सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

उपसभामुखमा विजयी पुष्पाको यस्तो छ राजनीतिक जीवन

शुक्रबार, ३१ असार २०७९, १७ : ०६
शुक्रबार, ३१ असार २०७९

नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार भएको उपसभामुखको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गरी उनी उपसभामुखमा विजयी भएकी हुन् । २४२ सांसद उपस्थिति रहेकोमा १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी छिन् । ९३ सांसद विपक्षमा उभिँदा १ जना तटस्थ रहेका थिए । करिब ६ महिनामा कार्यकाल सकिन लागेको प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।

एमाले र माओवादीको गठबन्धन हुँदा २०७४  चैतमा भएको उपसभामुखको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् । तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसालले ५८ मत मात्रै ल्याएकी थिइन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद २९ महिनादेखि रिक्त थियो । 

तत्कालीन सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले राजीनामा दिएकी थिइन् । प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिङ्गबाट हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण तत्कालीन नेकपाले तत्काल उपसभामुखको निर्वाचन गर्न चाहेन । 

​सर्वोच्चको फैसलाबाट ०७७ फागुनमा एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि संसदको यही कार्यकालमा उपसभामुख हुने पुष्पाको सपना पुरा भएको हो । ७४ मा काँग्रेसकै पाँच सांसदको मत समेत नपाएकी भुसालले ०७८ मा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा र राष्ट्रिय जनमोर्चाको मत प्राप्त गरिन् । उनी करिब ६ महिना उपसभामुखको पद सम्हाल्ने छिन् । 

को हुन् भुसाल ?
पुष्पा भुसाल (गौतम) विद्यार्थी राजनीतिबाट उदाएकी नेपाली काँग्रेसकी नेतृ हुन् । राजनीति पृष्ठभूमिमा हुर्किएकी भुसालले काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी थिइन् । काँग्रेसको महिला विभाग, ट्रेड युनियन काँग्रेस र महिला सङ्घको महामन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि भुसाल पार्टी राजनीतिमा आएकी थिइन् ।

काँग्रेस निकट डीएलएमा १० वर्ष कानुनी सल्लाहकार रहेकी उनी केही समय वकालत पेसामा समेत आबद्ध थिइन् । कानुन क्षेत्र छोडेर पूर्णकालीन राजनीतिमा होमिएकी उनी काँग्रेसको १२ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा छन् । 

संसदीय राजनीतिको यात्रामा उतारचढाव भोगेकी उनी यतिबेला काँग्रेस संसदीय दलमा सचेतकको भूमिकामा छिन् । उनी २०६४ सालमा अर्घाखाँची २ बाट सांसदमा निर्वाचित भएकी थिइन् । ०५६ को संसदीय निर्वाचनमा भने सोही क्षेत्रबाट भुसाल पराजित भएकी थिइन् । 

भुषालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी छिन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक भुषालले आधिकारिक रूपमा भने २०३६ मा नेपाल ल क्याम्पसको नेविसङ्घबाट राजनीति सुरु गरेकी थिइन् ।
नेपाल वार एसोसिएसनका केन्द्रीय सदस्य रहिसकेकी भुसालले पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव भएर काम गरिसकेकी छिन् ।

वरिष्ठ अधिवक्ता समेत रहेकी ६१ वर्षीया भुसाल एक छोरीकी आमा हुन् । पुष्पा चर्चित डाक्टर एवं पूर्वराजदूत डा.चोपलाल भुसालकी पत्नी हुन् । राजनीतिक पृष्ठभूमिकी भुसालका बुवा काशीनाथ गौतम २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका थिए ।

२०१७ सालमा राजा महेन्द्रको कदमपछि १४ वर्ष पिता काशीनाथ गौतमसहित भारत निर्वासित भएका थिए ।  भुषाल २०२८ सालदेखि सक्रिय राजनीतिमा होमिएकी हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप