सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

केपी ओलीका प्रतिस्पर्धी खगेन्द्रको प्रश्न– रमिता हेर्न भ्यू टावर नै चाहिन्छ ?

‘केपी ओलीले यसपटक बेसारको रोटी पाउनुहुन्छ’
बिहीबार, ०३ कात्तिक २०७९, १६ : ४१
बिहीबार, ०३ कात्तिक २०७९

झापा क्षेत्र नम्बर ५ सर्वाधिक चासोको निर्वाचन क्षेत्रमध्ये एक हो । यो क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट डा. खगेन्द्र पाण्डव अधिकारी चुनावी मैदानमा छन् । झापा–५ एमाले अध्यक्ष ओलीका कारण पनि चर्चामा आएको हो ।

एमाले अध्यक्ष ओली सत्ता गठबन्धनका कटु आलोचक हुन् । उनै ओलीसँग प्रतिस्पर्धामा उत्रिएका परिचित प्रतिस्पर्धी अधिकारी यसपटक ओली पराजित हुने हिसाव सुनाउँछन् । ०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धन र राप्रपाको समर्थनमा उम्मेदवार बनेका ओलीले ५६ हजार हाराहारी मत ल्याउँदा अधिकारीले २८ हजार मत ल्याएका थिए ।

२०७४ मा ओलीसँग प्रतिस्पर्धामा उत्रिन पार्टीबाट अन्य कोही तयार नहुँदा उनी फेरि किन अग्रसर भए भन्ने विषय पनि चासोपूर्ण नै छ । गौरादह–५, झापाका स्थायी बासिन्दा अधिकारीले सोही ठाउँको गौराहद माविबाट २०४७ सालमा एसएलसी पास गरेका हुन् । उनले धरानको हात्तीसार क्याम्पसमा आइएससी, विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा बीएससी अध्ययन गरेका हुन् ।

यस्तै काठमाडौंमा गएर स्नातकोत्तर गरेका उनले सन् २०१५ मा विद्यावारिधी गरेका छन् । शिक्षासँगै उनले कांग्रेससँगको राजनीतिक निकटता तथा सांगठनिक जिम्मेवारीमा रहेर काम गरेका छन् । स्नातकोत्तरको अध्ययन सकेर अधिकारीले काठमाडौंको त्रिचन्द्र क्याम्पसमा २०५७ जेठ ८ गतेदेखि अध्यापन सुरु गरे । २०७४ सालको निर्वाचनका समयमा ओलीको राष्ट्रवादी छवि, एमालेको अध्यक्ष, यतिमात्र नभई पूर्व प्रधानमन्त्री भइसकेको र वाम गठबन्धनका अतिरिक्त पनि राप्रपासँग तालमेल गरेर झापामा ‘महागठबन्धन’ भएको बेलामा प्राध्यापन पेशाबाट राजीनामा दिएर ओलीसँग भिड्न कस्सिएका उनी त्यसयता भने झापामै रहेर पूर्णरुपमा राजनीतिमै समर्पित छन् ।

एमाले अध्यक्ष ओलीलाई दोस्रो पटक चुनौती दिन कस्सिएका उनीसँग रातोपाटीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ डा. खगेन्द्र अधिकारीसँग रातोपाटीकर्मी अर्जुन आचार्यले गरेको कुराकानीको सम्पादित अंश–

२०७४ सालको निर्वाचनमा झापा–५ मा तपाईले २८ हजारको हाराहारीमा मत ल्याउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५६ हजारभन्दा बढी मत ल्याएर जित्नुभयो । झण्डै डबल मतले विजयी भएका ओलीसँग यो पटक फेरि प्रतिस्पर्धामा उत्रिँदै हुनुहुन्छ, किन ?

– राजनीति गर्छु, समाजसेवा गर्छु भनेर अगाडि बढिसकेपछि मौका छोपेर अगाडि बढ्ने र फेरि पछाडि सर्ने मेरो आदत छैन । राजनीतिक रुपमा समाजसेवा गर्छु भनेपछि कहिले हार हुन्छ, कहिले जित हुन्छ । हार हुन्छ भनेर ०७४ सालमा म चुनाव लडेको होइन तर, ‘महागठबन्धन’ भएपछि चाहिँ हारिन्छ होला भन्ने लागेको थियो । अहिले पहिलेको जस्तो अवस्था छैन । राप्रपाका अधिकांश कार्यकर्ताले एमालेलाई भोट हाल्न रुचाएको अवस्था छैन । एमाले अध्यक्ष ओलीको भन्दा मसँग पैसाको कमी होला, अरू केहीमा उहाँभन्दा कमी छैन म ।

०७४ सालको निर्वाचनमा कति खर्च भयो ?

खर्च २५ लाख रुपैयाँ भयो । त्यसमा आफ्नो केही रकम साथीभाइबाट सरसहयोग पनि भयो । घरको चामल र अन्य सानातिना खर्च भएका छन् । ०७४ सालको परिस्थितिभन्दा अहिले भिन्न भयो । तर, पनि एमाले अध्यक्ष ओलीसँग चुनाव लड्नका लागि त यो पटक पनि कोही तयार थिएन होइन ?

०७४ सालमै २५ लाख खर्च गर्नुभएको तपाई फेरि त्योभन्दा बढी खर्च गर्न किन लड्न लाग्नुभएको ?

तपाई ढुक्क हुनुहोस्, चुनावको परिणाम यस पटक गठबन्धनको पक्षमा आउँछ । हाम्रो समाजमा के छ भने एउटा प्रभाव परेपछि सदाका लागि त्यही हुन्छ भन्ने देखिन्छ । तर, त्यो इतिहासमा गलत साबित भएको छ । इरानका बादशाहले पनि त्यही सोच्थे । नेपालमा राणाले या पञ्चायतले पनि त्यही सोच्थे । त्यसकारण केपी ओलीको भुत तपाईहरुमा पनि सवार भएको होला, अहिले त्यस्तो अवस्था छैन ।

होइन, तपाईले जित्ने हिसाब किताबचाहिँ कस्तो छ ?

तथ्यांकमा हामीले निर्वाचन जितिसकेका छौं । २०७४ सालमा म एक्लो मानिसले २८ हजार भोट ल्याएको हो । त्यसबेला ओलीबारे नक्कली राष्ट्रवादी छवि थियो, दलहरु पनि सबै मिलेका थिए । प्रशासन, कर्मचारी सबै प्रयोग गर्दा पनि मैले पाएको मत २८ हजार हो । अर्को भनेको यो क्षेत्रमा माओवादीको भोट १२ हजार हाराहारीमा हो । केपी ओलीको साढे तीन वर्षको गतिविधि हेर्नुहोस् । त्यसले खस्कँदो साख, कमेडी च्याम्पियन जस्तो बोलेको, हावादारी गफ, आफ्नै पार्टीभित्रका मानिसलाई गरेको लाखापाखा, त्यहाँ धन्दा र व्ययवसाय के छ, हेर्नुहोस् ।

त्यसकारण त्यहाँ ठूलो तप्का ओलीसँग असन्तुष्ट छ । अर्कोतिर एमाले विभाजन भएको नेकपा एकीकृत समाजवादीमा पनि ३/४ हजार मत छ । हामीले स्थानीय तह निर्वाचनमा गरेको महागठबन्धन र त्यस अवस्थामा भएका आन्तरिक सहमतिका कारण पनि राप्रपाले हामीलाई सघाउँछ । हामीले राम थापालाई चुनावमा जिताएका हौं । उहाँहरुबाट अहिले हामीलाई ६÷७ हजार भोट आउँछ । हामी शानदार ढंगले चुनाव जित्छौं ।

दमक नगरपालिकाका प्रमुख राम थापाले तपाईलाई सहयोग गर्छन् र ? राप्रपाको गठबन्धन एमालेसँग छ भन्ने तपाईलाई थाहा छैन ?

मलाई विश्वास छ । हामीले विश्वास गरेर भोट हालेर राम थापा (दमकका प्रमुख) लगायतलाई त्यो पदमा पुर्‍याएको छौं । अहिले पनि त्यसबेला मत गणना गर्दा हलो, रुख, हँसिया हथौडा भनेर बोलेको ह्याङ ओभरमै राप्रपाका साथीहरु हुनुहुन्छ । राप्रपाले हामीलाई निःशर्त सहयोग गर्छ । उदाहरणका लागि हामीले बर्खे धान राप्रपाको खलोमा थ्रेसर लगायौं । तर, त्यहाँ एउटा शर्त थियो । हिउँदको धान चाहिँ कांग्रेस र माओवादीको खलोमा थ्रेसर लगाउने । त्यसो भएका कारण राप्रपाका साथीहरुले त्यो प्रतिबद्धता पूरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

तपाईंका एजेण्डाचाहिँ के छन् ? ओलीले त आफ्नो क्षेत्रमा अरबको हाराहारीमा बजेट ल्याउनु भएको छ, काम गरेको छ भन्ने कुरा छ नि ?

मैले यस अगाडि पनि भनेको थिएँ । कसैले ‘दही र चिउरा भए केरा त मागेर पनि खान्थेँ’ भनेजस्तै छ । चुच्चे रेलको कुरा गर्नुभयो उहाँले, पानी जहाज हिन्द महासागरमा फहराउने भन्नुभयो । घरघरमा ग्याँस पाइपलाइनको कुरा ल्याउनु भयो । अलिक गरिब भएको ठाउँमा गएर ‘धनी हुन मन लागे काम गर्नुहोस्, खानकै लागि सुतीसुती खान पुग्छ, म पुरा गर्छु’ भन्नुभयो । यस्तो हावादारी आश्वासनको विषयमा जनतामा ठूलो आक्रोस छ । विकासको कुरा गर्ने हो भने ‘यो ४ तल्ला, ६ तल्लाका भवन पनि मैले बनाएको’ भन्नुहुन्छ भने अर्को कुरा हो ।

ओलीले गर्नुभएको छ नि ! टावर बनाउनु भयो । सभाहल, रंगशाला, बसपार्क, औद्योगिक ग्राम, त्यत्रो गर्नुभएको होइन र ?

यो विकास बजेट उहाँ नभए पनि, अर्को नभए पनि जनताबाट लिएको करले सामान्य खर्च मेन्टेन भएपछि अरु जनताको हितकै लागि गर्नुपर्छ । निरन्तर विकास हुन्छन् । स्पेसल उहाँले के गर्नुभयो ? दमकमा सभाहल भनेको जनताको आवश्यकता हो । राज्यकै दायित्व हो । विकास भनेको कस्तो विकास ? दिगो विकासको अवधारणा ल्याउनु भयो कि भएन ? उहाँले भ्यू टावर बनाउनु भयो । त्यसको आवश्यकता थियो ? अनि त्यहाँबाट २० तला बनाउनु भयो । १ अर्ब ९३ करोड खर्च गरेर भ्यू टावर बनाउनु जरुरी छ ? रमिता हेर्नका लागि टावर बनाउनुपर्छ ? त्यहाँभन्दा ४ किलोमिटर मास्तिर जानु न डाँडाबाट हेर्दा दार्जिलिङ, सिक्किम पनि देखिन्छ नि ! दिगो विकास हुनु आवश्यक छ । अहिले बाटो बनायो । एक दुई वर्षमै सोहोरिएर शहर कुरुप हुने अवस्था छ । यो अवस्था हटाउनु पर्छ ।

टावर त व्यवसायिक कम्प्लेक्स पनि होला नि, रमिता हेर्नेमात्रै हो र ? उहाँले त आइफिल टावर भनिरहनु भएको छ त ?

– दमकमा गोरखा डिपार्टमेन्ट स्टोर चलिरहेको छैन । अनावश्यक संरचना बनाएर देशलाई ऋणको भार बोकाउने ? तपाईले विकासको परिकल्पना गर्दा १०० वर्ष पछाडिको कल्पना गरेर हुँदैन । फ्रान्सको आइफिल टावरसँग यहाँ तुलना हुनै सक्दैन । १ सय वर्ष पछाडि नासाको जस्तो स्टेसन नेपाललाई चाहिएको होला । तर, अहिले बनाउने हो ? त्यो जरुरी छ ? यो जनता छल्ने हावादारी कुरा हो । बच्चा आङ नाङ्गो भएर हिँडिरहेका छन् । यहाँ टाइसुटको कुरा गरेर हुँदैन ।

सांसद बनेर तपाईचाहिँ के गर्नुहुन्छ ?

देशलाई दिशा निर्देश गर्ने संसदमा सही ढंगले छलफल हुन सकिरहेको छैन । हाम्रो विदेश नीति भरपर्दो हुनुपर्छ । हाम्रो जहाँ बजार छ, जहाँ घनिष्ट सम्बन्ध छ । ती देशहरुसँग विश्वासको वातावरण बन्यो भने नेपाल युरोपको हाराहारीमा तुरुन्तै पुग्न सक्ने देश हो । हामीले विद्युत् उत्पादन गर्न सक्छौं । त्यसमा लगानी भित्र्याउन सक्छौं । हामीले ५० हजार मेगावाट बिजुली निकालेर भारत वा अरु देशलाई मात्रै विक्री गर्न सक्दा ठूलो आम्दानी हुन्छ । त्यसबाहेक पर्यटनको क्षेत्रमा पनि सुरक्षाको वातावरण सिर्जना गर्न सकिन्छ ।

त्यो विषय त नीतिगत ढंगले तपाईले भन्दा बढी भूमिका त केपी ओलीले खेल्नुहुन्छ होला नि, होइन र ?

कसरी खेल्नुहुन्छ ? देखियो नि तीन वर्षमा के के भयो ? दुई पटक संसद विघटन । आफ्नै पार्टी विभाजन । भएको एमालेलाई पनि सग्लो राख्ने अवस्था देखिँदैन । झापाकै रतुवा माईको पाता कस्ने भन्नुभएको थियो तर, जनतालाई रतुवाले सुताइदिएको छ । खोला नियन्त्रणको नाममा अहिले पनि बाचा आउन सक्छन् । उहाँले धेरै ढाँटिसक्नु भयो । औद्योगिक पार्क भनेर एक कठ्ठा जग्गा घेरेर ‘ओलीले उद्घाटन गर्नुभयो’ भनेर शिला राखिएको छ । त्यो भन्दा केही छैन । त्यस्ता हावादारी कुरा गरेर हुन्छ ? आदिवासी रंगशाला बनाउने भनेर शिलान्यास गर्नुभयो । त्यहाँ जनजातिको चिहान हटाउनु भयो । त्यहाँ रंगशाला बनाउनुपर्ने थियो । विभिन्न राजनीति गरेर आदिवासीप्रति अनुदार हुँदै गतिविधि भए । दमकमा फाल्गुनन्दको नामबाट सभाहल बनाउँछौं भन्नुभएको थियो । तर दमक सभाहल बनाउनु भयो । आदिवासी रंगशालालाई मदन भण्डारी भनेर नामकरण गर्नुभयो ।

तपाईको एजेण्डा पनि रतुवाको पाता कस्ने, सुकुमवासीलाई जग्गा दिने नै त होला नि ? अहिले बिक्ने त्यही होला ।

मैले त खोला नियन्त्रणमा राष्ट्रिय नीति बनाउनु पर्छ भनिरहेको छु । चुरेका फेदीबाट बग्ने नदीहरुको छेउछाउमा सरकारले मुआब्जा दिएर जग्गा अधिग्रहण गरेर जरा तलसम्म फैलिने वृक्षारोपण गर्नुपर्छ । सुकुमवासीको विषयमा पनि हामीले भूमि सम्बन्धी आयोगले गरेको कामका आधारमा १ हजारभन्दा बढी पूर्जा बाँड्नुपर्छ भन्ने थियो । आचारसंहिताले दिएन । त्यसबाहेक मैले भ्यू टावर बन्ने सन्दर्भमा पनि भनेको थिएँ । त्यति नै पैसामा झापाको पाँडाजुंगी दमकको उत्तरी क्षेत्रमा प्रशस्त जग्गा छ, त्यहाँ ५ सय शय्याको मेडिकल कलेज स्थापना गर्नेमा विशेष भूमिका खेल्ने मैले सोचेको छु । यो क्षेत्रको तल्लो भेगमा गरिब निमुखा जनताको बसोबास छ । त्यहाँको भन्सारको स्तरोन्नति गरेर औद्योगिक क्षेत्र बनाउने सोच बनाएको छु । त्यसमा रोजगारीको अवसर पनि सिर्जना हुन्छ ।

तपाई आफै पिएचडी गर्नुभएको एक जना बौद्धिक व्यक्तित्व हुनुहुन्छ । तपाईले आफैं पढेको विद्यालय हेर्नुभएको होला, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन चाहिँ के गर्नुहुन्छ ?

– विद्यालय सुधारका लागि पहिले बुढाखाले शिक्षकलाई राजीनामा दिन लगाएर उहाँका सन्तानलाई जाँच लिएर प्रमोट गर्ने । शिक्षक छनौट विधिलाई उच्चस्तरीय आयोग बनाएर श्रव्यदृश्यसहितको परीक्षा लिने अवस्था सिर्जना गर्ने । तल्लो तहबाटै शिक्षामा सुधार गर्ने मेरो उद्देश्य हो । विश्वविद्यालयको सुधार सबैभन्दा महत्वपूर्ण छ । विद्यार्थीले चाहेको विषयमा अहिले पनि पढ्न पाइरहेका छैनन् । त्यस्तो अवस्थाको अन्त्य गर्ने । सीमान्तकृत समुदायका छोराछोरीलाई पढ्न पाउने व्यवस्था पनि गर्नुपर्छ ।

प्रतिस्पर्धाकै क्रममा एमाले अध्यक्ष ओलीलाई केही सन्देश दिनु छ ?

केपी ओलीसँग ठ्याक्कै मिल्ने एउटा कुरा छ । एक जना चतुर व्यक्ति पाहुना लाग्न जाँदा एक प्याकेट बेसार लिएर जाने गर्दथे रे । धेरै दिन पाहुना बसेपछि घरवालाले ‘हजुरको श्रीमती पनि गुनासो गर्न थाल्नुहोला, कहिले जाने हो ?’ भनेर सोधेछन् । तर, पाहुनाचाहिँ के भन्दारैछन् भने ‘होइन त्यो बेसार नसकी त कसरी जानु ?’

अब बेसार एकैचोटी खान दिने कुरा भएन । घरबेटीलाई समस्या परेपछि उनलाई खेदाउन एक पटक बेसारकै रोटी बनाएर खान दिएछन् । जब बेसारको रोटी खान दिए, ती चतुर पाहुना भागेका थिए रे । त्यस्तै पटकपटक यसो गर्छु, उसो गर्छु भन्ने तर केही नगर्ने केपी ओलीलाई यसपटक झापा–५ का जनताले बेसारको रोटी दिन्छन् । उहाँ भाग्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप