शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा माओवादीबाट अघिल्लो निर्वाचन जितेका ७ जना फेरि उम्मेदवार, चुनौती कति ?

बिहीबार, ०३ कात्तिक २०७९, १६ : ५४
बिहीबार, ०३ कात्तिक २०७९

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन हुँदा लुम्बिनी प्रदेशमा माओवादीले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १४ सिट जितेको थियो । तीमध्ये अहिले प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ४ जना दोहोरिएर उम्मेदवार बनेका छन् ।

माओवादीबाट अघिल्लो निर्वाचनमा विजयी भएका तथा आसन्न निर्वाचनमा उम्मेदवार हुनेमा प्रतिनिधिसभातर्फ रोल्पाबाट वर्षमान पुन, कपिलवस्तु–१ बाट चक्रपाणि खनाल (बलदेव), बाँके– १ बाट महेश्वर गहतराज छन् ।

रोल्पामा वर्षमान पुनलाई एमालेका पूर्णबहादुर बुढाले चुनौती दिँदैछन् । बुढा पूर्व माओवादी हुन् । कपिलवस्तु–१ मा चक्रपाणि खनाल (बलदेव) लाई एमालेका बलराम अधिकारीले चुनौती दिएका छन् । बाँके– १ मा बहालवाला युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई एमालेका युवा नेता सूर्य ढकालले चुनौती दिएका छन् । ढकाल पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदैछन् ।

२०७४ सालको निर्वाचनमा यो प्रदेशमा माओवादीबाट चुनाव जितेका प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका अन्य सांसद भने निर्वाचनको मैदान बाहिर छन् । यसरी निर्वाचनको मैदान बाहिर रहनेमा प्रतिनिधिसभातर्फ दाङ–२ बाट जितेका कृष्णबहादुर महरा, बर्दिया–१ बाट जितेका सन्तकुमार थारु, रुकुम–१ बाट जितेकी कमला रोका छन् ।

सत्ता गठबन्धनसँग सिट बाँडफाँट गर्दा संघमा माओवादीले २०७४ सालमा जितेका क्षेत्रहरू नछाड्ने सहमति अनुसार लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ ६ सिट पाएको छ । यसमा आधा सिटमा दोहोरिएर उम्मेदवार छन् भने आधा नयाँ अनुहार रहेको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए ।

रुकुम पूर्वमा यसअघि कमला रोका निर्वाचित भएकोमा उनको स्थानमा यस पटक माओवादी केन्द्रले पूर्ण बहादुर घर्ती मगरलाई उम्मेदवार बनाएको छ । उनी यसअघि लुम्बिनी प्रदेशसभामा सभामुख थिए । उनले रुकुम पूर्वमा एमालेका कैलाशकुमार मल्लसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, दाङ–२ मा कृष्णबहादुर महराले २०७४ को निर्वाचन जितेकोमा यस पटक रेखा शर्मालाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । उनका मुख्य प्रतिस्पर्धी एमालेका महासचिव शंकर पोखरेल छन् ।

बर्दिया–२ मा सन्तकुमार थारुले २०७४ को निर्वाचन जितेकोमा माओवादी केन्द्रले यस पटक सुरेशराज पन्तलाई उम्मेदवार बनाएको छ । यहाँ उनले एमालेका पंकज सिंह राठौरसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

प्रदेशसभातर्फ १२ मध्ये ४ मात्र दोहोरिए

२०७४ सालमा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ १४ सिट जितेको थियो । तीमध्ये नेकपा खारेजपछि गुल्मी–२ (ख) का दिनेश पन्थी र रुपन्देही–१ (ख) का दधिराम न्यौपाने माओवादी केन्द्र छाडेर एमालेमा सामेल भए । जसले गर्दा माओवादीको सिट घटेर १२ मा सीमित भयो । ती १२ मध्ये अहिले ४ जना मात्रै दोहोरिएर उम्मेदवार बनेका छन् ।

प्रदेशसभातर्फ दोहोरिएर उम्मेदवार बन्नेमा पाल्पा–२ (ख) मा तुलाराम (वसन्त) घर्ती मगर, गुल्मी–१ (क) मा सुदर्शन बराल, दाङ–१ (क) मा इन्द्रजित थारु, बाँके–३ (क) मा इन्द्रप्रसाद खरेल छन् ।

तुलाराम घर्तीलाई एमालेका ओम बहादुर घर्तीले चुनौती दिएका छन् । तुलाराम यसअघि प्रदेशसभामा संसदीय दलको प्रमुख सचेतक थिए । भने एमालेका ओम बहादुर भने तिनाउ गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । गुल्मी–१ (क) मा बरालसँग एमालेका चिन्तामणी पाण्डे प्रतिस्पर्धामा छन् । यस्तै दाङ–१ (क) मा थारुसँग एमालेका गंगाराम भट्टराई प्रतिस्पर्धामा छन् भने बाँके–३ (क) मा खरेलसँग एमालेका रत्न खत्रीले प्रतिस्पर्धा गर्दैछन् ।

माओवादी छाडेर एमालेले रोजेका तीनै जना मैदानमा

पार्टी एकता टुटेपछि एमाले रोजेका तीन जनाले भने यस पटक एमालेबाट उम्मेदवार बन्ने अवसर पाएका छन् । तीमध्ये प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई उम्मेदवार छन् ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ अर्घाखाँचीबाट निर्वाचित टोप बहादुर रायमाझी हाल एमालेमा छन् । उनले सोही क्षेत्रमा एमालेबाट उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्र छाडेर एमाले रोजेका दधिराम न्यौपाने र दिनेश पन्थीले पनि अहिले एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बन्ने अवसर पाएका छन् ।

अर्घाखाँचीमा टोप बहादुरले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यस्तै, रुपन्देही–१ (ख) मा  न्यौपानेले नेपाली कांग्रेसका अब्दुल रज्जाकसँग र गुल्मी–२ (ख) मा पन्थीले माओवादी केन्द्रका बुद्धि जिसीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

एक्ली महिला उम्मेदवार शर्मा

माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशमा एक्ली महिला उम्मेदवारका रुपमा रेखा शर्मा छिन् । प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रले ७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा एक जनामात्रै महिला उम्मेदवार बनाएको हो ।

शर्मा दाङ–२ बाट उम्मेदवार छिन् । माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य शर्मा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन् । उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि समानुपातिकतर्फबाटै निर्वाचित थिइन् । उनका श्रीमान् कृष्णध्वज खड्का २०७४ को निर्वाचनमा प्युठान–१ (ख)बाट प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित भइ हाल लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री छन् । खड्का भने अहिले उम्मेदवार छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप