शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसका ९१ मध्ये ७५ उम्मेदवार ‘ग्रीन जोन’मा

बिहीबार, ०३ कात्तिक २०७९, ११ : १८
बिहीबार, ०३ कात्तिक २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६५ मध्ये ९१ सिटमा उम्मेदवारी दिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामका आधारमा कांग्रेसले गठबन्धन घटकको सहयोगमा तीमध्ये ६५ देखि ७५ सिट जित्ने आन्तरिक प्रक्षेपण गरेको छ ।

पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा होमिएको कांग्रेस स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा ९१ मध्ये ७५ सिटमा अगाडि देखिन्छ । कांग्रेसका १६ उम्मेदवारमात्र एमाले नेतृत्वको गठबन्धनभन्दा पछाडि रहेको पाइन्छ ।

प्रदेश १ का ७, मधेसमा ३, लुम्बिनीमा, बागमती र गण्डकीका २–२ सिटमा कांग्रेस उम्मेदवार ‘रेड जोन’मा देखिन्छन् । ‘रेड जोन’मा परेको अधिकांश सिटमा पनि कांग्रेस उम्मेदवार झिनो मतले मात्र पछाडि देखिन्छन् । यसको आधारमा स्थानीय निर्वाचनपछि थपिएका नयाँ मतदाता ती क्षेत्रमा निर्णायक बन्ने सम्भावना छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच देशव्यापी चुनावी गठबन्धन भएको छ । मधेस प्रदेशमा उनीहरुसँग लोसपा पनि जोडिएको छ । यता एमाले, जसपा र राप्रपाबीच स्थानीय आवश्यकता अनुसारमात्र तालमेल भएको छ । 

कांग्रेस र एमालेबीच ७८ सिटमा प्रतिस्पर्धा हुँदैछ । बाँकी १२ सिटमा  एमालेको समर्थनमा जसपा, राप्रपा, जनता प्रगतिशील पार्टीसँग कांग्रेसले भिड्दैछ । डडेल्धुरामा भने प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध एमाले उम्मेदवार विहीन भएको छ ।

एमालेले मधेश प्रदेशका ३०, लुम्बिनीका ५, प्रदेश–१ का ४ सिट र सुदूरपश्चिमका १ सिटमा एमाले र जसपाको तालमेल भएको छ । एमाले र राप्रपाबीच पनि झापा, रुपन्देही र बाँकेमा मात्र तालमेल भएको छ । कतिपय सिटमा उनीहरु मित्रवत् प्रतिस्पर्धामा उत्रिएका छन् । 

स्थानीय निर्वाचनको गणितीय हिसाब

प्रदेश १

तेह्रथुममा स्थानीय तहको मत परिणामका आधारमा कांग्रेसकी सीता गुरुङ र एमालेका विजय सुब्बाबीच कडा टक्कर हुने देखिन्छ । यहाँ एमालेले २२ हजार ३१२, कांग्रेसले २१ हजार ९११, माओवादीले ६८६ र नेकपा एकीकृत समाजवादीले ५४६ मत स्थानीय निर्वाचनमा पाएका छन् । यस आधारमा एमाले उम्मेदवार सुब्बाभन्दा गठबन्धनको साथ पाएकी कांग्रेस उम्मेदवार गुरुङ ८३१ मतले अगाडि देखिन्छिन् ।

पाँचथरमा कांग्रेसले भीष्मराज आङदेम्बे र एमालेले बसन्त नेम्वाङलाई उम्मेदवार बनाएको छ । स्थानीय तह निर्वाचनमा यहाँ एमालेले ३० हजार ९५८, कांग्रेसले २५ हजार ६५, माओवादीले ११ हजार ८०८, जसपाले २ हजार ६४३, नेकपा एकीकृत समाजवादीले २ हजार १६१ र राप्रपाले एक हजार ९०९ मत पाएका छन् । यस आधारमा गठबन्धनको साथ पाएका कांग्रेस उम्मेदवार आङदेम्बेसँग एमालेका नेम्वाङ ८ हजार मतले पछाडि देखिन्छन् ।

धनकुटामा कांग्रेसका सुनिल थापा र एमालेका राजेन्द्र राईबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ सत्ता गठबन्धनको तुलनामा एमाले–जसपा गठबन्धन बलियो रहेको स्थानीय तहको मत परिणामले देखाउँछ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अनुसार यहाँ एमालेको ३६ हजार ३३६, कांग्रेसको २८ हजार १८२, माओवादीको ५ हजार ४५८, जसपाको २ हजार २९३, नेकपा एकीकृत समाजवादीको एक हजार ७२८ र राप्रपाको ३०४ मत छ । यस आधारमा कांग्रेसका उम्मेदवार थापाभन्दा एमाले उम्मेदवार राई ३ हजार २६१ मतले अघि छन् । स्थानीय निर्वाचनमा ३०४ मत पाएको राप्रपाले पनि यहाँ उम्मेदवारी दिएको छ ।

संखुवासभामा पनि सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ सत्तारुढ गठबन्धनबाट कांग्रेसका दीपक खड्का र एमालेबाट राजेन्द्र गौतम उम्मेदवार छन् । यहाँ एमालेको ३२ हजार ९११, कांग्रेसको ३० हजार ८४९, माओवादीको ७ हजार १२२, नेकपा एकीकृत समाजवादीको एक हजार १०१ र जसपाको ४७१ मत रहेको स्थानीय तहको निर्वाचन परिणामले देखाउँछ । यस आधारमा गौतमभन्दा करिब ६ हजार मतले खड्का अघि छन् ।

ओखलढुंगामा सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामहरि खतिवडा र एमालेबाट यज्ञराज सुनुवार उम्मेदवार छन् । यहाँ कांग्रेसको ३२ हजार २८८, एमालेको २९ हजार ५९१, माओवादीको ६ हजार ९१६, जसपाको २ हजार १०४, नेकपा एकीकृत समाजवादीको ५२१ र राप्रपाको १४६ मत छ । यस आधारमा कांग्रेसका खतिवडा १० हजारभन्दा बढी मतले एमालेका सुनुवारभन्दा अघि देखिन्छन् ।

सोलुखुम्बुमा कांग्रेसका बलबहादुर केसी र एमालेका मानवीर राई मुख्य प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसको १९ हजार ६८, एमालेको १६ हजार ५९७, माओवादीको १२ हजार ४२५, नेकपा एकीकृत समाजवादीको १६३ र जसपाको १४२ मत छ । यस आधारमा कांग्रेसका केसीभन्दा एमालेका राई १५ हजार ५९ मतले पछाडि रहेको देखिन्छ ।

इलाम २ मा कांग्रेसका डम्बर खड्का र एमालेका सुवास नेम्वाङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको ३२ हजार ९७८, एमालेको ३२ हजार ५२७, माओवादीको २ हजार ७१७, जसपाको ५५४, नेकपा एकीकृत समाजवादीको २७७ र राप्रपाको १३० मत रहेको स्थानीय तहको निर्वाचन परिणामले देखाउँछ । यस आधारमा खड्काभन्दा नेम्वाङ ३ हजार ४४५ मतले पछि देखिन्छन् ।

झापा–१ मा कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेलबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३१ हजार २३२, कांग्रेसको २४ हजार ५९, राप्रपाको ५ हजार ९२२, माओवादीको ३ हजार ९०५, नेकपा एकीकृत समाजवादीको एक हजार २५२ र लोसपाको १६२ मत छ । जसका आधारमा ७ हजार ७७६ मतले खरेलभन्दा शर्मा पछाडि देखिन्छन् । यहाँ राप्रपा र एमालेबीच तालमेल भएको छ । 

यस्तै झापा–३ मा कांग्रेस र राप्रपाबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको सहयोगमा कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेको सहयोगमा राप्रपाका राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । यहाँ कांग्रेसको २५ हजार ९४९, राप्रपाको २१ हजार १५९, एमाले २१ हजार ८५, माओवादीको ६ हजार ६८८, जसपाको ५३७ र लोसपाको २०८ मत छ । यस आधारमा लिङ्देनभन्दा सिटौला ९ हजारभन्दा बढी मतले पछाडि छन् ।

झापा–४ मा कांग्रेसका देउकुमार थेबेविरुद्ध एमालेले एलपी साँवालाई अगाडि सारेको छ । यहाँ एमालेको ३१ हजार २७२, कांग्रेसको २८ हजार १६५, माओवादीको ६ हजार ३८२, राप्रपाको ४ हजार ५५६, नेकपा एकीकृत समाजवादीको ७०२, लोसपाको २४८ र जसपाको ११० मत छ । यहाँ थेवेभन्दा साँवा ३३१ मतान्तरले अघि छन् । 

झापा–५ मा एमालेका केपी शर्मा ओलीको प्रतिस्पर्धीका रुपमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी चुनावी मैदानमा छन् । यहाँ एमालेको ४१ हजार ६१९, कांग्रेसको २२ हजार २२, माओवादीको १० हजार ७८८, राप्रपाको ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादीको एक हजार ९८८ मत छ । यस आधारमा ओली १५ हजार १७४ मतले अघि देखिन्छन् । झापामा एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।

मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बु र एमालेका घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३२ हजार ३६६, कांग्रेसको ३१ हजार ४१३, माओवादीको ६ हजार ५८३, राप्रपाको २ हजार ८९०, नेकपा एकीकृत समाजवादीको एक हजार ९३ र जसपाको ४९४ मत छ । यस आधारमा खतिवडाभन्दा लिम्बु ६ हजार २२९ मतले अगाडि छन् ।

मोरङ–२ मा कांग्रेसबाट सुजाता कोइराला उम्मेदवार बनेकी छन् । उनलाई टक्कर दिन एमालेबाट ऋषि पोखरेल उम्मेदवार छन् । यहाँ एमालेको ३१ हजार ३३०, कांग्रेसको २८ हजार ६१७, माओवादीको ७ हजार २७१, जसपाको ४ हजार ४४५, राप्रपाको दुई हजार ६९, लोसपाको ५६६ र नेकपा एकीकृत समाजवादीको १८० मत छ । पोखरेलभन्दा कोइराला ८५९ मतले मात्र अगाडि रहेको स्थानीय तहको निर्वाचनमा दलगत मतले देखाउँछ । यहाँ राप्रपाले कसैसँग तालमेल गरेको छैन ।

मोरङ ३  मा कांग्रेसका सुनिल शर्मा र एमालेका भानुभक्त ढकाल चुनावी मैदानमा छन् । यहाँ राप्रपा नेतृ रेखा थापाको उम्मेदवारीले शर्मा र ढकालबीचको चुनावी प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ । 

यहाँ एमालेको ३७ हजार ४१०, कांग्रेसको ३६ हजार ९१६, माओवादीको ७ हजार ३७३, राप्रपाको २ हजार १२१, नेकपा एकीकृत समाजवादीको एक हजार ८५५ र जसपाको ४६३ मत रहेको स्थानीय तहको निर्वाचन परिणामले देखाउँछ । यस आधारमा शर्मा ८ हजार २७२ मतले अगाडि देखिन्छन् । यहाँ राप्रपाले कसैसँग तालमेल गरेको छैन ।

मोरङ–६ मा कांग्रेसका शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २७ हजार ८६, एमालेको २४ हजार ५५६, माओवादीको ४ हजार ९९६, जसपाको ३ हजार ९३९, राप्रपाको ३ हजार ११५, नेकपा एकीकृत समाजवादीको २ हजार ३५५ र लोसपाको ८९५ मत देखिन्छ । यस आधारमा कोइरालाको पक्षमा ३५ हजार ३३२ र पण्डितको पक्षमा २८ हजार ४९५ मत देखिन्छ ।

यस्तै सुनसरी–२ मा कांग्रेसका सिताराम मेहता र एमालेका भीम आचार्यबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको ३७ हजार ७३७, एमालेको ३६ हजार ४७२, जसपाको ७ हजार ८५५, माओवादीको ३ हजार २५०, राप्रपाको ३ हजार ११०, नेकपा एकीकृत समाजवादीको २ हजार ११९ मत छ । त्यसैले मेहताभन्दा आचार्य एक हजार २२१ मतले अघि देखिन्छन् ।

सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३५ हजार ५३, कांग्रेसको ३३ हजार ५७१, जसपाको ५ हजार ५१६, माओवादीको ३ हजार ८००, राप्रपाको ३ हजार ३३१ र नेकपा एकीकृत समाजवादीको ६२६ मत छ । यस आधारमा एमाले उम्मेदवार चौधरीभन्दा कांग्रेसका गच्छदार २ हजार ५८२ मतले पछि छन् । यहाँ राप्रपा एक्लै चुनावी प्रतिस्र्धामा छ ।

सुनसरी–४ मा सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध एमालेले जगदीश कुसियतलाई मैदानमा उतारेको छ । यहाँ कांग्रेसको २८ हजार ७५६, एमालेको २३ हजार ६१३, जसपाको ९ हजार ८६३, नेकपा एकीकृत समाजवादीको ३ हजार ७००, माओवादीको ३ हजार ६४६, राप्रपाको ३ हजार ४५७ र लोसपाको एक हजार ५०४ मत छ । यस आधारमा कुसियतभन्दा कार्की ४३० मतले मात्र अघि छन् । यहाँ राप्रपा भने एक्लै प्रतिस्पर्धामा छ ।

उदयपुर–१ मा परराष्ट्रमन्त्री तथा कांग्रेस नेता डा. नारायण खड्का उम्मेदवार छन् भने एमालेबाट मञ्जुकुमारी चौधरी । यहाँ एमालेको २१ हजार ६५२, कांग्रेसको २० हजार ७५७, माओवादीको ८ हजार १७९, जसपाको २ हजार ४२९, नेकपा एकीकृत समाजवादीको एक हजार ९९४ र राप्रपाको एक हजार ६३३ मत छ । यस आधारमा चौधरीभन्दा खड्का ९ हजार २७८ मतले अघि छन् ।

 


 

मधेस प्रदेश

सप्तरी–१ मा कांग्रेसका रामदेव साह र जसपाबाट नवकिशोर यादवबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २१ हजार ४५६, एमालेको १७ हजार १५८, जसपाको १७ हजार १३७, जनमत पार्टीको ९ हजार ४३३, माओवादीको ८ हजार ४९६, लोसपाको एक हजार ६४६, नेकपा एकीकृत समाजवादीको ७४२ र राप्रपाको ७२९ मत रहेको स्थानीय तहको निर्वाचन परिणामले देखाउँछ । यस आधारमा यहाँ कांग्रेसका साह एमालेको साथ पाएका जसपाका यादवभन्दा एक हजार ९५७ मतले पछि छन् । 

सप्तरी–३ मा कांग्रेसका दिनेशकुमार यादव र एमालेका ताराकान्त चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यादवलाई सत्ता गठबन्धन र चौधरीलाई जसपाको साथ छ । यहाँ जसपाको १९ हजार ४५८, कांग्रेसको १८ हजार ३२३, एमालेको १४ हजार १५९, लोसपाको ७ हजार ७४८, नेकपा एकीकृत समाजवादीको ५ हजार २२६, माओवादीको ४ हजार ७५१, जनमत पार्टीको ३ हजार ६६५ र राप्रपाको एक हजार २२७ मत छ । यस आधारमा चौधरीभन्दा यादव २ हजार ४०२ मतले अगाडि देखिन्छन् । 

सप्तरी–४ मा कांग्रेसका तेजुलाल चौधरी र जसपाका बालकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुनेछ । स्थानीय तह निर्वाचन परिणाम अनुसार यहाँ कांग्रेसको १६ हजार ९७५, जसपाको १५ हजार ६८२, एमालेको १० हजार ४४, नेकपा एकीकृत समाजवादीको ८ हजार ४५०, माओवादीको ६ हजार ९२०, जनमत पार्टीको ५ हजार ४०२, लोसपाको ३ हजार ८४८ र राप्रपाको ५०३ मत छ । यस आधारमा चौधरी १० हजार ४६७ मतले अघि देखिन्छन् । सप्तरीमा जनमत र राप्रपा एक्लाएक्लै चुनावी मैदानमा छन् । 

यस्तै सिरहा–१ मा कांग्रेसका पद्मनाराण चौधरी र एमालेका रामशंकर यादवबीच टक्कर हुने देखिन्छ । यहाँ कांग्रेसको २० हजार ७८७, एमालेको १६ हजार १५२, जसपाको ११ हजार ४५१, नेकपा एकीकृत समाजवादीको ७ हजार ४८६, माओवादीको ३ हजार ९९८ र जनमत पार्टीको एक हजार २२१ मत छ । उक्त परिणामका आधारमा पाँच दलीय गठबन्धनका चौधरी ४ हजार ७१६ मतले अघि देखिन्छन् ।

सिरहा–२ मा कांग्रेसका चित्रलेखा यादव र जसपाका राजकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ स्थानीय तहको निर्वाचनमा खसेको मतका आधारमा जसपाको २१ हजार ९७, कांग्रेसको १९ हजार ४७४, एमालेको १८ हजार ३५८, माओवादीको ११ हजार ६५८, जनमत पार्टीको ५ हजार १०१, नेकपा एकीकृत समाजवादीको ३ हजार ९२३, लोसपाको ९७९ र राप्रपा २५३ मत छ ।

यस आधारमा एमालेका साथ पाएका राजकिशोर ४ हजार ४२१ मतले अघि छन् । सिरहामा पनि जनमत र राप्रपाले एकल उम्मेदवारी उठाएको अवस्था छ ।

धनुषा–२ मा कांग्रेसलाई माओवादी र लोसपा साथ छ भने एमाले, जसपा, जनमत र राप्रपा एकल प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ कांग्रेसको २१ हजार २३२, जसपाको १३ हजार ८८९, एमालेको ११ हजार ५८३, माओवादीको १० हजार ७९४, नेकपा एकीकृत समाजवादीको ८ हजार ९९७, लोसपाको ६ हजार ७१३, जनमत पार्टीको ४ हजार २८३ र राप्रपाको २१३ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यस क्षेत्रमा उम्मेदवार रहेका कांग्रेसका रामकृष्ण यादव जसपाका गंगाराम यादवभन्दा २४ हजार ८५० मतले अघि रहेको उक्त तथ्याङ्कले देखाउँछ ।

धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २५ हजार १९५, एमालेको २३ हजार ६३०, जसपाको ८ हजार ३७८, नेकपा एकीकृत समाजवादीको ८ हजार १६४, माओवादीको ४ हजार ४३४, लोसपाको २ हजार १८४, जनमत पार्टीको एक हजार ९५०, राप्रपाको ५१४ मत छ । यस आधारमा गठबन्धनका साझा उम्मेदवार यादव एमालेका महासेठभन्दा १६ हजार ३४७ मले अघि देखिन्छन् । यहाँ जसपा र राप्रपा पनि प्रतिस्पर्धामा छन् ।

महोत्तरी–४ मा कांग्रेसका महेन्द्रकुमार राय यादव र जसपाका सुरेन्द्र यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको १७ हजार ७१८, लोसपाको ११ हजार ३५३, एमालेको १० हजार ३९६, जसपाको ९ हजार ७०९, माओवादीको ७ हजार ८१३, नेकपा एकीकृत समाजवादीको ९८५ र राप्रपाको १९७ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यस आधारमा सुरेन्द्रभन्दा महेन्द्र १७ हजार ७६४ मतले अघि छन् ।

सर्लाही–४ मा कांग्रेसका नागेन्द्र कुमार रायविरुद्ध जसपाका राकेश मिश्रको उम्मेदवारी छ । यहाँ कांग्रेसको २३ हजार १३१, माओवादीको १८ हजार ६१५, लोसपाको १४ हजार ७३१, एमालेको ११ हजार ६७४, जसपाको ६ हजार ४३३, जनमत पार्टीको २ हजार ६१२, नेकपा एकीकृत समाजवादीको ६०९ र राप्रपाको ३९७ मत छ । यस आधारमा एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार मिश्रभन्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार राय ३९ हजार ९७९ मतले अघि देखिन्छन् ।

रौतहट–२ मा कांग्रेसका फिर्दोष आलम र जसपाका शैलेन्द्र साहबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २० हजार ४०७, एमालेको १६ हजार १५९, जसपाको ११ हजार ५२४, नेकपा एकीकृत समाजवादीको १० हजार २६७, माओवादीको ८ हजार २२३, लोसपाको ५ हजार २७३ र जनमत पार्टीको एक हजार २०७ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यस आधारमा यहाँ कांग्रेसका आलम १६ हजार ४८७  मतले अगाडि देखिन्छन् ।

यस्तै रौतहट–४ मा कांग्रेसका देवप्रसाद तिमलसेना र एमालेका उद्धव रेग्मी चुनावी मैदानमा छन् । यहाँ कांग्रेसको २४ हजार १५१, नेकपा एकीकृत समाजवादीको १५ हजार ५३४, माओवादी १५ हजार ३३, एमालेको १२ हजार ९७५, जसपाको ६ हजार १३४, राप्रपाको ६१२, जनमत पार्टीको ६०८ र लोसपाको ५५३ मत छ । स्थानीय तह निर्वाचनको उक्त मतका आधारमा रेग्मीभन्दा तिमलसेना ३६ हजार १६१ मतले अगाडि देखिन्छन् ।

बारा–१ मा कांग्रेसका उमाकान्त चौधरी र एमालेका अचुत मैनालीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको ३२ हजार ३५६, एमालेको २५ हजार ८०८, लोसपाको ९ हजार ५०५, माओवादीको ६ हजार ३४३, जसपाको ६ हजार १४३, राप्रपाको एक हजार ९७३, नेकपा एकीकृत समाजवादीको एक हजार ९४० मत छ । यस आधारमा कांग्रेसका चौधरी १८ हजार १९३ मतले अगाडि देखिन्छन् । 

पर्सा–२ मा कांग्रेसका अजयकुमार चौरसिया र जसपाका सुरेन्द्र कुर्मीबीच कडा टक्कर छ । यहाँ जसपा र एमालेबीच तालमेल छ । यो क्षेत्रमा कांग्रेसको २० हजार ८१९, एमालेको १६ हजार ९३५, जसपाको १५ हजार ३२८, लोसपाको ३ हजार ३१३, नेकपा एकीकृत समाजवादीको दुई हजार ९२ र माओवादीको एक हजार ९९५ मत रहेको स्थानीय तहको निर्वाचनबाट देखिन्छ । यस आधारमा कुर्मीभन्दा चौरसिया ४ हजार ४४ मतले पछाडि छन् ।

पर्सा–३ मा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी र एमालेका राजकुमार चौधरी प्रतिस्पर्धामा छन् । स्थानीय तहको निर्वाचन अनुसार यहाँ कांग्रेसको २४ हजार ११९, एमालेको २० हजार ६३, जसपाको १० हजार ७८७, लोसपाको २ हजार ८८७, माओवादीको २ हजार ७८०, नेकपा एकीकृत समाजवादीको एक हजार ४६०, राप्रपाको ५१० मत छ । यस आधारमा कांग्रेसका सुरेन्द्र ३९६ मतले मात्र अगाडि देखिन्छन् ।

पर्सा–४ मा कांग्रेसका रमेश रिजाल र एमालेका अलिम मिया मुख्य प्रतिस्पर्धी छन् । यहाँ कांग्रेसको २३ हजार ९१, एमालेको १८ हजार ११८, जसपाको १३ हजार ६२७, माओवादीको ५ हजार ८९६, लोसपाको २ हजार १२३, नेकपा एकीकृत समाजवादीको एक हजार ३३६, राप्रपाको ३८९ रहेको यहाँ रिजाल ७०१ मतले मात्र अघि रहेको स्थानीय तहको मत परिणामले देखाउँछ ।

बागमती प्रदेश

काभ्रे–२ मा कांग्रेसका शिवप्रसाद हुमागाइँ र एमालेका गोकुल बाँस्कोटाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको मत परिणामअनुसार यहाँ एमालेको ४५ हजार ५१४, कांग्रेसको ४५ हजार ४५६, नेकपा एकीकृत समाजवादीको ८ हजार ६७६, माओवादीको ६ हजार ३७० र राप्रपाको २ हजार ३५४ मत छ । यस आधारमा हुमागाइँभन्दा बाँस्कोटा १४ हजार ९८८ मतले पछि देखिन्छन् ।

ललितपुर–१ मा कांग्रेसका उदयशमशेर राणा र एमालेका नवराज सिलवालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।  यहाँ कांग्रेसको २३ हजार ८५४, एमालेको १८ हजार ९९३, माओवादीको ६ हजार १३३ र राप्रपाको एक हजार ७५७ मत रहेको स्थानीय तहको मत परिणामले देखाउँछ । यस आधारमा सिलवालभन्दा राणा १२ हजार २०६ मतले अघि देखिन्छन् ।

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा र एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको निर्वाचनका आधारमा यहाँ कांग्रेसको २५ हजार ७६४, एमालेको २४ हजार २८६, नेमकिपाको ४ हजार ९२५, राप्रपाको ४ हजार १७२, नेकपा एकीकृत समाजवादीको एक हजार २०२, माओवादीको एक हजार ४५ मत छ । त्यसैले बस्नेतभन्दा थापा ३ हजार ७२५ मतले अघि देखिएका छन् ।

काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहविरुद्ध एमालेले किरण पौडेललाई उम्मेदवार बनाएको छ । यहाँ राप्रपाका रवीन्द्र मिश्र र स्वतन्त्र उम्मेदवारलाई पनि प्रतिस्पर्धीका रुपमा हेरिएको छ । यो क्षेत्र अन्तर्गतका वडामा कांग्रेसको ९ हजार ८९५, एमालेको ९ हजार ५४१, राप्रपाको एक हजार ३७६ र माओवादीको एक हजार १५९ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यस आधारमा पौडेलको तुलनामा सिंह ३५४ मतले अगाडि देखिन्छन् ।

काठमाडौं–३ मा कांग्रेसका सन्तोष चालिसे र एमालेका कृष्ण राईबीच मुख्य प्रतिस्पर्धा हुने छ । यहाँ कांग्रेसको १५ हजार ७९५, एमालेको १४ हजार ८७६, माओवादीको एक हजार ७३०, राप्रपाको एक हजार ३१४, नेकपा एकीकृत समाजवादीको एक हजार ५६ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यस आधारमा एमालेको तुलनामा कांग्रेस एक्लै एक हजार ९७५ मतले अघि देखिन्छ ।

काठमाडौं–४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यहाँ एमालेको १६ हजार ५०७, कांग्रेसको १५ हजार ७६३, नेकपा एकीकृत समाजवादीको २ हजार ४१४, राप्रपाको २ हजार २९३, माओवादीको ८४४ र जसपाको ३१७ मत छ । यहाँ भट्टराईको तुलनामा थापा २५ सय १५ मतले अघि देखिन्छन् ।

काठमाडौं–५ मा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेललाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । स्थानीय तहको निर्वाचनका आधारमा यहाँ एमालेको १९ हजार ७०३, कांग्रेसको १४ हजार ८५३, राप्रपाको २ हजार ८२२, नेकपा एकीकृत समाजवादीको एक हजार ८२७, माओवादीको एक हजार १६८ र जसपाको ५८ मत छ । उक्त मत अनुसार पौडेलभन्दा पोखरेल एक हजार ८५५ मतले अघि देखिन्छन् । 

काठमाडौं–६ मा कांग्रेसका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनालबीच प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको १७ हजार २७७, एमालेको १४ हजार ३०३, माओवादीको २ हजार ४६२, नेकपा एकीकृत समाजवादीको एक हजार ८५९ र राप्रपाको एक हजार ८१६ मत छ । यस आधारमा प्रधान ६ हजार ३८० मतले अगाडि देखिन्छन् ।

काठमाडौं–१० मा कांग्रेसका राजेन्द्र कुमार केसी र एमालेका हिमेश केसीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तह निर्वाचन अनुसार यहाँ कांग्रेसको २४ हजार ६७५, एमालेको १८ हजार ८३८, माओवादीको ४ हजार ९४२, राप्रपाको २ हजार ४९६ र नेकपा एकीकृत समाजवादीको एक हजार ३४२ मत छ । यस आधारमा कांग्रेसको एकल मत नै एमालेको तुलनामा ७ हजार १६१ मतले बढी देखिन्छ ।

रसुवामा कांग्रेसबाट मोहन आचार्य र एमालेबाट छेवाङ तेञ्जेन तामाङ उम्मेदवार छन् । यहाँ कांग्रेसको ११ हजार ८३९, एमालेको ११ हजार ४०, माओवादीको ४ हजार ३९२ र जसपाको ५६८ मत देखिन्छ । यस आधारमा कांग्रेसका उम्मेदवार आचार्य ५ हजार १९१ मतले अघि देखिन्छन् । 

नुवाकोट–२ मा कांग्रेसका अर्जुननरसिंह केसी र एमालेका नारायण खतिवडा प्रमुख प्रतिस्पर्धीका रुपमा मैदानमा छन् । यहाँ कांग्रेसको २९ हजार ८६१, एमालेको २६ हजार ३७७, माओवादीको १६ हजार ६७, राप्रपाको २ हजार २११ र नेकपा एकीकृत समाजवादीको ९६१ मत छ । यस आधारमा कांग्रेसका केसी २० हजार मतले अघि देखिन्छन् ।

सिन्धुली–१ मा कांग्रेसका श्यामकुमार घिमिरे र एमालेका प्रदीप कटुवालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २९ हजार ८९, एमालेको २८ हजार ६२०, माओवादीको १३ हजार ३६९, राप्रपाको ३३२ र नेकपा एकीकृत समाजवादीको १८७ मत छ । यस आधारमा घिमिरेभन्दा कटुवाल १४ हजार २५ मतले पछि देखिन्छन् ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । यहाँ एमालेको ३१ हजार ७७६, कांग्रेसको २९ हजार ३०२, माओवादीको १६ हजार ७९, राप्रपाको ५ हजार ९३२, र नेकपा एकीकृत समाजवादीको एक हजार ६६३ मत छ । यस आधारमा यहाँ कांग्रेसका बस्नेत १७ हजार ७४२ मतले अघि देखिन्छन् ।

धादिङ–१ मा कांग्रेसका रामनाथ अधिकारी र एमालेका खेम लोहनीबीच कडा टक्कर हुने देखिन्छ । यहाँ कांग्रेसको २९ हजार ९६५, एमालेको २५ हजार ९३८, माओवादीको १४ हजार ३८०, राप्रपाको ५ हजार २८७, नेकपा एकीकृत समाजवादीको ३४५६, जसपाको एक हजार ६० मत छ । जसका आधारमा लोहनीलाई राप्रपाको समर्थन रहँदा पनि कांग्रेसका अधिकारी १६ हजार ५७६ मतले अघि देखिन्छन् ।

मकवानपुर–१ मा कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ र एमालेको चुनाव चिह्नबाट उम्मेदवार बनेका राप्रपा नेपालका कमल थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३८ हजार ५६, कांग्रेसको ३४ हजार ७२, माओवादीको १६ हजार ५४२, राप्रपाको ४ हजार ७०, नेकपा एकीकृत समाजवादीको ३ हजार २८३ मत छ । यस आधारमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी उपाध्याय १४ हजार ९४ मतले अघि देखिन्छिन् ।

चितवन–१ मा कांग्रेसका विश्वनाथ पौडेल र एमालेका सुरेन्द्र पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४ हजार ५९० र नेकपा एकीकृत समाजवादीको ४ हजार ५ मत रहेको स्थानीय तहको निर्वाचनले देखाएको छ । यस आधारमा गठबन्धनको साथ रहेका कांग्रेसका पौडेलभन्दा पाण्डे ९ हजार ६९० मतले पछि छन् । 

चितवन–२ मा कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा एमालेको ३५ हजार ५४३, कांग्रेसको २४ हजार ५३१, माओवादीको ७ हजार ३७४, नेकपा एकीकृत समाजवादीको ३ हजार ५६९, राप्रपाको २ हजार ११३ र जसपाको ५८ मत छ । यस आधारमा यहाँ सत्तारुढ गठबन्धनको तुलनामा एमाले ६९ मतले अगाडि देखिन्छ ।

रामेछापमा कांग्रेसका कान्छाराम तामाङ र एमालेका कैलाश ढुंगेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको ४१ हजार ५१, एमालेको ३९ हजार ३३, माओवादी २७ हजार ३९, नेकपा एकीकृत समाजवादीको एक हजार ५७० र राप्रपाको ९३५ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ, जसका आधारमा तामाङ ३० हजार ६२७ मतले अगाडि देखिन्छन् ।

 

गण्डकी प्रदेश

 

तनहुँ–१ मा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका एकबहादुर राना चुनावी मैदानमा छन् । उनीहरुलाई कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको पनि चुनौती छ । यहाँ कांग्रेसको ३३ हजार १०६, एमालेको २२ हजार २१०, माओवादीको ८ हजार ४७४, राप्रपाको एक हजार ७७५, नेकपा एकीकृत समाजवादीको ८९२ र जसपाको ५४ मत छ । यस आधारमा पौडेल २० हजार २६२ मतले अघि देखिन्छन् ।

यस्तै तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी र एमालेका किरण गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३० हजार ९६२, कांग्रेसको ३० हजार ६०६, माओवादीको ६ हजार ८३६, नेकपा एकीकृत समाजवादीको एक हजार २५२ र राप्रपाको ९५५ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ, जसका आधारमा भण्डारी ७ हजार ६३२ मतले अघि देखिन्छन् ।

स्याङ्जा–१ मा कांग्रेसका राजु थापा र एमालेका नारायण मरासिनीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको ३७ अजार ५१०, एमालेको ३६ हजार ८४५, माओवादीको एक हजार ९८४ र राप्रपाको एक हजार २ मत छ । जसका आधारमा कांग्रेसका थापा २ हजार २४९ मतले अघि देखिन्छन् ।

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ र एमालेकी पद्मा अर्यालबीच कडा टक्कर हुने देखिन्छ । यहाँ कांग्रेसको ३६ हजार ८०६, एमालेको ३४ हजार ८०९, माओवादीको एक हजार २४३, राप्रपाको ५११ र नेकपा एकीकृत समाजवादीको २३३ मत छ । यो तथ्यांकले गुरुङभन्दा अर्याल ३ हजार ४५३ मतले पछि देखिन्छिन् ।

नवलपुर–१ मा कांग्रेसका शशांक कोइरालाविरुद्ध एमालेका कृष्ण पौडेल चुनावी मैदानमा छन् । यहाँ कांग्रेसको ४० हजार ५११, एमालेको ३९ हजार ९५१, राप्रपाको २ हजार ३७३, माओवादीको एक हजार ९२१ र जसपाको १८८ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यसरी हेर्दा कांग्रेसका कोइराला २ हजार ४८१ मले अघि देखिन्छन् ।

पर्वतमा कांग्रेसका अर्जुन जोशी र एमालेका पदम गिरिबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको निर्वाचन अनुसार यहाँ एमालेको ३५ हजार ७१६, कांग्रेसको २९ हजार ३४४, माओवादीको ५ हजार ३६१, नेकपा एकीकृत समाजवादीको ५४६, राप्रपाको ४९३ मत छ । जसले गिरिभन्दा जोशी ४६५ मतले पछि देखिन्छन् ।

मनाङमा कांग्रेसका टेकप्रसाद गुरुङ र एमालेका पाल्तेन छापेन गुरुङबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ एमालेको एक हजार २५८ र कांग्रेसको एक हजार २२० मत छ । जसका आधारमा एमालेका गुरुङ ३८ मतले अघि देखिन्छन् ।

कास्की–१ मा कांग्रेसका किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको ३३ हजार ८३७, एमालेको ३० हजार १९६, माओवादीको ३ हजार २७८ र राप्रपाको एक हजार ८१८ मत रहेको स्थानीय तहको निर्वाचनले देखाएको छ । यो आँकडा अनुसार कांग्रेसका बराल ६ हजार ९१६ मतले अघि देखिन्छन् ।  

गोरखा–१ मा कांग्रेसका राजेन्द्र बजगाईँ र एमालेका रामशरण बस्नेत मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा छन् । यहाँ कांग्रेसको २७ हजार ८४, माओवादीको २५ हजार ४७२, एमालेको १४ हजार ५६६, जसपाको २ हजार ७५४, राप्रपाको २२७ र नेकपा एकीकृत समाजवादीको ७० मत छ, जसले सत्तारुढ गठबन्धनका बजगाईँभन्दा एमाले उम्मेदवार बस्नेत ४० हजार ९३४ मतले पछाडि पर्ने देखिन्छ ।

म्याग्दीमा कांग्रेसका खमबहादुर गर्जुवा र एमालेका हरिकृष्ण श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको २३ हजार २१०, कांग्रेसको २० हजार ३८, माओवादीको ८ हजार ५९३ र राप्रपाको २१७ मत छ, जसका आधारमा कांग्रेसका गर्जुवा ५ हजार ४२१ मतले अघि देखिन्छन् ।

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र एमालेका प्रेम तुलाचनबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यहाँ एमालेको ३ हजार १२८, कांग्रेसको २ हजार ७४२ र राप्रपाको १८ मत छ । यहाँ कांग्रेसको तुलनामा एमाले ३८७ मतले अघि छ । 

नवलपुर–२ मा कांग्रेसका विष्णु कुमार कार्की र एमालेका तिलक महतबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ४१ हजार ७९८, कांग्रेसको ३८ हजार ६१९, राप्रपाको २ हजार ३५५, माओवादीको एक हजार ७४२, जसपाको ३०३ र नेकपा एकीकृत समाजवादीको २१४ मत छ । यस आधारमा कार्कीभन्दा महत एक हजार २२३ मतले अघि देखिन्छन् ।

लुम्बिनी प्रदेश

गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच कडा टक्कर हुने देखिन्छ । स्थानीय तह निर्वाचनले यहाँ एमालेको ३५ हजार ७०१, कांग्रेसको ३१ हजार २९४, माओवादीको ४ हजार ९७०, राजमोको एक हजार ६०० र नेकपा एकीकृत समाजवादीको ४९७ मत देखाउँछ । जसका आधारमा ज्ञवालीभन्दा कांग्रेसका भण्डारी २ हजार ६६० मतले अघि देखिन्छन् ।

नवलपरासी–१ मा कांग्रेसका विनोद चौधरी र एमालेका साथ पाएका जनता प्रगतिशील पार्टीका हृयदेश त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको ३० हजार ३४२, एमालेको २६ हजार ७७९, राप्रपाको ६ हजार ६८७, माओवादीको ५ हजार ३४७, जसपाको ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीको एक हजार १४१ र लोसपाको १०० मत छ । ३ हजार मत भएका त्रिपाठीलाई एमालेले समर्थन गर्दा पनि कांग्रेसका चौधरी ६ हजारभन्दा बढी मतले अघि देखिन्छन् । 

नवलपरासी–२ मा कांग्रेसका देवेन्द्रराज कँडेल र एमालेका दिपेन्द्र अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत रहेकाले कांग्रेसका कँडेल १६ हजार ९६० मतले अघि देखिन्छन् ।

रुपन्देही–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका बालकृष्ण खाण र एमालेसँगको तालमेलबाट राप्रपाका दिपक बोहोरा उम्मेदवार छन् । यहाँ कांग्रेसको ३४ हजार १५३, एमालेको २९ हजार ४८, राप्रपाको १३ हजार ३९७, जसपाको ६ हजार १८३, माओवादीको २ हजार ८८१, लोसपाको २ हजार १७४ र नेकपा एकीकृत समाजवादीको ९७७ मत छ । यस आधारमा बोहोराभन्दा खाण ६ हजार ४६१ मतले पछाडि देखिन्छन् । 

रुपन्देही–४ मा कांग्रेसका प्रमोद यादव र लोसपाका सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ जनमत, एमाले, जसपा लगायत एक्लाएक्लै चुनावी मैदानमा छन् । यहाँ लोसपाको १६ हजार २२६, कांग्रेसको १५ हजार ६२७, जनमत पार्टीको ७ हजार ७३४, एमालेको ७ हजार ६०५, जसपाको ७ हजार ४९७, राप्रपाको ५ हजार ६९९, माओवादीको ३ हजार ८०२ र एकीकृत समाजवादीको एक हजार १९८ मत छ । गठबन्धन बाहिर रहेका शुक्लाभन्दा माओवादी र एकीकृत समाजवादीको साथ पाएका यादव ४ हजार ४०१ मतले अघि देखिन्छन् ।

रुपन्देही–५ मा कांग्रेसका भरतकुमार शाह र एमालेका बासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको २७ हजार १४५, कांग्रेसको २६ हजार ८८८, जसपाको ९ हजार ३३७, जनमत पार्टीको ५ हजार ६५६, माओवादीको ४ हजार ६२५, लोसपाको ३ हजार ५५६, राप्रपाको २ हजार ८१३, नेकपा एकीकृत समाजवादीको एक हजार १६३ मत छ । यहाँ एमाले र जसपाले तालमेल नगरेका कारण कांग्रेसका शाह माओवादी र एकीकृत समाजवादीको मतसहित ५ हजार ५३१ मतले अगाडि देखिन्छन् ।

कपिलवस्तु–२ मा कांग्रेसका सुरेन्द्र आचार्य र एमालेका बृजेशकुमार गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको निर्वाचन अनुसार यहाँ सत्तारुढ गठबन्धन एक हजार ९४२ मतले अघि देखिन्छ । यहाँ कांग्रेसको ३० हजार ९९८, एमालेको २७ हजार २९८, जसपाको ६ हजार ९०८, लोसपाको ६ हजार ३८६, माओवादीको ४ हजार ४५९, राप्रपाको २ हजार ३५ र नेकपा एकीकृत समाजवादीको ६९१ मत छ । 

कपिलवस्तु–३ मा कांग्रेसका अभिषेकप्रताप शाह र एमालेका मंगल गुप्ता चुनावी मैदानमा उत्रिएका छन् । यहाँ एमालेको १८ हजार ७४७, कांग्रेसको १५ हजार ७७०, जसपाको ९ हजार ९७४, माओवादीको ६ हजार ८४४, राप्रपाको ६ हजार ७४, लोसपाको ४ हजार ६७५ र नेकपा एकीकृत समाजवादीको एक हजार ९८६ मत छ । यस आधारमा कांग्रेसका शाह १० हजार ५२८ मतले अगाडि छन् ।

अर्घाखाँचीमा कांग्रेसकी पुष्पा भुसाल र एमालेका टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ४८ हजार २६०, कांग्रेसको ३७ हजार ९२५, माओवादीको ७ हजार ७९०, राजमोको ४ हजार २९४ र नेकपा एकीकृत समाजवादीको ३ हजार ७६३ मत छ । जसका आधारमा रायमाझीभन्दा भुसाल ५ हजार ५१२ मतले अघि छिन् ।

दाङ–३ मा कांग्रेसका दिपक गिरि र एमालेकी कोमल वलीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८०, नेकपा एकीकृत समाजवादीको एक हजार ९३८, राप्रपाको एक हजार ४४४ र जसपाको १८२ मत छ । जसका आधारमा वलीभन्दा गिरि ७ हजार  १४९ मतले अघि देखिन्छन् ।

बाँके–२ मा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । कांग्रेसका सुदिपनरसिंह राणा, राप्रपाका धवलशम्शेर राणा, जसपाका ईस्तियाक राईबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । यहाँ कांग्रेसको १८ हजार ३७, एमालेको १५ हजार ४७८, जसपाको १३ हजार ८०९, राप्रपाको ८ हजार ४९४, माओवादीको ६ हजार ८५९, नेकपा एकीकृत समाजवादीको ८२१, लोसपाको ५६४ मत छ । राप्रपाका राणालाई एमालेको साथ हुँदा पनि कांग्रेसका राणा २ हजार ३६९ मत अघि देखिन्छन् ।

बाँके–३ मा कांग्रेसका किशोरसिंह राठौर र एमालेका किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २५ हजार ६८९, एमालेको २२ हजार १५९, माओवादीको १४ हजार ८१८, राप्रपाको ४ हजार ६४१, जसपाको ४ हजार १९९, नेकपा एकीकृत समाजवादीको २ हजार ३४८ र लोसपाको एक हजार ३७ मत छ । जसका आधारमा राठौर २० हजार मतले अगाडि देखिन्छन् ।

यस्तै बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतम र एमालेका लक्ष्मण ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३६ हजार ८१२, कांग्रेसको ३४ हजार ६२२, माओवादीको २४ हजार ३४१, राप्रपाको ३ हजार १९०, जसपाको २ हजार २३७, नेकपा एकीकृत समाजवादीको एक हजार ६५२ र लोसपाको १५६ मत छ । स्थानीय तहको निर्वाचन अनुसार गौतम २३ हजार ८०३ मतले अगाडि देखिन्छन् ।

यस्तै पाल्पा–१ मा कांग्रेसका ज्ञानबहादुर गाहा र एमालेका नारायणप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३४ हजार ७७१, कांग्रेसको २७ हजार १५०, माओवादीको एक हजार १६४ र राप्रपाको २२३ मत छ । जसका आधारमा गाहाभन्दा आचार्य ६ हजार ४५७ मतले अघि देखिन्छन् ।

कर्णाली प्रदेश

मुगुमा कांग्रेसका ऐन बहादुर शाही र एमालेका राजु कार्कीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ९ हजार ८९४, कांग्रेसको ८ हजार ९४९, माओवादीको ३ हजार ८७६ र नेकपा एकीकृत समाजवादीको एक हजार ४८५ मत छ । गठबन्धनको मत जोड्दा कांग्रेसका शाही ४४१६ मतले अघि देखिन्छन् ।

सुर्खेत–१ मा कांग्रेसका पूर्णबहादुर खड्का र एमालेका ध्रुवकुमार शाहीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको ३६ हजार ९२८, एमालेको ३४ हजार ८४३, माओवादीको ५ हजार ७५, राप्रपाको ६६४ र नेकपा एकीकृत समाजवादीको ६३४ मत छ । जसका आधारमा खड्का ७ हजार ७९४ मतले अघि देखिन्छन् ।

सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी र एमालेका अमृतबहादुर बुढा क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३० हजार ४६९, कांग्रेसको २९ हजार ५४०, माओवादीको ११ हजार ६६१, राप्रपाको ३ हजार ४९७ र नेकपा एकीकृत समाजवादीको २ हजार ६२ मत छ । यो आँकडाले थानी १० हजार ८९५ मतले अघि देखिन्छन् ।

यस्तै दैलेख–२ मा कांग्रेसका दिक्पाल शाही र एमालेका लक्ष्मी पोखरेल  मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा छन् । यहाँ कांग्रेसको २० हजार ३४४, एमालेको १९ हजार ६१, नेकपा एकीकृत समाजवादीको ५ हजार ५२९, माओवादीको ३ हजार १७५ र राप्रपाको ९७६ मत छ । यसरी कांग्रेसका शाहीभन्दा एमालेका पोखरेल ५ हजार २९५ मतले पछि देखिन्छन् ।

सुदूरपश्चिम प्रदेश

डडेल्धुरामा कांग्रेसका शेरबहादुर देउवाविरुद्ध कांग्रेस (बीपी)का कर्णबहादुर मल्ल मुख्य प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसको २१ हजार ७३५, माओवादीको १२ हजार ८७८, एमालेको १० हजार ४४९, नेकपा एकीकृत समाजवादीको ५ हजार ४१, कांग्रेस (बीपी)को ३ हजार ५४२, राप्रपाको ७१४ र जसपाको १५६ मत छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत जोड्दा ३९ हजार ६५४ हुन आउँछ । यहाँ एमाले र नेपाली कांग्रेस (बीपी)को मत एक ठाउँमा राख्दा पनि देउवा २५ हजारभन्दा बढी मतले अघि देखिन्छन् । 

बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच कडा टक्कर हुने अनुमान गरिएको छ । यहाँ एमालेको २७ हजार ८४४, कांग्रेसको २४ हजार ३०४, माओवादीको ४ हजार २२९, नेकपा एकीकृत समाजवादीको एक हजार ६८९ र राप्रपाको १७२ मत छ । यस आधारमा कांग्रेसका पाण्डेभन्दा एमालेका थापा ३ हजार ३७८ मले पछि देखिन्छन् ।

दार्चुलामा कांग्रेसका दिलेन्द्र बडू र एमालेका गणेश ठगुन्नाबीच कडा टक्कर हुने देखिन्छ । यहाँ एमालेको २९ हजार ३९७, कांग्रेसको २१ हजार ५५४, माओवादीको ७ हजार ८८१, राप्रपाको १७७ र एकीकृत समाजवादीको १७१ मत छ । यस आँकडा अनुसार बडू २०९ मतले मात्र अघि छन् ।

अछाम–२ मा कांग्रेसका पुष्प शाह र एमालेका यज्ञबहादुर बोगटीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । स्थानीय तह निर्वाचन अनुसार यहाँ कांग्रेसले १९ हजार ३३९, एमालेले १७ हजार ९८७, माओवादीको ६ हजार ४४१ र एकीकृत समाजवादीको २ हजार १७५ मत छ । जसका आधारमा कांग्रेसका शाह ९ हजार ९९७७ मतले अघि देखिन्छन् ।

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद र एमालेका नरबहादुर धामीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २२ हजार ३७९, एमालेको १८ हजार ८२८, माओवादीको १२ हजार ५७२, नेकपा एकीकृत समाजवादीको ४ हजार १६१ र राप्रपाको ३ हजार ९५३ मत छ । जसका आधारमा साउद २० हजार मतले अघि देखिन्छन् । 

यस्तै कञ्चनपुर–३ मा कांग्रेसका रमेश लेखक र एमालेकी निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २१ हजार ७७२, एमालेको १६ हजार ११७, राप्रपाको ६ हजार ५०३, माओवादीको ५ हजार ९८१ र नेकपा एकीकृत समाजवादीको ३ हजार १२ मत छ । जसले पालभन्दा लेखक ८ हजार १४५ मतले अघि देखाएको छ ।

कैलाली–१ मा कांग्रेसका रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीका रंजिता श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीको १७ हजार १९३, कांग्रेसको ११ हजार ६७८, एमालेको १० हजार ३२२, माओवादीको ६ हजार ९३०, राप्रपाको ३ हजार ५६१, जसपाको २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीको २ हजार २३२ मत रहेको स्थानीय निर्वाचनले देखाउँछ । जस आधारमा चौधरी ३ हजार ६४७ मतले अघि देखिन्छन् । यहाँ एमाले–जसपाको गठबन्धन तेस्रो स्थानमा छ ।

कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायर र एमालेका लेखराज भट्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २२ हजार ९९७, एमालेको २० हजार ८१, माओवादीको १० हजार १२३, नेकपा एकीकृत समाजवादीको ४ हजार २९, राप्रपाको ३ हजार २३४, नागरिक उन्मुक्ति पार्टीको १६४ र जसपाको ६४ मत छ । यो आँकडाले भट्टभन्दा बलायर १७ हजार मतले अघि देखाउँछ ।

कैलाली–५ मा कांग्रेसका डिल्लीराज पन्त र एमालेका नारदमुनी रानाबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २२ हजार ७७९, एमालेको १७ हजार ४२०, माओवादीको ८ हजार १७५, नेकपा एकीकृत समाजवादीको २ हजार ९, राप्रपाको एक हजार ७९७, नागरिक उन्मुक्ति पार्टीको ६५९, लोसपाको ३०२ र जसपाको १५० मत छ । जसका आधारमा पन्त १५ हजार ३९३ मतले अगाडि देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप