सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव

शुक्रबार, ३१ असार २०७९, १८ : ५२
शुक्रबार, ३१ असार २०७९

जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन् ।  शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताए । 

 बिहीबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र भक्तबहादुर शाह लगायतका नेताहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उनले जानकारी दिए । 
कारबाहीमा पर्ने नेताहरुले पार्टीको हित विपरित काम गरेको, पार्टीको सिद्धान्त विपरित अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय गरेको उनले आरोप लगाए । 

उनले भने,  ‘अर्को पार्टी बन्ने निर्णय भइसकेपछि डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी, भक्त बहादुर शाह लगायत ९ जना प्रमुख भुमिका खेल्नेहरुलाई पार्टीको हित विपरित, पार्टीको एकतालाई तोड्ने प्रयास गरेको र पार्टीको जुन घोषित लक्ष्य छ, उद्देश्य छ, सिद्धान्तका विपरित अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय समेत, नयाँ पार्टी स्थापना गर्ने भन्ने निर्णय समेत गरिसकेको अवस्थामा उहाँहरुलाई पार्टीमा सम्हालेका पद र सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ । पदमुक्ति सँगै सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’

अध्यक्ष यादवले सरकारले संसदमा पेश गरेको नागरिकता सम्बन्धी विधेयकलाई फाष्ट ट्रयाकमा पारित गर्नुपर्ने बताए । उनले फाष्ट ट्रयाकमा पारित गर्न गठबन्धनमा समझदारी पनि बनेको स्पष्ट पारे । 

जसपामा विवाद बढेपछि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने केन्द्रीय समितिको छुट्टै बैठक काठमाडौंमा सम्पन्न गरेका थिए ।  यादव पक्षको यो निर्णय सँगै जसपा औपचारिक विभाजनको नजिक पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप