समयमा नतिजा नै ननिकाल्ने यो कस्तो विश्वविद्यालय ?
विश्वविद्यालय भनेको कुनै पनि मुलुकको निम्ति अत्यन्तै सम्माननीय संस्था हो । विश्वविद्यालयको इतिहास निकै सम्मानजनक र महत्त्वपूर्ण हुने गरेको छ । संसारका थुप्रै विश्वविद्यालयहरू विश्वमा आफ्नो अब्बल प्रस्तुति र अनुशासनका कारण संसारभर लोकप्रिय बनेका छन् ।
अमेरिकाको हार्वर्ड विश्वविद्यालय, युकेको अक्सफोर्ड, क्याम्ब्रिज लगायतका विश्वविद्यालयको गुणस्तरको विश्वभरि नै चर्चा परिचर्चा हुने गरेको छ । यी त केवल केही उदाहरण मात्र भए । विश्वमा हुने कुनै पनि अनुसन्धान र खोजमूलक कार्यको निम्ति पनि विश्वविद्यालय अग्रस्थानमा रहेर काम गर्ने संस्था हो ।
विश्वविद्यालयका आफ्नै नीति नियम हुन्छन् । र, यो आफैँमा एउटा सिङ्गो राज्य सरह भएर चल्ने गर्छ । विद्यार्थीहरू प्रतिष्ठित विश्वविद्यालयहरूमा पढ्न पाउनु नै जीवनको गोरेटोमा एउटा फुल सजिएको अनुभव गर्छन् । यद्यपि, नेपालको परिप्रेक्ष्यमा विश्वविद्यालयले पहिचान कमाउन सकेका छैनन् ।
त्रिभुवन विश्वविद्यालयभित्र देखिने सधैँको किचलो र गतिविधिले विद्यार्थीहरूलाई मार परेको कुरा प्रष्ट छ । पुरानो इतिहास बोकेको र अनेकौँ नेपालीको अभिभावक हुनुपर्ने त्रिवि आफैँ खस्किँदै जाँदा यसले नेपाली शिक्षा जगतमाथि नै एउटा प्रश्नचिन्ह खडा गरेको छ ।
त्रिविबाट दीक्षित भएर आज विश्वका थुप्रै विश्वविद्यालयमा अध्यापन गरिरहेका कयौँको निम्ति त्रिविले गतिलो सन्देश दिन नसकेको बताउँछन् त्रिविका पूर्व विद्यार्थी एवम् हाल अमेरिकाको ओहायोमा बसोबास गरिरहेका नवीन पोखरेल । नवीन भन्छन्, हामी आज जता भएपनि औपचारिक शिक्षाको डिग्रीमा त्रिविको नाम लेखिएको छ । त्यहीको आडमा र त्यही शिक्षाको साथमा आज विविध संघ संस्थामा काम गरिरहेका छौँ । तर, त्रिविको गतिविधि समाचार एवम् अन्य सञ्चार माध्यमबाट आइपुग्दा निकै दिक्क लाग्छ ।
अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति झन् बढाउनुपर्ने अवस्थामा त्रिवि आफ्नै नकारात्मक पाटो र ढिलासुस्तीले झन् झन् खस्किँदै जानु अत्यन्तै दुःखद बनेको पोखरेल थप्छन् ।
नतिजा निकाल्न ढिलासुस्ती
त्रिभुवन विश्वविद्यालयमा पढाइमा अनियमितता, बन्द, हडताल जस्ता कुराले विद्यार्थी आजित छन् । त्यो भन्दा पनि समयमा परीक्षाको नतिजा त्रिविको निम्ति निकै अजंगको पहाड बनेर आएको छ । र, त्यसका सिकार त्रिविअन्तर्गत पढ्ने विद्यार्थी बनेका छन् ।
परीक्षा सकिएको एक वर्ष बित्दासम्म पनि नतिजा नआउनु यो कस्तो कार्यदिशा हो ? अघिल्लो वर्षको परीक्षा सकिएर अब अर्को परीक्षा आउने बेला हुँदासम्म पनि नतिजा नआएर पहिलो वर्ष पूरा नभईकन नै दोस्रो वर्षको परीक्षा दिने अवस्था आएको बताउँछन् त्रिवि अन्तर्गत व्यापार व्यवस्थापनमा स्नातक तेस्रो सत्र पढिरहेका असिम निरौला ।
बिबिएम अर्थात् ब्याच्लर्स इन बिजनेस म्यानेजमेन्ट पढिरहेका निरौलाका अनुसार उनले प्रथम वर्षको प्रथम सत्रको परीक्षा दिएको लगभग एक वर्ष भयो । त्यसको नतिजा अझै पनि आएको छैन । उनको त्यस परीक्षामा एउटा विषय बिग्रिएको थियो । उनले त्यस विषयको पुनः परीक्षा दिने र अङ्क बढाउने सोचमा थिए । तर, एक वर्ष हुँदासम्म पनि त्यसको नतिजा नआएर उनलाई तनाव भएको छ ।
त्रिविले आखिर एउटा परीक्षाको नतिजा एक वर्षसम्म पनि निकाल्न सक्दैन भन्ने विश्वविद्यालय भनेर के आधारमा मान्ने ? आक्रोश पोख्दै निरौला थप्छन्, नेपालीहरू विदेश पढ्न जानुको केही प्रमुख कारण मध्येको एक कारण यो पनि हो । हामी विद्यार्थीलाई यतिसम्म अलपत्रमा पारेर त्रिविले गतिलो काम गरेको छैन ।
हाल त्रिवि अन्तर्गतको सामाजिक कार्यमा स्नातक तह तेस्रो वर्ष अध्ययन गरिरहेकी अन्जु पोखरेल पनि विद्यार्थीहरू ढुंगामुढा गर्न त्यसै नउत्रिएको तर्क गर्छिन् । भन्छिन्, विद्यार्थीको सीमारेखा नै भत्किने गरी ढिलासुस्ती भएपछि विश्वविद्यालय अगाडि गएर धर्ना बस्नु कुनै अनौठो कार्य हैन ।
नतिजा समयमा नआएर आफ्नो उच्च अध्ययनको लागि विश्वका अन्य विश्वविद्यालयमा नाम निकाल्ने विद्यार्थीहरू जान पाएका छैनन् । त्यसो भएपछि, त्रिविप्रति हामीले कुनै पनि सहानुभूति देखाउन जरुरी नरहेको विद्यार्थी पोखरेलको जिकिर छ । परीक्षाको टुङ्गो नहुने यस विश्वविद्यालयले आफ्नो कार्यशैलीमा पुनर्विचार मात्रै हैन, पूर्ण परिवर्तन नै गर्नुपर्ने अवस्था रहेको उनको बुझाइ छ ।
त्रिविले विद्यार्थीहरूलाई पारिरहेको मर्का र यहाँभित्रको किचलोबारे त्रिविमा ३६ वर्ष प्राध्यापन गरेका प्रा डा विद्यानाथ कोइराला भन्छन्, ‘कुनै पनि विश्वविद्यालय भनेको विद्यार्थी केन्द्रित भएको खण्डमा मात्रै राम्ररी संस्थागत हुने हो । त्रिविले अपनाइरहेको कार्यशैलीमै खोट छ । नतिजा प्रकाशन भनेको निश्चित समयमा हुनुपर्ने कुरा हो । समय लाग्ने भएको खण्डमा जनशक्ति परिचालन गर्नु नै विकल्प हुन्छ ।’
विश्वविद्यालय स्वतन्त्र अङ्ग बन्न नसक्नु नै परीक्षाको नतिजा समयमा नआउने एक प्रमुख कारक रहेको कोइराला ठान्छन् । विश्वविद्यालयमा देशको राजनीतिले अनावश्यक हस्तक्षेप गर्ने हैन र गर्नु पनि हुँदैन । यसरी राजनीतिक हस्तक्षेप बढेपछि संस्था व्यक्तिवादी हुन्छ र धरापमा पर्छ । त्रिविमा भएको नै त्यही हो कोइराला भन्छन् ।
आम रूपमा पनि त्रिविले खेप्नु परेको आलोचनाबारे कोइराला भन्छन्, त्रिविमा दलीय प्रवृत्ति हाबी हुँदै गयो । प्राध्यापक र शिक्षक भन्दा पनि फलानो र ढिस्कानो दलको दलीय कार्यकर्ता शिक्षक भएपछि संस्थाको ओरालो गति त पक्का नै हुने भयो ।
दलको छाताले माथिबाट सब थोक रोकेर राख्ने अनि यता कार्यकर्ता भएका कथित प्राध्यापकहरू आफ्नो मनमौजी गर्दा विश्वविद्यालय बदनाम हुनु स्वाभाविक ठान्छन् कोइराला ।
प्रोफेसनल एथिक्स्को कुनै पनि मर्यादा नराखी गुणात्मक रूपमा अत्यन्तै कमजोर भएपछि त्रिविजस्तो प्रतिष्ठित संस्था पनि धराशायी भयो । तसर्थ, त्रिविमा हुने फेवरेटिजम अर्थात् मनपर्नेलाई पद, दलको छाता र दलीय कार्यकर्ताको बिगबिगीमा रोक नलगाएसम्म परीक्षाको नतिजा मात्र हैन, त्यस बाहेकका अन्य मुद्दा पनि भत्किँदै जाने पक्कापक्की छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण