शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘विदेशीलाई नागरिकता नबेचियोस्, दिनुअघि जाँच लिइयोस् !’

शुक्रबार, ०६ साउन २०७९, १७ : ५९
शुक्रबार, ०६ साउन २०७९

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली नागरिकता विधेयकबारे छलफल चलिरहेको छ । ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यका साथ छलफल भइरहेको छ । 

नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसदहरुले आफ्नो राय प्रस्तुत गरेका छन् । नेकपा एमालेका सांसद लालबाबु पण्डितले नेपालले नेपाली नागरिकता बेच्न नहुने बताए ।  संशोधन विधेयकमाथिको संशोधन प्रस्ताव पेश गर्दै उनले नेपाली नागरिकता दिने प्रावधान सजिलो बनाउने नाममा बेच्न नहुने बताएका हुन् ।

 ‘नागरिकता लुरुलुरु आयो, खुरुखुरु आयो भन्ने हिसाबले पनि बुझ्नुहुँदैन । दोहोरो नागरिकता कुनैपनि हालतमा सम्भव छैन’, पण्डितले भने, ‘नेपालमा जाली प्रमाण दिएर नागरिकता लिनेहरुको सरकारले खारेज गर्दै आएको छ । वैवाहिक अंगिकृतलाई ७ वर्षको प्रावधान राख्नुपर्छ ।’ उनले नेपाली चेली भारतमा विवाह गरेर जाँदा उनीहरुलाई सात वर्ष कुर्नुपर्ने त्यहाँ व्यवस्था भएको भन्दै हामीले त्यो भन्दा छिटो कसैलाई नागरिकता दिन जरुरी नभएको बताए । 

यस्तै एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । कविता पढ्दै उनले नागरिकता विधेयक ल्याउँदा अवधि नै नराखेर  ल्याएको भन्दै आपत्ति जनाएका हुन् । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने कविता वाचन गर्दै रावलले नागरिकता विधेयकमा छलफल होइन, छल भएको तर्क गरेका छन् ।

‘संविधान निर्माणताका प्रमुख राजनीतिक दलहरू र राज्य व्यवस्था समितिमा भएको छलफलको सहमतिविपरीत विधेयक ल्याइएको छ,’ रावलले बैठकमा भने, ‘विशाल ठुला देशको बीचमा रहेको र भू–राजनीतिक अवस्थाको ख्याल नै नगरी कुनैपनि अवधि नै नराखेर नेपाललाई जनसंख्याको राजनीतिको दुष्चक्रमा पारिँदैछ ।’ 

यसैगरी सांसद गोकुल बाँस्कोटाले सत्ता जोगाउनका लागि गठबन्धन दलले नागरिकता विधेयकको रङ बदलेको बताए । उनले कुनैपनि देशमा जन्मको आधारमा नागरिकता दिने कुरा एक पटक मात्र हुने बताए । उनले भने–‘हामी विश्वको झण्डै ४० लाख जनसंख्याले ओगटेको दुई देशको बीचमा छौँ । त्यहाँ हुने अशान्ति, विग्रह वा कुनैपनि विश्रृङ्खलताले हामीलाई प्रभाव पार्छ । अहिले हामीकहाँ शरणार्थीहरु कहाँ-कहाँका छन् रु यस्तो लुज प्रावधानहरु राखियो भने भोली के हुन्छ ? नेपाली मुलका हुन तर अरुबाट खेदिएका छन् हामी के गर्छौँ ? हामीले त २ पटक जन्मस्थानको आधारमा नागरिकता दिइसकेका छौँ अचम्मै भएको छ ।’

उनले ट्रकमा आउ, कन्टेनरमा चढेर आउ, प्लेनमा आउ भनेर बोलाएका देशमा पनि नागरिकता पाउँन खास अवधी बसेको हुनुपर्ने बताए ।  डिभी भरेर आउ भन्ने देशले पनि खास अवधी राखेको र नेपालमा भने साह्रै अप्ठेरो खालको भएको बताए ।

यसैगरी नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्‍याए । ‘यसअघि पनि संसदीय समितिमा नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत दिने भन्ने सहमति भएको थियो,’ अधिकारीले भने, ‘सोही सहमतिका आधारलाई मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्छ, नत्र मुलुक फिजीकरणको दिशातर्फ जाने देखिन्छ ।’ नागरिकताजस्तो संवेदनशील विषय ‘फास्ट ट्रयाक’ पारित गर्न नहुने भन्दै संसदीय समितिमा पुनः पठाउनुपर्ने अधिकारीको माग छ । 

यसैगरी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा नागरिकता दिन नहुने बताइन् । पौडेलले नेपाल भारत खुला सिमानाका कारण जन्मको आधारमा नागरिकता दिँदा भोलिका दिनमा नेपाली नै अल्पमतमा पर्ने खतरा उत्पन्न हुने बताइन् । विधिशास्त्रीय सिद्धान्तका आधारमा पनि जन्मका आधारमा नागरिकता दिन नहुने र जन्मका आधारमा नागरिकता नपाएकाहरुलाई वंशजको नागरिकता दिन नहुने उल्लेख गरिन् । 

नेपाल मजदुर किसान पार्टीले भने नेपालमा जन्मेका आधारमा नागरिकता दिनु अघि अन्तवार्ता लिनुपर्ने प्रस्ताव गरेको छ । सो पार्टीका तर्फबाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तवार्ता पछि मात्रै जन्मको आधारमा नागरिकता दिनुपर्ने प्रस्ताव गरे ।

‘नेपालमा जन्मेर मात्रै हुँदैन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देशप्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ वर्षपछि र बेलायतमा ६ वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० वर्ष बसेकाले मात्रै नागरिकता दिने ब्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ ।’ नेकपा एमालेकी सांसद गंगा चौधरीले भने २०४७ सालयता ४० लाख विदेशीले नेपाली नागरिकता लिएको बताएकी छन् । सांसद चौधरीले त्यसअघि २०३७ सालमा २४ लाखले विदेशी नागरिकता लिएको उल्लेख गरिन् । 

मुलुकलाई बलियो बनाउने मेरुदण्डको रुपमा नागरिकता रहेको बताउँदै उनले कहिल्यै पनि यो विषयलाई हल्का रुपमा लिन नहुने बताइन् । बैठकमा एमाले सांसद नरबहादुर धामीले नागरिकता कानुन बनाउँदा व्यापक छलफल गरेर बनाउन आग्रह गरे । धामीले भारतमा पनि विवाह गरेर आएको विदेशीले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने कानुन बनाएको बताउँदै ३ तिरबाट भारतले घेरेको सानो देशको रुपमा रहेको देशमा नागरिकता कानुन बनाउँदा संवेदनशील हुनुपर्ने बताए । 

सांसद धामीले जुन बेलासम्म सिक्किममा नागरिकताको कुरा उठेको थिएन त्यो बेलासम्म सिक्किम स्वतन्त्र देश रहेको र नागरिकताको कुरा उठाएर ब्यापक नागरिकता बाँडेपछि १ सिट ल्याउने पार्टीले बहुमत ल्याएर सिक्किमलाई इतिहासबाट मेटाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप