‘सदाबहार प्रतिपक्षी’ सुवाल फेरि ‘ब्याटल ग्राउण्ड’मा, नेमकिपाको गढमा यस्तो छ चुनावी भिडन्त
भक्तपुर क्षेत्र नम्बर १ यस्तो निर्वाचन क्षेत्र हो, जहाँ नेपाल मजदुर किसान पार्टी अपराजित रहँदै आएको छ । २०४८ सालदेखि २०७४ सालसम्म भएका संसदीय निर्वाचनमा कुनै पनि दलले भक्तपुर–१ मा नेमकिपालाई पराजित गर्न सकेको छैन ।
गत स्थानीय तहको निर्वाचनमा ठूला भनिएका एमाले, कांग्रेसजस्ता दलका उम्मेदवारले समेत नेमकिपाका उम्मेदवारसँगको प्रतिस्पर्धामा आफ्नो जमानत जोगाउन कठिन संघर्ष गर्नुपर्यो । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा यो क्षेत्रमा नेमकिपासँग एमाले र सत्ता गठबन्धन दुई फरक मोर्चाबाट ‘ब्याटल ग्राउण्ड’ मा उत्रिएका छन् । यी दलको चुनौतीलाई जनताको मतले परास्त गर्न सकिने नेमकिपाका सचिव एवं क्षेत्र नम्बर १ का उम्मेदवार प्रेम सुवाल बताउँछन् ।
अघिल्लो पटक यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सुवाल यो पटक पनि चुनावी मैदानमा छन् । भक्तपुर–१ को प्रदेशसभा (क) मा सुरेन्द्र गोसाई पनि उम्मेदवारको रुपमा दोहोरिएका छन् ।
अघिल्लो प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीको जम्मा एक सिट थियो । नेमकिपाबाट निर्वाचित एकमात्र सांसद प्रेम सुवालले संसदमा सदाबहार प्रतिपक्षी दलको भूमिका निर्वाह गरेका थिए । यो पटक पनि नेमकिपाले उनै सुवाललाई भक्तपुर–१ मा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा अघि सारेको छ ।
नेमकिपाले देश र जनताको हितका विषयमा आवाज उठाएका कारण नै जनताले फेरि निर्वाचित गराउने सुवाल बताउँछन् । सुवालले सामान्य ढंगले चुनावी कार्यक्रम अगाडि बढिरहेको रातोपाटीलाई बताए । उनले निर्वाचन आचारसंहिता पालना गर्दै चुनाव लक्षित गतिविधिलाई अघि बढाएको जिकिर गरे ।
उनले भने, ‘पार्टीका सबै साथीहरुलाई निर्वाचन आचारसंहिताभित्र रहेर काम गर्न भनेका छौँ । नेपाल मजदुर किसान पार्टीले देशको सार्वभौमसत्ता र देशको सीमानाको पक्षमा आवाज उठाउँदै आएको छ । देशलाई सिक्किम बनाउन खोज्ने नेपाली लेण्डुपहरुको विरोध गर्र्दै आएका छौँ । देशघाती एमसीसी सम्झौता, एसपीपी नामको संयुक्त साझेदारीको विरोध गर्दै आएका छौँ । विदेशीलाई नागरिकता दिने, नेपाली उद्योगी व्यवसायीलाई नाङ्ले पसलमा झार्ने प्रवृत्तिको हामीले विरोध गर्दै आएका छौँ ।’
स्वास्थ्य, शिक्षा निःशुल्क गराउनुपर्ने आवाज उठाउँदै आएकाले देशभरका जनताले नेमकिपालाई विश्वास गर्नेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ । राष्ट्रवादी अडान र जनताका लागि गरेको काम नै आफ्नो जितको आधार रहेको उनले बताए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनको तर्फबाट भक्तपुर–१ मा सुनिल गोठेलाई उम्मेदवारको रुपमा अघि सारिएको छ । स्थानीय तहको मतपरिणाम हेर्दा यो क्षेत्रमा सत्ता गठबन्धन दल कमजोर भए पनि प्रतिनिधिसभाको निर्वाचनमा त्यसको असर नपर्ने गोठे बताउँछन् ।
रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘स्थानीय तहको चुनाव र प्रतिनिधिसभाको निर्वाचनमा आउने परिणाम धेरै फरक हुन्छ । संघको निर्वाचनमा स्थानीय पार्टीको काम छैन भनेर आम जनताले बुझेकै कुरा हो । विगतका चुनावमा भक्तपुर–१ का जनताले परिवर्तन खोजेका थिए भन्ने कुरा त्यतिबेला आएको मतलाई पल्टाएर हेर्ने हो भने थाहा हुन्छ ।’
अहिलेका मतदाताले नयाँ युवा पुस्तालाई खोजिरहेको उनको भनाइ छ । उनले भने, ‘मेरो उम्मेदवारी र अरुको उम्मेदवारी हेर्दा पनि एउटा फरक पुस्ताको मैले प्रतिनिधित्व गर्छु । स्थानीय तहको भन्दा संघीय चुनाव फरक हुने भएकाले जनताले विश्वास गर्ने आशा लिएको छु ।’
उनले विगतमा पार्टी एक्लै लडेको भएर हार हुने गरेको र अहिले गठबन्धन दल भएकाले निकै सहज भएको र चुनावमा प्रभावकारी ढंगले अगाडि बढ्ने उल्लेख गरे ।
यस्तो थियो विगतका चुनावको मत परिणाम
प्रतिनिधिसभा निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुवालले ३३ हजार ७६ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मत पाएका थिए । यस्तै, वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका मिलन सुवालले १५ हजार ३ सय ७४ र विवेकशील साझाका दिपेश न्यौपानेले २ हजार ३ सय ३० मत पाएका थिए ।
यस्तै २०७४ को चुनावमा प्रदेशसभाको क्षेत्र नम्बर (ख) मा नेमकिपाका सुरेन्द्रराज गोसाई २३ हजार ८ सय ८५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी वाम गठबन्धनका रोमन सिलवालले ८ हजार ६३ मत पाएका थिए ।
उता प्रदेशसभा (क) मा पहिलो चुनावमा एमालेका हरिशरण लामिछाने विजयी भएका थिए । उनको निधनपछि भएको उपनिर्वाचनमा कांग्रेसका कृष्ण भँडेल विजयी भएका थिए ।
यस्तो थियो स्थानीय तह निर्वाचनको मत परिणाम
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत जोड्दा नेमकिपा अन्य सम्पूर्ण दलको मत एकत्रित गर्दा पनि केही अगाडि देखिन्छ । भक्तपुर क्षेत्र नम्बर १ अन्तर्गत रहेका भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका वडामा पाएको मतका आधारमा नेमकिपाले ३३ हजार ८९५ मत पाएको थियो ।
दोस्रो स्थानमा रहेको एमालेले १४ हजार ११९ मत, कांग्रेसले १३ हजार १३ मत, राप्रपाले ६ हजार २८६ मत र माओवादी केन्द्रले १३ सय ८८ मत पाएको थियो । एकीकृत समाजवादीले केही वडामा आफ्ना उम्मेदवार उठाए पनि नगन्य मत पाएको थियो ।
स्थानीय तहको मत परिणाम हेर्दा भक्तपुर–१ मा सत्ता गठबन्धन दलले १४ हजार ४०१ मत पाएका थिए । यहाँ सत्ता गठबन्धन दलभन्दा नेमकिपा १९ हजार ४९४ मतले अगाडि देखिन्छ ।
यी हुन् भक्तपुर–१ का उम्मेदवार
भक्तपुर क्षेत्र नम्बर १ मा राजनीतिक दलबाट ९ उम्मेदवार छन् भने स्वतन्त्रबाट ४ गरी १३ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नेमकिपाबाट सुवाल र सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट गोठेबाहेक नेकपा एमालेले नवराज गेलाललाई उम्मेदवार बनाएको छ । यस्तै जनता समाजवादी पार्टी, नेपालबाट हिरालाल खड्का, राप्रपाबाट भरत बहादुर खड्का र मौलिक जरोकिलो पार्टीबाट बलराम प्रजापति उम्मेदवार छन् ।
यस्तै, नेपालका लागि नेपाली पार्टीबाट अर्जुनप्रसाद नेपाल, राप्रपा नेपालबाट माधव खत्री, नेकपा मालेबाट दीपक लामिछाने, आपमपा नेपालबाट डम्बरबहादुर थिङ उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट अर्जुन कोजू, पुष्पराम गेलाल, सुलोचना छ्वाजु, र गोकर्णप्रसाद गेलाल उम्मेदवार छन् ।
देशभर नेमकिपाका ४५८ जना उम्मेदवार चुनावी मैदानमा
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले प्रत्यक्ष र समानुपातिक गरी ४५८ जना उम्मेदवार मैदानमा उतारेको छ । यो दलको तर्फबाट ७७ जिल्लामध्ये ५८ जिल्लामा उम्मेदवारी दिइएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेमकिपाले १०९ जना उम्मेदवार उठाएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ९० जना उम्मेदवार छन् ।
यसरी प्रतिनिधिसभामा मात्रै नेमकिपाले १९९ जना उम्मेदवार खडा गरेको सुवालले रातोपाटीलाई जानकारी दिए । प्रदेशसभातर्फ सबै प्रदेशमा गरेर समानुपातिकतर्फ नेमकिपाका १३७ जना उम्मेदवार छन् भने प्रत्यक्षतर्फ १२४ जना उम्मेदवार छन् । प्रदेशसभामा नेमकिपाले कुल २५९ जना उम्मेदवार उठाएको छ ।
निर्वाचनमा जितेको आधारमा मात्र राजनीतिक दलको मूल्याङ्कन गर्न नहुने सुवाल बताउँछन् । उनले भने, ‘निर्वाचन जित्दैमा दल ठूलो हुने र ठिक हुने भए त ३० वर्षमा नेपाली जनाले यति धेरै दुःख पाउनुपर्ने थिएन । नेपाली जनताहरु अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको कब्जामा पर्नुपर्ने थिएन । चुनाव जित्दैमा दल ठूलो हुने हैन, हामीले सबै क्षेत्रमा चुनाव नजिते पनि देशको ठूलो भूभागमा हाम्रो संगठन फैलिएको छ ।’
अघिल्लो निर्वाचनमा नेमकिपाको प्रतिनिधिसभामा १ सिट र बागमती प्रदेशमा २ सिट थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण
-
पौडेल र सेयर बजारको ‘ट्युनिङ’ पनि फेल