शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

बिहीबार, ०३ कात्तिक २०७९, २१ : ०१
बिहीबार, ०३ कात्तिक २०७९

आज मिति २०७९ साल कात्तिक महिनाको ३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. डेंगुको नयाँ ‘सेरोटाइप’ पुष्टि

नेपालमा यो वर्ष डेंगुको नयाँ ‘सेरोटाइप’ पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेंगुको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रतिष्ठानमा १२ नमुनामा परीक्षण गर्दा ७ वटा सेरोटाइप ‘वान’ देखिएको छ भने ५ वटा नमुनामा सेरोटाइप ‘थ्री’ पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालले रातोपाटीलाई बताए ।

२. वीर अस्पतालमा डाक्टरको लापरबाही

वीर अस्पतालका चिकित्सकमाथि गम्भीर आरोप लागेको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा  प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको हो ।

अस्पतालका प्रत्यारोपण सर्जन डा पारसमणि नेपाल र डा अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला त्यतिकै छाडेर हिँडेको अस्पतालको भनाइ छ । उनीहरुले प्रत्यारोपण कार्य तालिका अनुसार एक ५८ वर्षीया महिलाको मिर्गौला निकालेका थिए ।

३. कतारमा कामदारबारे एमनेस्टीको रिपोर्ट

कतारले विश्वकप प्रतियोगिता अघि आप्रवासी श्रमिकका विषयमा गरेको प्रतिबद्धता पूरा नगरेको पाइएको छ । एमनेस्टी  इन्टरनेसनलले गरेको अध्ययन अनुसार देशभर आप्रवासी श्रमिकको हकमा ल्याउनुपर्ने सुधारबारे गरेको प्रतिबद्धता अझै पूरा नगरेको पाइएको हो ।

विश्वकप फुटबल सुरू हुन एक महिना मात्र बाँकी रहेका बेला मानवअधिकारवादी संस्थाहरूले फिफा र कतारलाई दुर्व्यवहारमा परेका आप्रवासी श्रमिकको लागि क्षतिपूर्ति कोष स्थापना गर्न पुनः आह्वान गरेका छन् ।

४. माधव नेपाललाई कारबाही गर्न आयोगको पत्र

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको छ ।  बिहीबार आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई नेपाललाई आवश्यक कारवाही प्रकृया अगाडि बढाउन आग्रह गरेको हो ।

​निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन गरेको छ ।  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको हो ।

​५. पुष्पमेला सुरु

तिहार र छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एशोसिएशन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट जावलाखेलको खेल मैदानमा सुरु भएको छ ।

एशोसिएसनले फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको जनाएको छ । प्रदर्शनीमा ४९ वटा व्यावसायिक स्टल, २ वटा प्रतियोगितात्मक स्टल र चारवटा सूचनामूलक स्टल गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहेका छन् ।

​६ अपूर्व क्षितिज रिहा

कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनी धरौटीमा रिहा भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले रातोपाटीलाई जानकारी दिए ।

​७. आर्थिक समाचार

नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनका सिक्का, असर्फी तथा टक्सारहरुको बिक्री वितरण शुरु गरेको छ । बबरमहलस्थित टक्सार विभागबाट बिहीबारदेखि शुरु भएको असर्फीको बिक्री वितरण आगामी आइतबारसम्म जारी रहने बैंकले जनाएको छ ।

​ब्रोकर लाइसेन्स लिनका लागि बैंक तथा वित्तीय संस्थाहरुको लर्को लागेको छ । ब्रोकर लाइसेन्सका लागि कुल ४६ वटा कम्पनीले आवेदन दिएकामा बैंक तथा वित्तीय संस्थामात्रै १४ वटा रहेका छन् । ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम मिति असोज ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत धितोपत्र बोर्डमा ब्रोकर लाइसेन्स पाउँ भन्दै १४ वटा बैंक तथा वित्तीय संस्थासहित ४६ कम्पनीले आवेदन दिएका हुन् ।

​कर्जाको ब्याजदर निरन्तर बढ्दै गएपछि उद्योगी-व्यवसायी रुष्ट बनेका छन् । अर्थतन्त्रलाई संकटमा जानबाट रोक्ने नाममा वाणिज्य बैंकहरूले निरन्तर कर्जाको ब्याज बढिरहेको छ । फलस्वरूप: पछिल्लो २ वर्षको अवधिमा सतप्रतिशतसम्म कर्जाको ब्याजदर बढेको छ । यससँगै, सस्तोमा ऋण लिएर उद्योग व्यवसायमा लगानी गरेका व्यवसायी रुष्ट बनेका हुन् ।

​८. राष्ट्रिय खेलकुदको समापन

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गरिएको छ । समापन समारोहमा दसौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको छ । दसौँ संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मङ्सिरमा आयोजना हुनेछ ।

नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको जनाएको छ । विशेष महाधिवेशनका निर्णय आज बुटवलमा सार्वजनिक गर्दै पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा मसाल राखिएको पत्रकार सम्मेलनमा बताइएको हो ।

१०. यो पनि...

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार रुपन्देहीको बुटवल आउने भएका छन् ।

​सडकमा बसेर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरुले आज काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।  उनीहरुले सडकमा बसेर गुजारा चलाउनुपर्ने माग गरेका छन् । 

​अभिनेत्री वर्षा शिवाकोटीले फेसबुक डिएक्टिभेट गरेकी छिन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।

उनले पछिल्लो पटक ‘मिनी हार्ट अट्याक’ भनेर फेसबुक पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई धेरैले कमेन्टमा स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।

​आजका थप हेडलाइन्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप