बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीबाट प्रमुख दलमध्ये एमालेले मात्रै महिलालाई उम्मेदवार बनायो

किन कम भए महिला उम्मेदवार ?
बिहीबार, ०३ कात्तिक २०७९, १५ : १३
बिहीबार, ०३ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि गण्डकी प्रदेशमा प्रमुख दलबाट ३ जना महिला उम्मेदवारमात्रै चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा प्रमुख दलले नै महिला उम्मेदवारलाई प्राथमिकता नदिएका हुन् । 

  निर्वाचन आयोगका अनुसार गण्डकीबाट प्रतिनिधिसभामा १ सय ९६ जनाको उम्मेदवारी परेकामा स्वतन्त्र सहित साना पार्टीबाट २३ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । तर, प्रमुख दलको तर्फबाट भने नेकपा एमालेले मात्रै तीन महिलालाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको हो ।  

एमालेले कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराई, स्याङ्जा २ मा पद्मा अर्याल र बागलुङ २ मा मञ्जु शर्मा चालिसेलाई उम्मेदवार बनाएको हो । राष्ट्रिय राजनीतिका प्रमुख  दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले भने महिला उम्मेदवारीलाई हिस्सा नै नदिएका हुन् । 

दोस्रो पटक चुनावी प्रतिस्पर्धामा विद्या भट्टराई
एमालेबाट कास्की क्षेत्र नम्बर–२ मा उम्मेदवार बनेकी भट्टराई दोस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छिन् । ०७६ को उपनिर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी भट्टराईको मुख्य प्रतिस्पर्धी यसपटक सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बरालसँग हुँदैछ । ०७६ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचनबाट रवीन्द्र पत्नीसमेत रहेकी भट्टराई उम्मेदवार बनेर निर्वाचित भएकी भइन् । 

यसपटक उनका प्रतिस्पर्धी रहेका बराल एमालेबाटै फुटेर गएका पूर्वसहकर्मी हुन् । गठबन्धनविरुद्ध एक्लै मैदानमा होमिएकी भट्टराईलाई विरासत जोगाउने चुनौति छ । उसो त बराललाई नयाँ विरासत कायम गर्न उत्तिकै चुनौती छ । 
धनराजसँग भिड्दै पद्मा
नेकपा एमालेकी सचिव समेत रहेकी पद्मा अर्यालको प्रतिस्पर्धा कांग्रेसका हेभिवेट उम्मेदवार धनराज गुरुङसँग हुँदैछ । स्याङ्जा २ मा सत्ता गठबन्धन रहेको छ भने कांग्रेस उपसभापति समेत रहेका गुरुङलाई सत्ता गठबन्धनको समर्थन छ ।  दुई दलका पदाधिकारीले एकै क्षेत्रबाट निर्वाचन लड्ने भएपछि स्याङ्जाको निर्वाचन माहोल तातिएको छ । यसअघिको निर्वाचनमा तत्कालीन उपप्रधानमन्त्री तथा कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई पराजित गरेकी अर्याल सामु यसपटक नयाँ चुनौती खडा भएको छ । गोपालमान भने यस पटक समानुपातिकतर्फका उम्मेदवार रहेका छन् । 

देवेन्द्रसँग मञ्जुको प्रतिस्पर्धा
बागलुङ–२ मा एमालेबाट उम्मेदवार बनेकी मञ्जु शर्मा चालिसेको भिडन्त माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भिडन्त हुँदैछ । बागलुङ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएकी उनी एमाले प्रवेश गरेकी थिइन् । 

बागी, स्वतन्त्र र साना दलबाट २० महिला 
कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामजी प्रसाद बरालविरुद्ध महिलाको बागी उम्मेदवारी परेको छ । बराल विरुद्ध माओवादीकै अनिता भुर्तेलले उम्मेदवारी दिएकी हुन् । उम्मेदवारी दर्ता गर्दै उनले सहिद परिवारको अपमान भएकाले आफूले उम्मेदवारी बताएकी थिइन् ।  चुनाव जितेर पुनः नेतृत्वलाई सहिद परिवारको याद दिलाउने उनको भनाइ छ । माओवादी नेताहरुले भने अनिताले उम्मेदवारी निस्क्रिय पार्न प्रयास गर्दै आएका छन् । 

यसबाहेक गोरखा १ बाट नेपाल मजदुर किसान पार्टीले लिलाकुमारी बुढाथोकीलाई उम्मेदवार बनाएको छ । जनता समाजवादीले कास्की १ बाट शर्मिला नेपाली मंग्राती, कास्की २ बाट वृद्धिकुमारी गुरुङ, तनहुँ १ बाट पासाङ थापा मगर र स्याङजा १ बाट तिलकुमारी नेपालीलाई उम्मेदवार बनाएको छ । 

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीले कास्की १ मा सीता श्रीस मगरलाई उम्मेदवार बनाएको छ । यस्तै, एकीकृत शक्ति नेपालले कास्की १ बाट सविना वेगमलाई उम्मेदवार बनाएको छ । यस्तै कास्की २ बाट हाम्रो नेपाली पार्टीले शिरीष गुरुङलाई उम्मेदवार बनाएको हो । मंगोल नेशनल अर्गनाइजेसन पार्टीले कास्की ३ बाट गंगाकुमारी खपाङगी, तनहुँ २ बाट प्रविना थापा  मगरलाई उम्मेदवार बनाएको छ । 

यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीले रिमीसरा गाहा रानालाई स्याङ्जा २ बाट उम्मेदवार बताएको छ । नेसलिष्ट पिपुल्स पार्टीले म्याग्दी १ बाट विष्णु घिमिरे खत्रीलाई उम्मेदवार बनाएको छ । यस्तै रवि राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङ २ बाट तिला खत्री र पर्वत १ बाट नेपाल सुशासन पार्टीले भगवती पौडेललाई उम्मेदवार बनाएको छ । 

यस्तै, स्वतन्त्रतर्फ कास्की २ बाट जमुना शर्मा र गीता नाथ, नवलपरासी १ बाट विन्दु भट्टराई, पर्वत १ बाट सीतादेवी शर्मा र सावित्री शर्माले उम्मेदवारी दिएका छन् । 

किन कम भए महिला उम्मेदवार ?
 संविधानले प्रतिनिधिसभा उम्मेदवारमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने अनिवार्य गरेको छ । तर, गण्डकीमा महिलाको प्रतिनिधित्व अत्यन्त कमजोर देखिएको  छ । महिला उम्मेदवार नहुनुमा केन्द्रीय नेतृत्वको हात रहेको कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताए । 

‘कांग्रेसको विधान अनुसार हामीहरुले आकांक्षीको नाम लिस्ट पठाउँदा महिला उम्मेदवार पनि धेरै हुनुहुन्थ्यो । तर, केन्द्रीय नेताले टिकट वितरण गर्दा पुरुष उम्मेदवार मात्र उठाउनुभयो । महिला उम्मेदवारलाई साँच्चिकै अन्याय भएको छ,’ उनले भने, ‘यसमा केन्द्रीय नेताहरुलाई नै सोध्नुपर्छ ।’ 

महिला उम्मेदवार सिफारिस भएपनि गठबन्धन हुँदा महिला उम्मेदवार टिकट नपाएको माओवादी गण्डकीकी अध्यक्ष गायत्री गुरुङले बताइन् । ‘देशभरि नै गठबन्धन भयो । निश्चित ठाउँमा मात्र महिला आकांक्षी हुनुहुन्थ्यो । सोही ठाउँमा छोडनुपर्दा महिलालाई अन्याय भयो,’ गुरुङले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप