मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

४० लाख विदेशीले नागरिकता लिए, देशलाई फिजी बनाउन खोजेको हो ? :  सांसद चौधरी

शुक्रबार, ०६ साउन २०७९, १४ : ३८
शुक्रबार, ०६ साउन २०७९

नेकपा एमालेकी सांसद गंगा चौधरीले २०४७ सालयता ४० लाख विदेशीले नेपाली नागरिकता लिएको बताएकी छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन ) विधेयक २०७९ माथि बोल्दै सांसद चौधरीले त्यसअघि २०३७ सालमा २४ लाखले विदेशी नागरिकता लिएको उल्लेख गरिन् । 

मुलुकलाई बलियो बनाउने मेरुदण्डको रुपमा नागरिकता रहेको बताउँदै उनले कहिल्यै पनि यो विषयलाई हल्का रुपमा लिन नहुने बताइन् । देशलाई विचलित हुने कुनैपनि किसिमको काम गर्न हुँदैन भन्ने कुरालाई मजाकको रुपमा नलिन उनले आग्रह गरिन् । नेपाल सार्क मुलुकको सदस्य हो कि हैन भन्दै सार्क मुलुकमा नागरिकतासम्बन्धी व्यवस्था के के गरिएको छ हेर्न गृहमन्त्रीलाई आग्रह गरिन् । उनले भारतबाट बिहे गरेर आउने बित्तिकै नागरिकता दिनु देशको हित विपरित हुने बताइन् । 

उनले भनिन्– ‘कसलाई खुसी पार्न, कसको कुर्सी जोगाउनका लागि हामीले यो काम गर्दैछौँ ? सम्मानित सदनमार्फत म गृहमन्त्रीलाई भन्न चाहन्छु । कसलाई खुसी पार्नका लागि यो देशलाई फिजीतिर लगिँदैछ ? २०५७ सालमा गिरिजाप्रसाद कोइरालाको पालामा संसदको राज्य व्यवस्था समितिबाट एउटा नागरिकतासम्बन्धी निर्णय गरेर अर्थ विधेयकभित्र राखेर प्रतिनिधिसभाबाट पारित गरिएको थियो । पारित भएको त्यो विधेयकलाई राष्ट्रियसभाबाट फिर्ता पठाइयो । दोश्रो पटक प्रतिनिधिसभाको बैठकबाट त्यसलाई पारित गरिएको थियो । स्वर्गीय राजा वीरेन्द्रले त्यसलाई सर्वोच्चमा राय सुझाव माग्न पठाएका थिए । सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक भनेर खारेज गरेको थियो ।’

उनले अगाडि भनिन्– ‘माओवादी १० वर्षे युद्धपछि १२ बुँदे सम्झौता भयो र त्यसपछि यो सबै ढोका खुल्ला भयो । ४७ सालयता जन्मिएका सबै विदेशी नागरिकहरुलाई नागरिकता दिने प्रावधान राखियो र विदेशीलाई जन्मको आधारमा नागरिकता दिइयो । त्यसपछि ४० लाख विदेशीहरुले नागरिकता लिए । २०३७ सालमा २४ लाख विदेशीले नागरिकता लिएका थिए । तिनीहरुबाट जन्मिएका कति सन्तान छन् हामीसँग हिसाव किताब छैन । तिनीहरुबाट जन्मिएका सन्तानलाई वंशजको नागरिकता दिइयो भने देश कता जान्छ ? मेरो प्रश्न गृहमन्त्रीलाई ।’

उनले विदेशीहरुलाई खुसी पार्नका लागि १० वर्षे जनयुद्ध गरेको हो भन्दै प्रश्न गरिन् । उनले ठूला दलका मुख्य नेताहरु किन लाइन लागेर भारत गएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप