छ ।
यद्यपि दिल्लीमा उपचारका लागि रहेका प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीले समेत नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्न आवश्यक प्रक्रिया सुरु भइसकेका कारण यो पार्टीमा १३ सांसद पुग्ने बताइएको छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ८ सांसद छन् भने एमाले पनि ८ सांसदमा सीमित हुने देखिन्छ । प्रदेशसभामा आकारको हिसाबले माओवादी केन्द्र र एमाले पाँचौं स्थानमा पुगेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखतको प्रक्रियामा रहेका सांसद डिल्लीप्रसाद उप्रेतीको सनाखत प्रक्रिया पूरा नभएको अवस्थामा भने एमाले ९ सांसदका साथ पाँचौं शक्तिमै रहने देखिन्छ भने त्यो अवस्थामा माओवादी केन्द्र छैटौं शक्ति बन्ने छ ।
उता, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठुलो दलका रुपमा रहेको नेकपा एमाले पनि विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद थिए । पार्टी विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । अब एमालेसँग १२ सांसदमात्र बाँकी छन् । यो प्रदेशमा पनि मूल पार्टीको तुलनामा विभाजन भएर बनेको नयाँ दल ठुलो देखिएको हो ।
एमाले विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र १४ सांसदसहित सबैभन्दा ठुलो दलका रुपमा रहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी १३ सांसदसहित दोस्रो प्रमुख दल बनेको छ । नेपाली काँग्रेस र नेकपा एमालेका सांसद संख्या भने १२÷१२ छ । प्रदेशसभामा जसपाका दुई सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो