सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

खेलाडीलाई टिममा एन्फाले राख्ने कि अल्मुताइरीले ?

शुक्रबार, ३१ असार २०७९, १४ : ५२
शुक्रबार, ३१ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीहरुबीचको विवाद कसरी सल्टाउने भन्नेबारे विषय अझै पेचिलो बनेको छ । एन्फाको पहिलो बैठकको निर्णय नम्बर चारमा खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने लेखिएको छ । 

‘राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवादपछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझावअनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिमममा सहभागी गराउने निर्णय गरियो । र, प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो,’ भन्ने उल्लेख छ ।

यसरी एन्फाको निर्णयअनुसार राष्ट्रिय टोलीमा रहने २३ जनाको खेलाडी संख्यामा विवादमा परेका १० जना खेलाडी राखिनेछन् । प्रशिक्षक अल्मुताइरीलाई पनि एन्फाले हटाउने सक्ने अवस्था छैन । प्रतिवेदनमा अल्मुताइरीको विकल्प खोज्न भनिएको छ । तर, एन्फाले अल्मुताइरीलाई हटाउन सहजै सक्ने अवस्था छैन । नयाँ कार्यसमितिले कतार फुटबल र अल्मुताइरीसँग छलफल गरेर मात्र निर्णय गर्ने बताएको छ । 

नयाँ कार्यसमितिले अल्मुताइरीलाई प्रशिक्षकमा निरन्तरता दिने मुड बनाइ सकेको छ । एन्फाका महासचिव किरण राईले रातोपाटीसँगको कुराकानीमा आफूहरु खेलाडी र प्रशिक्षक बीचको विवादको कुरा भुल्न चाहेको बताएका थिए । 

राईले प्रशिक्षकको स्वास्थ अवस्था राम्रो नभएको अवस्थामा थप कुराकानी नभएको तर प्रशिक्षक आफूहरुसँग काम गर्न इच्छुक भएको बताएका थिए । त्यसका लागि प्रशिक्षकले कार्ययोजना पनि पठाइ सकेको उनको भनाइ छ । 


अल्मुताइरीप्रति लचिलो एन्फा 

खेलाडीहरुलाई न्याय दिलाएर प्रशिक्षकलाई बर्खास्त गर्ने चुनावी एजेन्डा बनाएको नयाँ कार्यसमिति अब लचिलो बनेको छ । नयाँ कार्यसमितिले पहिलो बैठकको निर्णयमा प्रशिक्षक हटाउने निर्णय स्वयम् प्रशिक्षक र कतार फुटबलको हातमा रहेको संकेत गरिसकेको थियो । 

यसै पनि कतार फुटबलबाट पारिश्रमिक पाएका अल्मुताइरीलाई हटाउन एन्फाले उनको दुई वर्षको पारिश्रमिक दिनुपर्ने अवस्था छ । त्यसका लागि एन्फा अहिले बलियो बनि सकेको छैन । अर्काेतर्फ कतार फुटबल र कतार एसोसियसनले सहयोग गरेर पठाएको प्रशिक्षकलाई बर्खास्त गरेर कतार र नेपालबीचको सम्बन्ध कमजोर नबनाउने पक्षमा एन्फा छ । 

नयाँ कार्यसमिति बनेको केही दिनमा नै नेपालका लागि कतारका राजदूतसँग भेट गरेर फुटबल सम्बन्ध सुधार र अझै मजबुत गर्ने कुरामा छलफल भएको छ । त्यसैले पनि एन्फा अल्मुताइरीलाई मोटो करम दिएर प्रशिक्षकको रुपमा बर्खास्त गर्ने योजनामा छैन । 

आत्मसम्मान गुमाउने पक्षमा  अल्मुताइरी
अल्मुताइरी नेपाली फुटबल प्रशिक्षकको रुपमा राम्रो व्यक्तित्व हुन् । तर, खेलाडीसँग गर्ने उनको ब्यवहारले भने उनलाई असल प्रशिक्षकको रुपमा गन्न मिल्दैन । उसै पनि नेपाली राष्ट्रिय टोली सम्हालेको समयमा उनी बेला बेला विवादमा आए । 

नयाँ नेतृत्वसँगको विवाद चर्चाको विषय छ । एन्फा अध्यक्ष पंकज नेम्वाङले काम गर्ने वातावरण नदिएका कारण आफूले राजीनामा दिन एन्फा जाने बताएका अल्मुताइरी अहिलेसम्म प्रशिक्षकको रुपमा यथावत छन् । 
त्यस्तै अल्मुताइरीले एक अन्तरवार्तामा आफू कर्माछिरिङ शेर्पाको नेतृत्व नआए प्रशिक्षकको रुपमा निरन्तर नरहने बताएका थिए । तर शेर्पा नेतृत्वमा नआए पनि उनी काममा फर्कने योजना बनाइ रहेका छन् । काम गर्ने वातावरण नदिएको भन्ने आरोप झुटो भएको प्रमाणित भइसकेपछि अल्मुताइरीले नयाँ नेतृत्वसँग माफी भने मागेका छैनन् । 

खेलाडी प्रशिक्षणमा नआउने सम्भावना 
प्रशिक्षकसँगको विवादपछि टिम बाहिर रहेका खेलाडीहरुले अल्मुताइरी नै प्रशिक्षकको रुपमा रहेको खण्डमा टिममा नफर्किने बताएका थिए । अब अल्मुताइरी नै प्रशिक्षक भए खेलाडीहरु प्रशिक्षणमा नफर्किने अवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप