शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : विराटनगरमा ‘एम अधिकारी’को तीव्र खोजी, मुद्दा हारेपछि अब के गर्लान् विश्वराज ?

शुक्रबार, ३१ असार २०७९, १८ : ४४
शुक्रबार, ३१ असार २०७९

आज मिति २०७९ साल असार महिनाको २१ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–
१. उपसभामुखमा पुष्पा विजयी
प्रतिनिधि सभाले उपसभामुख पाएको छ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी हुन् । ९३ सांसदले मत दिन्न र १ जना तटस्थ रहेका थिए । 

२. विराटनगरमा एम अधिकारीको तीव्र खोजी
नेकपा एमालेले अर्थ तथा योजना समितिको सदस्यमा एम अधिकारी नाम राखेपछि उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै आलोचना भइरहेको छ । एमालेले पनि एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको बताएपनि उनी को हुन् भन्ने विषय सार्वजनिक गर्न सकेको छैन ।
एमालेका कतिपय नेताले विराटनगरका मनोज अधिकारीलाई एम अधिकारी लेखिएको जिकिर गरेपनि अहिलेसम्म मनोज अधिकारी सार्वजनिक भएका छैनन् । संचारमाध्यममा र सरोकारवालाको चासोका कारण विराटनगरका सिए अधिकारी भने मोबाइल अफ गरेर भारततिर लागेको चर्चा छ । उसो त उनी खोटांगका नभई धनकुटामा जन्मिएका हुन् l 
यता,नेकपा एमालेलाई भने एम अधिकारी सार्वजनिक गर्नुपर्ने दबाब बढीरहेको छ । स्रोतका अनुसार एमालेले मोरङ जिल्ला समितिलाई सर्कुलर गरेर एम अधिकारी छिटो सार्वजनिक गर्न आग्रह गरेको छ । यही विषयमा नेकपा एमाले विराटनगरका अध्यक्ष सागर थापाले खोजीकार्य जारी रहेको बताए ।​

 

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो।  यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ।

 

यसैबीच पोखरेलले मुद्दा हारेपछि अब के गर्ने भन्नेबारे छलफल थालेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले परिवार र शुभेच्छुकसँग छलफलपछि उपयुक्त निर्णय लिइने छ।  उनले पुनः संगठनमा फर्किने सम्भावना पनि हुनसक्ने उल्लेख गर्दै अदालतको फैसलाबारे भने कुनै टिप्पणी नरहेको बताए ।
४. कोरोना संक्रमित बढ्दै
देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पिसिआर र दुई हजार ६८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

 

प्रचण्ड भारत भ्रमण पुरा गरी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

६. सरकारमाथि एमालेको आरोप
प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारको स्वास्थ्य नीति तथा स्वास्थ्य क्षेत्रको बजेट तथा योजनाबारे २६ बुँदामा आलोचना गरेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथमिकता ‘खोप, खोप र खोप’ रहेको भने पनि त्यस अनुसारको काम नभएको आरोप लगाइएको छ । ०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको एमालेको आरोप छ ।

७. अधिकारीले राजीनामा दिनुपर्छः देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागी भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

८. सत्ता गठबन्धनको निर्णय
सत्तारुढ गठबन्धनमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति जुटेको काँग्रेस उपसभापति समेत रहेका पूर्णबहादुर खड्काले रातोपाटीलाई जानकारी दिए ।

यसैबीच आजै बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीहरुबीचको विवाद कसरी सल्टाउने भन्नेबारे विषय अझै पेचिलो बनेको छ । एन्फाको पहिलो बैठकको निर्णय नम्बर चारमा खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने लेखिएको छ ।

१०. र, योपनि...
मोरङको विराटनगरस्थित जिल्ला कारागारका १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुलाई कोशी कोभिड अस्पताल भर्ना गरिएको छ ।  मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार उनीहरुलाई आजै कोभिड अस्पताल भर्ना गरिएको हो ।

नेपाल नागरिकता विधेयक २०७९ माथिको सैद्धान्तिक छलफल सकिएको छ । नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

यसैबीच एमाले सांसद विद्या भट्टराईले सरकारले ल्याएको विधेयकका धेरै प्रावधानमा एमालेको असहमति रहेको बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले वैवाहिक अंगीकृतको बारेमा विधेयक नबोलेकोले त्यसलाई संशोधन गर्नुपर्ने बताइन् ।

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहाना राखेको बताएका छन् ।  
शुक्रबार प्रतिनिधिसभाका उपसभामुख निर्वाचनपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमालेले गठबन्धन भत्किनुपर्छ भनेर खुलमखुला भन्ने गरेको भन्दै त्यसका लुकाउनुपर्ने केही नरहेको बताए ।

आज शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा सामान्य सुधार आएको छ । कारोबार सुरू भएको समयमा केही अंकले घटे पनि अन्तिम समयमा ७ अंकले सुधार हुँदै नेप्से बढेर बन्द भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ । शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नर विरुद्ध प्रदर्शन गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो । भेटका क्रममा लामिछानेले साम्पाङलाई औपचारिक रुपमा बधाई तथा शुभकामना दिँदै धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन् ।  शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई लगायतका ९ जना नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताए ।

निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ । अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको छ ।

शुक्रबारदेखि नयाँ दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘सम्झना विर्सना’ र ‘सिल्ली फो’ । दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । आफ्नो फिल्म राम्रो भएकाले दर्शक पाउने दाबी दुबै फिल्मका निर्माताको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप