शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी, कर्णालीमा खटपट

शुक्रबार, ०६ साउन २०७९, २२ : २१
शुक्रबार, ०६ साउन २०७९

आज मिति २०७९ साल साउन महिनाको ५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ ।

१. नागरिकता विधेयक पास

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो । प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टी सो विधेयकको विपक्षमा रहेका थिए ।

प्रतिपक्षी दलले वैवाहिक अंगीकृत नागरिकतालाई ७ वर्ष समय राख्नुपर्ने भन्दै  विधेयकको विपक्षमा मतदान गरेका हुन् । सत्तापक्ष तथा प्रतिपक्षी दलका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका थिए ।

 


२. मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । गर्भनर अधिकारीले चालू वर्षको मौद्रिक नीति नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी ल्याइएको बताए ।

​३. नामकरणको सकस

 

प्रदेश १ को नामकरणको विषयमा सहमति जुटाउन बसेको सर्वदलीय बैठक यसअघिको बैठक भन्दा ‘फितलो’ भएको सहभागीले बताएका छन् । सरकारका तर्फबाट यसअघि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सर्वदलीय बैठक बोलाएकामा शुक्रबार भने सभामुख प्रदीप कुमार भण्डारीले बोलाएका हुन् ।

​मुख्यमन्त्रीले बोलाएको बैठकमा नेताहरुबीच चर्काचर्की भएको थियो । तर, सभामुखले बोलाएको बैठकमा फितलो संवाद भएको सहभागी एक नेताले बताए । ‘यो बैठक अस्तिको जति प्रभावकारी पनि भएन, नेताहरूबाट नामबारे ठोस कुरा आएन,’ ती नेताले भने ।

 

बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले अहिलेको संसदले पहिचानसहितको नाम राख्न नसके अर्को संसदलाई जिम्मा दिन आग्रह गरेका थिए । यसअघि उनले यही संसदले प्रदेशको नामकरण गर्ने बताउँदै आएका थिए । तर, शुक्रबारको बैठकमा भने उनी यूटर्न हुँदै सहमति नभए अर्को संसदलाई जिम्मा लगाउने तर्फ तन्किएका हुन् ।

​४. ओली र प्रचण्डको दाबी

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको केन्द्रीय विभागमा न्यायाधीश नै रहेको बताएका छन् । ‘सवै ठाउँमा काँग्रेस त छन् नि न्यायालयमा काँग्रेस छन् । काँग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन ? राजीनामा दिएको त सुनिएन’, ओलीले भने, ‘म भन्दिनँ कुन कुन परिवारका सदस्य भनेर ।’

शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानको अन्तरक्रियामा पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले ल्याएको बजेट भ्रष्ट भएको टिप्पणी पनि गरे ।

 

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व माओवादी केन्द्रले गर्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै आगामी संघ र प्रदेशको निर्वाचनमा  माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताए ।

​५. राप्रपा बैठकमा लिङ्देनको आलोचना

 

राप्रपाका केन्द्रीय सदस्यहरुले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना गरेका छन् । उनीहरुले जायज विषयमा नेतृत्वको आलोचना गर्दासमेत अध्यक्ष लिङ्देनले कतिपय कार्यकर्तालाई धम्क्याउने तथा कालोसूचीमा राख्ने गरेको भन्दै युवा केन्द्रीय सदस्यहरुले आलोचना गरेका हुन् ।

​६. कर्णालीमा टकराव

 

कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस बीचको टकराव कायमै छ । मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली ठिक नभएको र एकलौटी तरिकाले अघि बढ्न खोजेको भन्दै माओवादी केन्द्रले संसद बहिस्कार गरेको थियो ।

बुधबार बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुङ्गियो भने सत्ताधारी दुई दलका नेताहरुबीच आरोप–प्रत्यारोपको शृङ्खला जारी छ । बुधबार सर्वदलीय बैठकमा सहभागी हुनुभन्दा अघि माओवादीले संसदीय दलको बैठक बोलाएर मुख्यमन्त्रीको कदम सत्तारुढ दल भन्दा पनि प्रतिपक्षसँग सौहार्दपूर्ण देखिएको र पूर्ववर्ती सरकारले ल्याएका कदमविरुद्ध अग्रसर भएको निष्कर्ष निकालेको थियो ।

​७. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

 

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादीले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेका हुन् ।

काँग्रेस र माओवादीबीच सुरुमा आलोपालो सरकार चलाउने भद्र सहमति भएपनि पछिल्लो समय मुख्यमन्त्री फेरिँदा अन्य प्रदेशमा पनि समस्या आउने भएको भन्दै मुख्यमन्त्री यथावत् राखेर मन्त्रीहरू परिवर्तन गर्न दुवै पार्टी सहमत भएका हुन् । काँग्रेसले हालका मन्त्रीहरू हटाएर नयाँ अनुहार ल्याउन शीर्ष नेताहरू पटक पटक छलफल भएको लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकुद्धिन खाँनले रातोपाटीलाई बताए ।

​८. बीमाको सवाल

 

संसदीय समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले क्याबिनेटमा प्रतिप्रस्ताव लगेर भएपनि सो बीमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या तत्काल हल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

​९. अस्ट्रेलिया जाँदै प्रधानसेनापति

 

प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भ्रमणमा जाँदै छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने  रक्षा प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी हुन शर्मा अष्ट्रेलिया भ्रमणमा जान लागेका हुन् ।

प्रधानसेनापति शनिवार अष्ट्रेलिया प्रस्थान गर्ने सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।

​१०. र, यो पनि...

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले पटकपटक नागरिकता विहीनलाई नागरिकता दिलाउने प्रतिबद्धता गरेको स्मरण गरे।

​गृह मन्त्रालयले बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको पदस्थापन गरेको छ । गृहमन्त्री स्तरको निर्णयअनुसार एसएसपी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 

​पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८३८ को नमुना परीक्षण गरिएकोमध्ये आरटी पिसिआर विधिबाट ३८४ र एन्टीजेन विधिबाट ७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । 

 

​नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । हेटौँडामा अहिले उद्घाटन सत्र चलिरहेको छ ।

निर्वाचन आयोगले दर्ता नगरी फर्काइदिएको ‘चिया पार्टी’ को नाम परिवर्तन गरेर पुनर्जागरण परिवर्तन पार्टी नेपाल बनाइएको छ । पार्टीको झण्डामा फिनिक्स चराको पृष्ठभूमिमा रातो, पहेँलो र हरियो रंग राखिएको छ । 

​महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीबीच गठबन्धन बनाउनेबारे गृहकार्य सुरु भएको छ ।

​फेसबुकबाट भएको चिनजान बलात्कारसम्म पुगेपछि एक युवा प्रहरी हिरासतमा पुगेका छन् । युवतीलाई फेसबुकमार्फत चिनजान गरेर भेट्न बोलाइ बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट घर भइ राजधानीमा व्यवसाय गर्दै आएका मधुसुदन पाण्डेलाई पक्राउ गरेको हो । 

​सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा बैंकर एवं घरजग्गा व्यवसायी इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छिन् । गत मंगलबार दिउँसो रामशाह पथबाट पक्राउ परेकी श्रीमती शाक्यलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल चलान भएकी हुन् । उनलाई भद्रगोल जेल, महिला सेलमा लगिएको छ ।

​थप समाचार​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप