आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

अचानक किन दिल्ली गए प्रचण्ड ?

शुक्रबार, ३१ असार २०७९, १३ : ०३
शुक्रबार, ३१ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । प्रचण्डसँगै स्वकीय सचिव रमेश मल्ल र छोरी गंगा दाहाल नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रचण्डको दिल्ली भ्रमणलाई चासोका साथ हेरिएको छ । 

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ नेपाल भ्रमण पुरा गरेर फर्किएको दोस्रो दिन प्रचण्डको दिल्ली भ्रमण हुन लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका थिए । 

आगामी प्रदेश र संघको चुनावको मिति घोषणाको तयारी भइरहेको छ । त्यसैमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा समेत स्वास्थ्य उपचारको सिलसिलामा नयाँ दिल्लीमै छिन् । सबै घटनाक्रमले समेत प्रचण्डको भारत भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

सीपीसीका विदेश विभाग प्रमुख लिउँले प्रचण्डलाई गत असार २७ गते भेटेलगत्तै त्यसै राति भारत भ्रमणका लागि उनलाई सन्देश आएको थियो । प्रचण्डलाई भारत भ्रमणका लागि निम्तो आएलगत्तै गत असार २८ गते नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव औपचारिक पत्र लिएर प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणा बोकेर राजदूत खुमलटार पुगेका हुन् । दिल्ली पुगेका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने बताइएको छ ।

यता प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा भ्रमण आकस्मिक नभएको ब्रिफिङ गरेका छन् । बिहीबार उपलब्ध स्थायी समितिको बैठकमा प्रचण्डले गत चैतमा नेपालका लागि भारतीय पूर्व राजदूत विनयमोहन क्वात्राले आफ्नो कार्यकाल सकिएपछि भारत भ्रमणको निम्तो दिएको बताएका थिए । 

‘नेपालका लागि भारतीय पूर्व राजदूत विनयमोहन क्वात्राले अध्यक्ष कमरेडलाई निम्तो दिनु भएको रहेछ । उहाँले केन्द्रीय समिति बैठकपछि जुन–जुलाईतिर अनुकुल मिलाएर आउँछु भनेर जवाफ दिनु भएको रहेछ,’ बैठकमा सहभागी स्थायी समिति सदस्य लीलामणि पोखरेलले भने,‘अहिले ठ्याक्कै निम्तो आयो र समय पनि मिलेकाले उहाँ भारत जानु भएको हो । अध्यक्ष कमरेडको भारत भ्रमण आकस्मिक होइन ।’  

प्रचण्डले सीपीसीका विदेश विभाग प्रमुखको भ्रमण र आफ्नो दिल्ली भ्रमणका विषयमा समेत बैठकमा ब्रिफिङ गरेका थिए । सोही बैठकमा प्रचण्डले भारत भ्रमणका विषयमा पार्टी नेताहरुसँग सुझाव मागेका थिए । प्रचण्डलाई स्थायी समिति सदस्यहरुले नेपाल–भारत सम्बन्ध सुधारमा केन्द्रीत हुन हुन सुझाएका छन् । ‘नेपाल–भारत सम्बन्धमा कतिपय सजिलो पक्ष पनि छन् । त्यो भन्दा बढी सीमा लगायत पारवहन सम्बन्धी सम्झौतामा जटिलता छन्,’  बैठकमा सहभागी एक नेताले भने, ‘कूटनीतिक माध्यमबाट दुई देशको सम्बन्ध सुधारमा लाग्नुपर्छ भन्नेमै सुझाव केन्द्रीत थियो ।’ नेपाल र भारतको आवश्यकता महत्वलाई समेत केन्द्रमा राख्न नेताहरुले प्रचण्डलाई सुझाव दिएका छन् ।

यस्तै अर्का स्थायी समिति सदस्य राम कार्कीले अध्यक्ष प्रचण्डको भारत भ्रमण आकस्मिक नभएको जिकिर गरे  । ‘अध्यक्ष कमरेड भारत जाने वित्तिकै धेरैले आशंका व्यक्त गरेका छन् । त्यस्तो आकस्मिकतामा होइन’ कार्कीले भने । प्रचण्डको भारत भ्रमण आकस्मिक नभएकाले आशंका व्यक्त गर्न कार्कीले आग्रह गरे । 

भ्रमणबारे के भन्छन् प्रचण्ड ?

यसैबीच प्रचण्डले लिउ जियानचाओले नेपाल आउने कुरा र आफ्नो भारत भ्रमणबीच कुनै सम्बन्ध नरहेको जिकिर गरेका छन् । भारत उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् । ‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने कुरा र म भारत जाने कुरासँग कुनै सम्बन्ध छैन । यो प्रस्ट पार्न चाहान्छु’, प्रचण्डले भने ।  

उनले आफ्नो भ्रमण राजनीतिक भ्रमणका रुपमा रहेको भन्दै सद्भावना भ्रमणका रुपमा लिनुपर्ने बताए ।  भारत भ्रमणका क्रममा आफूले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर कुराकानी हुने पनि बताए । 

‘नेपाल भारत सम्बन्ध अझ राम्रो कसरी बनाउने भन्नेमा भारतीय जनता पार्टीका नेताहरुसँग कुरा हुनेछ’, प्रचण्डले भ्रमण आकस्मिक जस्तो देखिएपनि पूर्वनिर्धारित नै भएको बताए । ‘बाहिर आउँदा आकस्मिक जस्तो देखियो तर मेरा लागि आकस्मिक होइन । दुई महिनाअघि राजदूत क्वात्राकै समयमा मिलाइएको हो’, प्रचण्डले भने, ‘उहाँ राजदूत भएर विदेश सचिव भएपछि पनि उहाँले मलाई भ्रमणको समय कुन बेला उपयुक्त हुन्छ भनेर सोध्नुभएको थियो । त्यसबेला मैले जुलाईको तेस्रो हप्ता हुनसक्छ भनेको थिएँ ।’ 

उनले विगतमा झै यसपाली पनि नेपालको समग्र विकास दुई पक्षीय व्यापार सन्तुलन, सीमा समस्या लगायतका विषयमा भारतीय पक्षसँग कुराकानी हुने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप