बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले विभाजनको असर गण्डकी प्रदेशसभामा शून्य

सोमबार, २१ भदौ २०७८, १४ : ४२
सोमबार, २१ भदौ २०७८

नेकपा एमाले विभाजन भएसँगै ६ वटा प्रदेशसभामा धेरथोर एमालेका सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । तर गण्डकी प्रदेशसभामा भने एमाले विभाजनको असर अहिलेसम्म देखिएको छैन ।

एमाले विभाजनपछि प्रदेश २ का १३ एमाले सांसद र सुदूरपश्चिम प्रदेशका १३ र बागमती प्रदेशका १३ एमाले सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । यस्तै, प्रदेश १ का १० सांसद, कर्णालीका ३ र लुम्बिनी प्रदेशका एक एमाले प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् ।

गण्डकी प्रदेशको प्रदेशसभामा भने एमाले विभाजनको असर देखिएको छैन । गण्डकी प्रदेशमा एमालेका २७ मध्ये सबै सांसद एमालेमै रहने देखिएका छन् ।

एमालेमा अन्तरद्वन्द्व चलिरहँदा माधवकुमार नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटा पार्टी विभाजन भइसकेपछि एमालेमै रहे । उनी नवगठित दल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुन्छन् कि भन्ने आशंका बढिरहेको अवस्थामा उनले आफू एमालेमै रहने प्रस्ट पारेका छन् । गण्डकी प्रदेशसभामा रहेका एमालेका अन्य सांसदहरु यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् । त्यसैले गण्डकी प्रदेशसभाबाट एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने सांसदको अवस्था शून्य नै रहने देखिन्छ ।

ओलीको गुटबन्दीको परिणाम : पन्त

नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य दिलु पन्त गण्डकी प्रदेशसभाका एमाले सांसदहरु नयाँ दलमा सामेल नहुनुलाई केपी शर्मा ओलीले गरेको गुटबन्दीको परिणामका रुपमा व्याख्या गर्छिन् ।

‘केपी ओलीले गुटबन्दीको पहिलो जरो गाडेको भनेकै गण्डकी र लुम्बिनी प्रदेशमा हो,’ उनले भनिन्, ‘प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट टिकट दिने बेलामा आफ्नो गुटका मानिसलाई छानीछानी दिइएको थियो, उम्मेदवार बनाउनुअघि सम्बन्धित व्यक्तिको डिएनए परीक्षण गरेजसरी यसलाई उम्मेदवार बनाउनु हुन्छ कि हुन्न भनेर पटकपटक केलाइएको थियो ।’

फरक विचार बोक्ने व्यक्तिलाई छानीछानी उम्मेदवार बन्नबाट वञ्चित गरिएका कारण गण्डकी प्रदेशसभामा एमालेबाट विजयी भएकाहरु ओली पक्षकै मात्र रहेको उनले बताइन् । यस्तो अवस्थामा स्वाभाविक रुपमा ओली पक्षलाई छाडेर नयाँ दलमा सामेल हुने सांसद देखा नपरेको उनको भनाइ छ ।

‘आफ्ना मान्छे छानेर टिकट दिइएको थियो, जित्नेहरू सबै ओली पक्षकै थिए,’ उनले भनिन्, ‘यस्तो अवस्थामा प्रदेशसभामा हाम्रो उपस्थिति नरहनु स्वाभाविक हो ।’ यसको अर्थ प्रदेशमै नेकपा एकीकृत समाजवादी पार्टीको जनाधार छैन भनेर बुझ्न नहुने उनले प्रस्ट पारिन् ।

प्रदेश १, प्रदेश २, बागमती, सुदूरपश्चिम प्रदेशमा तत्कालीन समयमा ओली पक्षलाई स्वेच्छाचारी निर्णय गर्नबाट रोक्न सक्ने प्रभावशाली नेताहरु रहेका कारण ती प्रदेशमा दुवै पक्षकालाई मिलाएर टिकट दिइएको उनको जिकिर थियो । ‘प्रदेश १ मा भीम आचार्य, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिममा भीम रावल कमरेडहरुले गर्दा पनि ती प्रदेशमा टिकट दिने बेलामा ओली पक्षले एकपक्षीय निर्णय गर्न सकेको थिएन,’ उनले भनिन्, ‘त्यसैले ती प्रदेशमा अहिले पनि हाम्रो उपस्थिति राम्रो छ ।’ टिकट वितरणमै ओली पक्षीय मानिस चयन गरेका कारण गण्डकी र लुम्बिनी प्रदेशमा आफूहरु तुलनात्मक रुपमा प्रदेशसभामा कमजोर हुनु परेको उनले बताइन् ।

पार्टी विभाजन अघिसम्म माधवकुमार नेपालसँग निकट थिएँ : इन्द्रलाल सापकोटा  

गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटालाई कुनै बेला माधवकुमार नेपाल निकट भनेर चिनिन्थ्यो । तर पार्टी विभाजन भएपछि उनले माधवकुमार नेपालको साथ छाडे ।

हाल नेकपा एमालेमै रहेका उनी आफू केपी शर्मा ओलीको निकट पनि नरहेको प्रस्ट पार्छन् । ‘अहिले म त ओलीको मान्छे हुँ, न माधवकुमार नेपालको,’ उनले भने, ‘तेस्रो धार भनिएकाहरुको मान्छे पनि होइन म, तेस्रो धारमा पनि म छैन ।’

उनले आफू एक कम्युनिस्ट कार्यकर्ता रहेको र आफूले वर्षौंदेखि योगदान गर्दै आएको पार्टीका पक्षमा उभिएर अडिग रहेको प्रस्ट पारे । ‘म व्यक्तिको पछाडि लाग्दिनँ, म आफ्नो पार्टीको पक्षमा उभिएको छु, यो पार्टी मजस्ता लाखौं कार्यकर्ताको मेहनतले यहाँसम्म आइपुगेको हो,’ रातोपाटीसँग उनले भने, ‘यो पार्टीमा केपी ओली, माधवकुमार नेपालहरुको मात्र होइन, मजस्ता लाखौं कार्यकर्ताको पनि मेहनत छ ।’

पार्टी विभाजन हुनु अघिसम्म आफू माधवकुमार नेपालको निकट रहेको प्रस्ट पार्दै उनले त्यतिबेला केही मुद्दाले आफूलाई माधवकुमार नेपाल निकट तुल्याएको बताए । ‘यसको अर्थ पार्टी विभाजन गर्दा पनि मैले माधवकुमार नेपाललाई नै साथ दिइरहनु पर्थ्यो भन्ने होइन,’ उनले भने, ‘हिजो प्रतिनिधिसभा विघटनको विरोध गरेँ, प्रदेशसभा विघटन गर्नु हुँदैन भन्ने पक्षमा जसरी उभिएँ, आज त्यसैगरी म पार्टी विभाजन ठिक होइन भन्ने पक्षमा उभिएको छु ।’

गण्डकी प्रदेशसभामा एमाले विभाजनको प्रभाव शून्य देखिएको सन्दर्भलाई व्याख्या गर्दै उनले विभाजनको पक्षमा लागेर राजनीति अघि बढ्न नसक्ने सन्देशका रुपमा यसलाई लिनुपर्ने बताए । ‘पार्टी विभाजनपछि केही महिना त केहीलाई उत्साह होला,’ उनले भने, ‘तर त्यसले नतिजा राम्रो दिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप