सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ को नामकरणबाट ‘ब्याक’ हुँदै मुख्यमन्त्री

सहमति भएमात्रै प्रक्रियामा लाने सभामुखको अडान
शुक्रबार, ०६ साउन २०७९, १८ : १६
शुक्रबार, ०६ साउन २०७९

प्रदेश १ को नामकरणको विषयमा सहमति जुटाउन बसेको सर्वदलीय बैठक यसअघिको बैठक भन्दा ‘फितलो’ भएको सहभागीले बताएका छन् । सरकारका तर्फबाट यसअघि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सर्वदलीय बैठक बोलाएकामा शुक्रबार भने सभामुख प्रदीप कुमार भण्डारीले बोलाएका हुन् । 

मुख्यमन्त्रीले बोलाएको बैठकमा नेताहरुबीच चर्काचर्की भएको थियो । तर, सभामुखले बोलाएको बैठकमा फितलो संवाद भएको सहभागी एक नेताले बताए । ‘यो बैठक अस्तिको जति प्रभावकारी पनि भएन, नेताहरुबाट नामबारे ठोस कुरा आएन,’ ती नेताले भने । 
बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले अहिलेको संसदले पहिचानसहितको नाम राख्न नसके अर्को संसदलाई जिम्मा दिन आग्रह गरेका थिए । यसअघि उनले यही संसदले प्रदेशको नामकरण गर्ने बताउँदै आएका थिए । तर, शुक्रबारको बैठकमा भने उनी यूटर्न हुँदै सहमति नभए अर्को संसदलाई जिम्मा लगाउनेतर्फ तन्किएका हुन् । 

 ‘यो संसदले पहिचानसहितको नाम राख्नै सक्दैन भने अब आउने निर्वाचनबाट आउने नयाँ साथीहरुलाई जिम्मा छोडौँ,’ उनले बैठकमा राखेको कुरालाई उदृत गर्दै ती नेताले भने ।
बैठकमा नेपाली काँग्रेसले कोशी, सप्तकोशीमा सहमति नभए अर्को विकल्प खोजेर आउँदो ८ गते प्रदेशसभामा लैजानुपर्नेमा जोड दिएको थियो । ‘काँग्रेसले प्रक्रियामा जान जोड गर्यो, नामको विषयमा पहिचान जोडेर जाँदा पनि फरक नपर्ने ढंगले ऊ प्रस्तुत भयो,’ ती नेताले भने, ‘एमालेले भने घुमाई फिराई कोशीमा लगेर कुरा टुंग्याएको थियो ।’

​बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले दलहरुबीचमा सहमति नभई प्रक्रिया अघि नबढाउने बताएका थिए । ‘सहमति भए प्रक्रियामा लैजान म सहमत छु, सहमति बेगर प्रदेशसभामा लानु उपयुक्त हुँदैन,’ उनले भनेका थिए । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने पहिचानलाई जोड दिएका थिए । बैठकमा राप्रपाका प्रतिनिधि उपस्थित थिएनन् । 

सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईले पहिला नाममा सहमति खोजिनुपर्छ भन्ने निष्कर्ष भएको सुनाए । ‘प्रक्रियामा जानुभन्दा अगाडि सहमति खोजौं भन्ने भयो, आ–आफ्नो अडानमा रहने हो भने नाम टुंग्याउन गाह्रो हुन्छ र लचकता अपनाउनु पर्छ भन्ने विषय पनि सहमति भएको छ,’ राईले भने, ‘छलफललाई अगाडि बढाउनका लागि पालैपालो बैठक बोलाउने पनि सहमति भएको छ, आ–आफ्नो दलभित्र पनि छलफल गर्ने भनेका छौं र आजको बैठक सकारात्मक भएको छ ।’

‘छलफलमा आएका नामले जातीय सभ्यता पनि भएन, नदीको नामबाट पनि भएन भने सबैको जोडिने खालको नामहरु, भाषा संस्कृतिसँग जोडिने ‘साकेला’ भनेजस्तै खालको विजयपुर टाइपका नामहरुमा स्मेल दिन सकियो भने राम्रो होला कि भन्ने आशयमा कुरा भएको छ,’ मुख्यमन्त्री राईले थप प्रष्ट पार्दै भने, ‘त्यही हिसावले पार्टीमा म्याण्डेट लिने र वैकल्पिक नाम दिने कुरा पनि भएको छ ।’

मुख्यमन्त्री राईले सहमति भए अधिवेशनबाट नाम टुंगो लगाउन सकिने बताए ।  ‘प्रतिशतको आधारमा यही संसदबाट नाम आउने सम्भावना धेरै प्रतिशत देखियो, ढुक्क हुने प्रतिशत बढी छ,’ उनले भने, ‘म पूर्ण रुपमा लचक छु, एउटा कुरा चाहिँ प्रष्ट छ खराब नाम हुनुभन्दा अर्को संसदमा लानुपर्छ भन्ने मान्यतामा छु ।’ उनले आफूले बहुपहिचानको पक्षमा भोट मागेर जितेको भन्द  यसविपरीतको नाम आउने अवस्था भए अर्को संसदलाई दिनुपर्छ भन्ने मान्यतामा रहेको प्रष्ट पारे । 

यसैगरी एमाले नेता तथा पूर्वमन्त्री हिक्मतकुमार कार्कीले सहमतिमा नाम टुंग्याएर जाने निर्णय गरेको बताए । ‘अबिलम्ब हामीले यस्ता बैठक छिट्टै बसेर टुंग्याउने निर्णय गरेका छौं,’ कार्कीले भने । 
काँग्रेस संसदीय दलका नेता राजिव कोइरालाले भने काँग्रेस प्रक्रियामा जाउँ भन्ने पक्षमा रहेको बताए । ‘हामीले प्रक्रियामा जाऔं भन्यौं, प्रक्रियामा जानका लागि पनि सहमति हुनुपर्ने धारणा आएपछि सोही अनुसार निर्णय भयो,’ कोइरालाले भने, ‘नेपाली काँग्रेसको धारणा भनेको प्रक्रियामा गएर सहमतिको प्रयास गर्दै नामको टुंगो लगाउने भन्ने हो ।’ आउँदो बैठक नेपाली काँग्रेसले १÷२ दिनपछि बोलाउने उनले बताए । 
सभामुख प्रदीपकुमार भण्डारीले पनि छलफल घनिभूत गरेर सहमतिका आधारमा नाम राख्ने निर्णय गरेको बताए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ तथा राज्य मन्त्री विष्णुमाया तुम्बाहाम्फेले चाहिँ सहमति नभएसम्म यो विषय संसदमा नजाने बताइन् । 

एमाले नेता तथा पूर्वमन्त्री जीवन घिमिरेले नेकपा एमाले चालू अधिवेशनबाट कुनै पनि शर्तमा नाम टुंग्याउनु पर्छ भन्ने मान्यतामा रहेको बताए । अरु दल पनि नाम टुंग्याउनु पर्छ भन्नेमा सहमत रहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप