बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय कांग्रेसको नेतृत्वमा खड्गे : अध्यक्षको ‘रिमोट कन्ट्रोल’ कसको हातमा ?

बिहीबार, ०३ कात्तिक २०७९, १७ : २७
बिहीबार, ०३ कात्तिक २०७९

भारतीय राष्ट्रिय कांग्रेस पार्टीको १३७ वर्षको इतिहासमा छैटौं पटक पार्टी अध्यक्ष पदका लागि सोमबार निर्वाचन भयो ।  भारत स्वतन्त्र भएयता पार्टीको कमाण्ड वा अध्यक्ष प्रायः गान्धी परिवारको हातमा रहेको छ या सर्वसम्मतिबाट अध्यक्षको चयन भएको इतिहास छ ।

यस पटकको अध्यक्ष चयनको चुनावमा गान्धी परिवारले भाग नलिने निर्णय गरेपछि दुई नेता दाबेदारका रुपमा अघि आए – मल्लिकार्जुन खड्गे र शशि थरुर । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अध्यक्ष मधुसूदन मिस्त्रीका अनुसार भोट गर्न योग्य पार्टीका ९ हजार ९ सय प्रतिनिधिमध्ये ९ हजार ५ सयले भोट हाले । बुधबार अध्यक्ष पदको नतिजामा विजयी भएका खड्गेले लामो समयदेखि कांग्रेस अध्यक्ष रहेकी सोनिया गान्धीको स्थान लिनेछन् । 
राजनीतिक विश्लेषकहरुले भारतीय राष्ट्रिय कांग्रेस पार्टीको भावी अध्यक्षले कयौं चुनौती सामना गर्ने बताएका छन्, त्यसमा पनि पार्टीमा वास्तविक नेतृत्व अभ्यास गर्नु मुख्य चुनौती हुने बताइँदैछ । 

नयाँ अध्यक्ष त चुनिए, वास्तविक शक्ति कसको हातमा ? 
विश्लेषक र पार्टीभित्रका केही नेताले नयाँ अध्यक्षको सबैभन्दा ठूलो चुनौती पार्टीमाथि आफ्नो वास्तविक नियन्त्रण कायम राख्ने, आफ्नो निर्णय गरेर त्यसलाई आमसहमतिका साथ लागु गर्नु हुनेछ । 
खड्गेको चयनपछि पनि केही विश्लेषकहरू आगामी दिनमा पनि वास्तविक शक्ति गान्धी परिवारको हातमा हुने र सो परिवारकी सोनिया गान्धी उनका छोरा राहुल गान्धीको हातमा अध्यक्षको ‘रिमोट कन्ट्रोल’ दावी गरिरहेका छन् । 
मल्लिकार्जुन खड्गे गान्धी परिवारको निकट मानिने भएकाले अहिले  रिमोट कन्ट्रोलको चर्चा भइरहेको हो ।

पार्टीबाट विद्रोह गरेका सञ्जय झाले केही दिन अघि इन्डियन एक्सप्रेस पत्रिकाका लागि लेखेको लेखको शीर्षक थियो, ‘मल्लिकार्जुन खड्गेको आधिकारिक उम्मेदवारी – कांग्रेस कसरी आफैं गिराउँदैछ ।’ उनले अध्यक्ष पदको चुनाव मजाक भएको र खड्गे गान्धी परिवारको ‘चौकीदार’ मात्र भएको आरोप लगाएका थिए । 

त्यसो भए के नयाँ नेतृत्व चयनपछि पनि पार्टीको नेतृत्व गान्धी परिवारसँग नै रहनेछ ? पार्टीका राष्ट्रिय प्रवक्ता तथा उत्तर प्रदेश कांग्रेसका वरिष्ठ नेता अखिलेश प्रताप सिंह भने यसमा विश्वास गर्न तयार छैनन् । सोनिया गान्धी आफू बन्न सक्ने भारतको प्रधानमन्त्रीको पदसमेत मनमोहन सिंहलाई दुई पटक दिएर पदलोलुप नभएको उदाहरण दिएको बताए । 

पछिल्लो समय परिवारबाहिरका अध्यक्ष निर्वाचित गरेर पुनः गान्धी परिवारले आफूहरुमा पदको लोभ नभएको प्रमाण दिएको पनि सिंहले बताए । ‘हाम्रो पार्टीमा सामूहिक निर्णय गरिन्छ । उनीहरूले आफ्नो निर्णय थोपर्दैनन्, मलाई राहुलजी र सोनियाजीको स्वभाव थाहा छ ,’ अखिलेश प्रताप सिंहले भने । 

८० वर्षीय खड्गेको सबलताबारे बताउनेहरु उनी कांग्रेसको बलियो पकड भएको कर्नाटकबाट आएको, धेरै शिर्ष नेतासँग राम्रो सम्बन्ध भएकोजस्ता तर्क पेश गर्ने गरिन्छ । तथापि सर्वसाधारण माझ उनको पकड कमजोर रहेको बताइन्छ । 

सोमबार भोट हालेर फर्किएका एक दलित कांग्रेस नेताले दलित भएकाले खड्गे अध्यक्ष बनेसँगै पार्टी छाडेका दलित तथा पिछडिएका समाजका जनता फर्किने बताए । ती नेताले खड्गे पार्टी र गान्धी परिवारबीचको सेतुजस्तै भएको बताउँदै उनलाई गान्धी परिवारको कठपुतली भन्नु उचित नहुने बताए । 

कांग्रेसका वरिष्ठ नेता पी चिदम्बरमले सोमबार एनडीटीभी च्यानलसँगको कुराकानीमा खड्गे रिमोट कन्ट्रोल हुने भन्ने हल्ला गलत भएको बताए । तथापि उनले पनि नयाँ अध्यक्षले गान्धी परिवारसँग परामर्श गर्नुपर्ने बताए । 
दशकौंसम्म कांग्रेस पार्टीको समाचार पछ्याएका वरिष्ठ पत्रकार पंकज बोहरालाई नयाँ कांग्रेस अध्यक्षका लागि सबैभन्दा ठूलो चुनौती ‘शक्ति सन्तुलन’ मिलाउनु हुने बताए । जसका लागि नयाँ अध्यक्षले गान्धी परिवारको पार्टीभित्र पकडलाई सुनिश्चित गर्नुपर्दछ ।
पंकज बोहरा अहिले अध्यक्ष चयनमा अघिल्लो युनाइटेड प्रोग्रेसिभ एलाईन्स(युपीए) सरकारको मोडेल अपनाइरहेको महसुस गर्छन् । त्यसमा प्रधानमन्त्री मनमोहन सिंह थिए तर वास्तविक शक्ति सोनिया गान्धीको हातमा थियो भनिन्छ ।

सोनिया थिइन् कांग्रेसको सबैभन्दा लामो समयकी अध्यक्ष

कांग्रेस पार्टीको इतिहासमा एक समय गान्धी परिवारको पकड एकदमै कमजोर भएको थियो, जुन समय सोनिया गान्धीलाई अलग गरिएको थियो । सन् १९९२ देखि १९९८ सम्म पार्टीको लगाम पीवी नरसिंह राव र सीताराम केसरीको हातमा थियो ।

जब सोनिया गान्धीले पार्टीको कमाण्ड सम्हालिन् तब पार्टी दुईवटा आम चुनावमा विजयी भएर सरकार बनाउने स्थानमा पुग्यो । सन् १९९८ देखि २०१७ बीच कांग्रेसकी अध्यक्ष रहेकी सोनिया उनको छोरा राहुलले सन् २०१९ मा राजीनामा दिएपछि पार्टीको अन्तरिम अध्यक्ष रहदै आएकी थिइन् । 

सोनियाले कांग्रेस इतिहासमा सबैभन्दा लामो समय पार्टी अध्यक्ष रहने कीर्तिमान बनाएकी छन् । अब नयाँ अध्यक्षले पार्टीभित्र पकड बलियो बनाए पार्टीमा गान्धी परिवारको महत्व समाप्त होला ? 
यसबारे अखिलेश प्रताप सिंह भन्छन् ,‘ गान्धी परिवार कसरी अप्रासंगिक बन्छ ? नेता भनेको नेता हो । ’ उनका अनुसार कांग्रेस कार्यसमितिको सदस्यको रुपमा होस् वा पार्टीको संसदीय बोर्डको हिस्साका रुपमा पार्टीका सबै ठूला निर्णयहरूमा अन्य नेताहरूसँगै गान्धी परिवार पनि संलग्न हुनेछ । 

पंकज बोहरा पनि गान्धी परिवार अप्रासंगिक नहुने विश्वास गर्छन् । 

आगामी आम चुनावको तयारी 
सन् २०२४ मा हुने आम निर्वाचनका लागि पार्टीलाई तयार पार्नु नयाँ अध्यक्षको अर्को ठूलो चुनौती हुनेछ । माथि उल्लेखित इन्डियन एक्सप्रेसको लेखमा सञ्जय झा कांग्रेसलाई २०२४ को आम चुनाव र त्यसअघि धेरै राज्य जित्न मद्दत गर्ने अध्यक्षको आवश्यकता रहेको बताउँछन् । 

पंकज बोहराका अनुसार नयाँ पार्टी अध्यक्षको पहिलो परीक्षा हिमाचल प्रदेश र गुजरातमा हुन लागेको विधानसभा चुनावमा हुनेछ, जसका लागि उनीसँग निकै कम समय छ । अखिलेश प्रताप सिंह पार्टीले चुनाव जित्नुअघि राहुल गान्धीको ‘भारत जोडो यात्रा’बाट जन्मेको ‘सद्भावना’लाई कसरी भोटमा परिणत गर्ने भन्ने विषयमा नयाँ अध्यक्षले काम गर्नुपर्ने बताउँछन् । 

‘राहुलको नेतृत्वमा चलिरहेको ‘भारत जोडो यात्रा’ सकिएको एक वर्षपछि लोकसभाको चुनाव हुनेछ । यात्राले सिर्जना गरेको राप र तापलाई कायम राख्नु ठूलो चुनौती हुनेछ,’ अखिलेश प्रताप सिंहले भने । 
पंकज बोहरा यो विश्लेषणसँग सहमत देखिन्छन् । ‘भारत जोडो यात्रा’ले केरला र कर्नाटकमा राम्रो प्रभाव पारेको देखाएको छ । तर पार्टी अध्यक्षले यसलाई कसरी सुदृढ गर्ने र आम चुनावसम्म सुरक्षित राख्ने काममा लाग्नुपर्ने हुन्छ । 
अहिले भारतीय राष्ट्रिय कांग्रेसको अवस्था निकै नाजुक रहेको विश्लेषकहरू बताउँछन् । पार्टीलाई अहिलेको संकटबाट बाहिर निकाल्ने र तल्लो तहमा ऊर्जा पैदा गर्नु नयाँ अध्यक्षका ठूलो चुनौती हुनेछ ।

‘पुराना नेताहरूको पार्टी कार्यकर्तासँग सम्बन्ध हुन्थ्यो । खड्गेको अवस्था त्यस्तो छैन । पार्टीलाई तल्लो तहमा पुनर्जीवित गर्नु नयाँ अध्यक्षका लागि चुनौती हुनेछ । चुनाव जित्न धेरै गाह्रो छ । काम त गर्नैपर्छ । ८० वर्षको नेताबाट के आशा गर्न सकिन्छ ?’ बोहोराले भने । 

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप