शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर–२ मा ‘बाहुबली’ भिडन्त

बिहीबार, ०३ कात्तिक २०७९, ०७ : १४
बिहीबार, ०३ कात्तिक २०७९

प्रतिनिधिसभा अन्तर्गत भक्तपुर–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापा र एमालेका महेश बस्नेतबीच चुनावी भिडन्त हुने देखिन्छ । कांग्रेस जिल्ला सभापति थापा र एमाले पोलिटब्युरो सदस्य बस्नेतबीचको प्रतिस्पर्धालाई निकै चाखका साथ हेरिएको छ ।

भक्तपुर–२ मा दुवैतर्फका उम्मेदवार जिल्लामा युवा तथा हक्की नेताका रुपमा परिचित छन् । त्यसैले दुवैलाई ‘बाहुबली’ उम्मेदवारका रुपमा स्थानीयवासीले लिने गरेका छन् ।

०७४ मा पहिलो पटक भक्तपुर–२ मा एमालेको झण्डा गाडेका बस्नेतलाई यसपटक सत्ता गठबन्धन चुनौतीको पहाड बन्ने देखिन्छ । ०७४ को चुनावी समीकरणमा उलटफेर भएको र एमालेसमेत विभाजित रहेको अवस्थाले बस्नेतलाई चुनौती थपिएको छ ।

सत्तारुढ गठबन्धनले यो क्षेत्रको प्रदेशसभा (क)तर्फ कांग्रेसका विष्णुराज कार्की र (ख)मा नेकपा एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै एमालेबाट प्रदेशसभा (क) मा किरण थापा र (ख) मा चन्दकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

भक्तपुर– २ को तेस्रो र चौथो शक्ति राप्रपा र नेमकिपा पनि एक्लाएक्लै चुनावी मैदानमा छन् । राप्रपाबाट मोहन केसी र नेमकिपाबाट अनुराधा थापा मगर चुनावी मैदानमा छन् । यहाँको चुनावी परिणाममा राप्रपा र नेमकिपा निर्णायक जस्तै देखिन्छन् ।

अन्य दल र स्वतन्त्रबाट ११÷११ जना उम्मेदवार यो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा छ न् । जसपाबाट दिलबहादुर तामाङ, राप्रपा नेपालबाट राजु नापित, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजु श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट साजन विक, नेपाल आमा पार्टीबाट इन्द्र नारायण न्हुछे श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट लोकेन्द्र पोखरेल र नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडे उम्मेदवार छन् ।

यस्तै मौलिक जरोकिलो पार्टीबाट लिलाबहादुर बानियाँ, नेपाल विवेकशील दलबाट शशीविक्रम कार्की, नेश्नलिष्ट पिपल्स पार्टीबाट शिव लाल रोकाया र आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट शन्त बहादुर लाकाजु पनि चुनावी मैदानमा छन् ।

यस्तै स्वतन्त्रबाट मिनाकुमारी वाला, कल्पदिप राई, सुमन कार्की, सुवर्ण थापा, मोक्टो तामाङ, रञ्जु केसी, प्रमिला थापा, दिनेश प्रजापति, चम्पा बोगती, उमेश श्रेष्ठ र आनन्द कार्की उम्मेदवार छन् ।

अहिलेसम्म भक्तपुर–२ मा कांग्रेसले ३, नेमकिपाले २ र एमालेले १ पटक चुनाव जितेका छन् । यहाँबाट कांग्रेस २०४८, ०५१, ०५६ र ०७० मा विजयी भएको थियो भने २०५१ र २०६४ मा नेमकिपाले बाजी मारेको थियो । एमालेले वाम गठबन्धन बनाएपछि मात्र भक्तपुरमा चुनाव जितेको देखिन्छ । बस्नेत ०७० मा भक्तपुर–२ बाटै कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भएका थिए ।

त्यतिबेला तेस्रो भएका बस्नेत ०७४ निर्वाचनमा वाम गठबन्धनबाट करिब दोब्बर मतले निर्वाचित भएका थिए । बस्नेतले ३६ हजार ४ सय १२ र कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६ सय ८७ मत पाएका थिए ।

स्थानीय निर्वाचनको अंगगणित

भक्तपुर–२ मा मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका पर्छन् । मध्यपुर थिमिमा गठबन्धनबाट कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख जितेको थियो । कांग्रेसले वडा– १, २, ३, ५, ६ र ९ जित्दा ४ र ७ मा मात्रै एमाले विजयी भएको थियो । वडा– ८ मा नेमकिपाले जितेको थियो । यहाँ कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १४ हजार १९२ मत पाएको देखिन्छ ।

यस्तै एमालेले ९ हजार ७७२, नेमकिपाले २ हजार ७७४, राप्रपाले २ हजार ५६३, नेकपा एकीकृत समाजवादीले ६६९, स्वतन्त्रले ६७, जसपा र लोसपाका वडा अध्यक्षका उम्मेदवारले ६–६ मत पाएका थिए ।

यस्तै सूर्यविनायकमा एमालेले प्रमुख, उपप्रमुखसहित वडा–१, ५, ७, ८ र १० मा जितेको छ भने कांग्रेसले वडा– २, ३, ४, ६ र ९ मा जित हात पारेको छ । यहाँ एमालेका वडाध्यक्षले १४ हजार ५१४ मत पाएका थिए भने कांग्रेसका वडाध्यक्षले पाएको मत ११ हजार ५७२ छ ।

यस्तै वडाध्यक्ष पदका उम्मेदवारमार्फत राप्रपाले ३ हजार ३५१, नेमकिपाले २ हजार १५१, माओवादीले एक हजार ४५, नेकपा एकीकृत समाजवादीले ५३३, स्वतन्त्रले ४१३ र राप्रपा नेपालले २८ मत पाएको छ ।

यहाँ सत्ता गठबन्धनसँग २८ हजार ११ मत देखिन्छ भने एमालेको २४ हजार २८७ मत छ । यस्तै, राप्रपाको ५ हजार ९१४, नेमकिपाको ४ हजार ९२५ र स्वतन्त्र ४८० मत छ ।

यस आधारमा सत्तारुढ गठबन्धनका उम्मेदवार थापा एमालेका उम्मेदवार बस्नेतभन्दा ३ हजार ७२४ मतले अघि छन् । स्थानीय निर्वाचनले यहाँ एमाले कमजोर देखिन्छ । तर बस्नेतले भने मतदाता आफ्नो पक्षमा रहेको दाबी गर्दछन् ।

‘भक्तपुर–२ मा हामीले तमाम काम गरेपछि मतदाता हाम्रो समर्थनमा उत्रिनु भएको छ । यहाँ विपक्षी पार्टीको खासै प्रभाव पनि छैन,’ उनी भन्छन् ।

०७४ मा दोब्बर मतले जितेको भन्दै यसपटक तेब्बर मतले जित्ने उनको दाबी छ । ‘स्थानीय निर्वाचनको परिणाम फरक कुरा हो । आम निर्वाचनका लागि विपक्षीले दिएका उम्मेदवार हाम्राभन्दा निकै कमजोर छन् । गठबन्धनभित्र निकै ठूलो अन्तरविरोध छ,’ उनी भन्छन् ।

 

यता कांग्रेसका थापाले गठबन्धनले चुनाव जित्नेमा द्विविधा नरहेको बताए । ‘गठबन्धनमा कुनै समस्या छैन । हाम्रो पार्टी पनि एकताबद्ध भएर अघि बढेको छ,’ उनी भन्छन्, ‘भक्तपुरका मतदाताले प्रत्येक निर्वाचनमा सांसद परिवर्तन गर्छन् । यस पटक गठबन्धन शानदार ढंगले चुनाव जित्दैछ ।’

उनले ५ हजारभन्दा बढी मतान्तरले चुनाव जित्ने दाबी गरे । ‘यहाँ कांग्रेसको बलियो संगठन छ । हामी ५ हजारभन्दा बढी मतान्तरले जित्छौं । यहाँ पार्टीको दुई पटक सभापति भएर संगठनको काम गरेको छु । गठबन्धन मेरो साथमा छ,’ उनले भने ।

के भन्छन् बस्नेत र थापा भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप