सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

सत्यमोहन जोशी भन्नुहुन्थ्यो, ‘म निर्वाणमा होइन, बोधिसत्वमा रहन चाहन्छु’

बिहीबार, ०३ कात्तिक २०७९, १२ : ५०
बिहीबार, ०३ कात्तिक २०७९

आइतबार (३० असोज) बिहान म उठ्दा उहाँ (शताब्दी पुरुष सत्यमोहन जोशी) चीरनिद्रामा सुतिसक्नुभएछ । म उठे ७ः३९ मा । उहाँ ७ः०९ मै सुतिसक्नुभएछ । त्यसपछि त के भयो भयो । बिहान बिहानजस्तो लागेन । घाम घामजस्तो लागेन । सहर सहरजस्तो लागेन । मनै नरमाइलो भयो । 

उहाँ मेरो कोही आफन्त पर्नु हुँदैन । तर आफ्नो मान्छेको मृत्यु भएझैँ नरमाइलो लाग्यो । देशको साझा मान्छे, देशको पिताका रूपमा मानिनुभएका आदरणीय सत्यमोहन जोशीसँग धेरैका धेरै सम्झना होलान् । मेरो पनि कति छन् कति सम्झनाहरू ।

जीवन र समय एकापसमा बाँधिएका हुन्छन् । जीवन चलेकाले समय र समय चलेकाले जीवन चलेको हुन्छ । तर एक दिन जीवन समाप्त हुन्छ, समय चलिरहन्छ । हरेकको जीवनमा हुने त्यो कुरा आज सत्यमोहन जोशीकोमा लागू भयो । 

उहाँको जीवन समाप्त भयो तर समय चलिरहेछ । मलाई भने आज समय चलिरहेझैँ लाग्दै लागेन । मन नै एकतमास भएर आयो । १०३ वर्ष सानो उमेर होइन । तर उहाँको पञ्चेन्द्रीय र कर्मेन्द्रीयको सक्रियताले हामीलाई उहाँ अझै बाँचिदिनु भए हुने भन्ने लागिरह्यो । अनि उहाँले गरेको राष्ट्रप्रतिको भगिरथ कार्यले उहाँ अझै यो संसारमा रहेको हेर्न पुगेकै थिएन । 

मृत्यु छ नै त्यस्तै, त्यसले धेरैका धेरै रहर निमोठिदिएको हुन्छ । मेरो पनि सत्यमोहनसँगका अनगिन्ती सम्झना भए पनि अझ केही रहर थिए । ती निमोठिए । 

मलाई पृथ्वी र मान्छे अप्रत्याशित, अनौठो, आश्चर्यचकित र रोचक लाग्दछ । सत्यमोहन जोशी पनि यो पृथ्वीको त्यस्तै अनौठो, आश्चर्यचकित, अप्रत्याशित मान्छे हुनुहुन्थ्यो । उहाँलाई अलजजिरा टेलिभिजनले एसयाकै बलियो मान्छे भनेर केही वर्षअगाडि भनेको थियो । 

लेखनकुञ्जको सक्रियतामा गत वर्षको शिवरात्रिको दिन पश्चिमी संस्कृतिका लागि घोर आश्चर्य लाग्ने र हामीलाई पनि छक्क पार्ने एक कार्यक्रम उहाँको घरमा भएको थियो । त्यो हो, ८४औँ वैवाहिक वार्षिकोत्सव । आमा राधादेवी र बा सत्यमोहनलाई दुबोको माला लगाएर कोसेली र दक्षिणा त्यहाँ भए जतिले चढाएर कोरोनाको कहरमा चुपचाप बस्नुभएका बा र आमालाई खुसी दिँदा आमा राधादेवी झन् बढी खुसी हुनुभएको क्षण सम्झे । त्यतिबेला नै सत्यमोहन बाको मुख सोहोरिएको थियो । अलि सञ्चो छैन, कुन बेला फुस्स हुने हो भन्नुहुन्थ्यो । मनमा मृत्यु खेलिरहेको रहेछ । हामीलाई के थाहा र ! 

कालको हाल नै बेहाल हुन्छ । हामी योजना बनाउँछौँ ऊ ह्वात्तै आएर हामीलाई लथालिंग पारेर जान्छ । आइतबारको बिहान यस्तै भयो । 

१९७७ वैशाख ३० गते जन्मनुभएका उहाँ कसरी दीर्घायु हुनुभयो ? सबैको चासो यही हुन्थ्यो । उहाँमाथि लेखिएका धेरैका आलेख यिनै प्रश्न वरपर घुम्थे । नाटक, संस्कृति, सांस्कृतिक कुराहरूमै उहाँको बारेमा लेखिन्थे । पटकपटक साहित्यको टोली लिएर जाँदा होस् वा किताब लोकार्पण गर्न बोलाउँदा होस्, मान्छेहरूले उहाँलाई यो कुरा निःसंकोच सोध्दथे । 

दीर्घ जीवनका लागि योग, ध्यान, प्राणायाम, यो खाने, त्यो नखाने भनेर वैद्य, डाक्टर र योगगुरुले दिने प्रवचन र पुस्तक जस्तो उहाँको जीवन थिएन । उहाँको आफ्नै प्रकारको जीवन थियो । जुन हेरेर डाक्टर, योग गुरु र वैद्यहरूले आफ्नो परिभाषा बदल्नुपर्ने खालको थियो । 

बाँचुन्जेल चिनी हालेको चिया, जेरी स्वारी मिठो मानेर खाने उहाँले एक दिन मलाई छक्कै पार्नुभयो । 

सायद त्यतिबेला उहाँ ९७ वर्षको हुनुहुन्थ्यो । मैले सम्झेँ मकै त के खानुहोला र ! उहाँसँगै अतिथिको रूपमा आउनुभएको पूर्वमन्त्री प्रदीप ज्ञवालीलाई मात्र मकै खाने भनेर सोधियो । सँगै आउनुभएका उहाँलाई सोध्नु कर्तव्य नै हो भनेर उहाँलाई पनि सोधेको खाने भन्नुभयो र एक ढकी मकै प्रदीप ज्ञवालीभन्दा अगाडि नै खानुभयो । दाँत पनि मज्जैका रहेछन् भन्ने त्यतिबेला थाहा पाएँ । 

न लट्ठी टेक्ने, न कानमा केही राखेर सुन्नुपर्ने, न आँखामा चस्मा, न केही कुरा बिर्सने डर, गजबकै शरीर व्यतीत गरेर उहाँ जानुभयो । अनेकौँ इतिहास बनाउनुभएका एक इतिहास सत्यमोहन जोशी नामजस्तै शाश्वत सत्यमा जानुभयो । आफैँ एक इतिहास भएको संस्कृतिको धरोहर सुसंस्कृत सत्यमोहनजस्तो मान्छे नेपाली समाजमा दुर्लभ हो । 

दुर्लभ मान्छेको दुर्लभ दर्शन गर्न म कोरोनाकालमा खुब गइरहेँ । सुरुसुरुमा मान्छे देखेर मान्छे डराउने कोरोनाको समयले उहाँलाई अत्याएको थियो । मान्छेसँग कुरा गर्न मन पराउने र लोकार्पण कार्यक्रमहरू गर्ने उहाँ त्यो सुनसान जीवन मन पराइरहनुभएको थिएन । एक दिन कोरोनाकालमा उहाँले मान्छेहरू टन्नै राखेर बिनामास्क गफ गरेको देखेर म छक्कै परेँ । त्यो कोरोनाको समयमा पनि आउनु न भन्नुहुन्थ्यो, म बेलाबेला जान्थे । कोरोना धेरै बेर रह्यो । अनि किताबहरू पनि लोकार्पण गर्नुभयो । भूमिका पनि लेखिदिनुभयो । सबै किताब आद्योपान्त पढेर त्यसमा बोल्ने उहाँको शैली गजबै थियो । 

साहित्यको टोली लिएर उहाँको घरमा गएका बेला एक दिन उहाँले यस्तो विद्वत प्रवचन दिनुभयो । सिर्जनात्मक लेखन प्रशिक्षणका साथीहरू छक्क पर्नुभयो, मै पनि छक्क परेँ । कहिलेकाहीँ मान्छेले बोल्दा अमृतवाणी आउँछ । उहाँको त्यो समयको बोली त्यस्तै थियो । 

उहाँले भन्नुभएको थियो, ‘म निर्वाणमा होइन, बोधिसत्वमा रहन चाहन्छु ।’ यो लाइनले मलाई निकै छोयो । उहाँले त्यो दिन बिहान घामको उज्यालोमा दिनुभएको त्यो प्रवचन आज पनि मेरो जीवनमा घामजस्तै बनेर उदाइरहेछ । 

उहाँले भन्नुभएको थियो, ‘निर्वाणमा पुगेको मान्छेले आफ्नो अगाडि बिमार व्यक्ति नै भए पनि छाडेर हिँड्छ, म त्यसो गर्न सक्दिनँ, म त्यो मान्छेलाई अस्पताल लैजान चाहन्छु । निर्वाणमा पुगेको मान्छे दुःखी मान्छे भेट्दा, अप्ठेरोमा परेको मान्छे भेट्दा उसको कर्म त्यस्तै हो भन्छ र आफ्नो बाटो लम्कन्छ, म त्यसो गर्न सक्दिनँ, म सकेसम्म उसको समस्या हल गर्न चाहन्छु । म मेरा आँखाले देखेको कुरालाई बिर्सेर निर्वाणमा जान चाहन्नँ, म बोधिसत्वमै रहन चाहन्छु र उनीहरूको सेवा गर्न चाहन्छु ।’ 

साहित्यको कुरा सुन्न गएको सिर्जनात्मक लेखन कक्षा १३औँ ब्याचका साथीहरू माझ सत्यमोहन जोशीले किन त्यसो भन्नुभयो मै छक्क परेँ । 

मानव विकासको क्रम र मान्छेले गर्न सक्ने कुरा सुनको अण्डा दिने कुखुराको कथामा जोडेर उहाँले भन्नुभयो, ‘मान्छेको जीवन केही पनि छैन, सबै कुरा छ । सुनको अण्डा दिने कुखुरालाई काटेर हेर्दा भित्र अण्डा देखिँदैन, तर दैनिक अण्डा पार्ने कुखुराजस्तै मान्छे हो । हरेक दिन मान्छे विकास भइरहेको हुन्छ । तपाईं कहाँ, के, कहिले, कसो गर्ने निश्चित योजना बनाएर त्यो अनुसार लाग्ने हो भने हरेक मान्छे सुनको अण्डा दिने कुखुराजस्तै हो तर काटेर हे¥यो भने केही हुँदैन, उही कुखुराको जस्तै रगत, मासु र नबनेका अण्डा जस्तै नै हो मान्छे ।’ 

आफूले पनि लामो जीवन एकै क्षेत्रमा निरन्तर अविरल लागिरहेकाले यस्तो बन्न सकेको उहाँको भनाइ थियो । 

धेरै छन् कुरा । धेरै कुरा त बाहिर पनि आइसकेका छन् । पुस्तक नै मात्र धेरैजनाले लेखिसक्नुभयो । सानो कुराले पूरै जीवन प्रभावित हुन्छ । उहाँ पनि जुरेलीको दर्शनबाट प्रभावित भएर, विकट कर्णालीमा ज्यानको जोखिम लगाएर गएको भएर र आफैँ आफ्नै प्रेरणाले अगाडि बढ्दै आज नेपाली माझ परिचित हुनुभयो । संसारमाझ परिचित हुनुभयो । आफ्नो नामको अगाडि अनेक विशेषण जोड्ने बनाएर यो धर्तीबाट बिदा हुनुभयो । 

साँच्चै नै सत्यमोहन बुद्ध बन्ने अधिकारी भइसकेको तर बुद्धत्व प्राप्त नभएको बोधिसत्वमै रहेको व्यक्ति हुनुहुन्थ्यो । उहाँले भनेझैँ आफू बोधिसत्वमै रहेर आज जानुभयो । धेरैको मनमा धेरै कुरा छाडेर । उहाँप्रति हार्दिक श्रद्धाञ्जलि र श्रद्धासुमन ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल ढकाल
कमल ढकाल
लेखकबाट थप