आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

शुक्रबार, ३१ असार २०७९, १३ : ३७
शुक्रबार, ३१ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । भारत भ्रमणका लागि नयाँ दिल्ली जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बाहिर आकस्मिक जस्तो भएपनि डेढ महिनाअघि देखिकै तयारी रहेको बताए । 

 ‘मेरो भ्रमण सदभावना भ्रमण हो । नेपाल राष्ट्र र नेपाली जनतालाई हितमा राखेर नेपाल भारत सम्बन्धलाई अझ कसरी राम्रो बनाउने भन्ने विषयमा केन्द्रीत हुनेछ’ प्रचण्डले भने– ‘भारत सरकारका प्रतिनिधि र भारतीय जनता पार्टीका नेताहरुसँग कुराकानी हुनेछ । यो भ्रमणलाई लिएर विभिन्न चर्चा परिचर्चा भइराखेको छ ।  यसमा कुनै न कुनै टिप्पणी गर्नुभएको छ । बाहिर आउँदा आकस्मिक जस्तो देखियो । आवश्यक होइन ।’ प्रचण्डले  तत्कालीन भारतका लागि नेपाली राजदूत विनयमोहन क्वात्राले भ्रमणको निम्तो तीन महिनाअघि दिएको बताए ।

 ‘आजभन्दा डेढ दुई महिनाअघि तत्कालीन राजदूत विनयमोहन क्वात्रा हुनुहुन्थ्यो । उपयुक्त समयमा भारत भ्रमण आवश्यक छ मैले वातावरण मिलाउँदैछु भनेर उहाँले भन्नुभयो । उहाँ राजदूतबाट विदेश सचिव भएपछि तपाईको लागि कुन समय उपयुक्त हुन सक्छ ? भनेर सोध्नुभएको थियो’ भ्रमणबारे स्पष्ट पार्दै प्रचण्डले भने, ‘पार्टीको केन्द्रीय समिति बैठक लगायत सबै परिस्थिति हेर्दा जुलाई महिनाको दोस्रो हप्ता वा तेस्रो हप्ता कुनै दिन हुनसक्छ भनेको थिए । त्यहीअनुसार भारत भ्रमण भएको छ ।’

भारत भ्रमणमा भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भ्रमणमा जान लागेको प्रचण्डले बताए ।  सीपीसीका विदेश विभाग प्रमुख सहितको टोली नेपाल भ्रमणमा आउनुभन्दा अघि नै मेरो भारत भ्रमण तय भइसकेको थियो । त्यतिबेला सीपीसीका प्रमुख नेपाल भ्रमण आउने चर्चा नै  थिएन’ प्रचण्डले भने, ‘सीपीसीका प्रमुख र मेरो भारत भ्रमण गर्नेसँग कुनै साइनो छैन । अनावश्यक कन्फ्युजन कसैमा नरहोस् भन्नेमा स्पष्ट पार्न चाहन्छु ।’

नेपाल राष्ट्र र नेपाली जनतालाई हितमा राखेर नेपाल भारत सम्बन्धमा विषयमा छलफल हुने प्रचण्डले बताए । ‘विगतको भ्रमण जस्तै यसपटक नेपालको समग्र विकास, दुबै पक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा, व्यापार सन्तुलन कम गर्ने विषयमा र  सीमा समस्या समाधान गर्न कुटनीतिक माध्यमबाट विश्वासको वातावरणमा टुंगो लगाउने छ’ प्रचण्डले भने ।  दुबै देशको हित हुनेगरी व्यापार घाटा र अन्य विषयमा कसरी अगाडि बढ्ने विषयमा छलफल हुने प्रचण्डले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप