बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एमसीसीले सत्ता गठबन्धनमा गडबड, निर्वाचनका लागि आयोगले माग्यो ८ अर्ब

बिहीबार, १२ फागुन २०७८, २२ : १८
बिहीबार, १२ फागुन २०७८

आज २०७८ फागुन १२ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा एमसीसीले सत्ता गठबन्धनमा गडबड, एमालेसँग काँग्रेस र माओवादी केन्द्रको छुट्टाछुट्टै छलफल, एमसीसीको विरोधमा आज पनि प्रदर्शन, एमसीसीबारे सत्तारुढ जसपा नेपाल अनिर्णित, नाबालिगलाई बलात्कार गरेको आरोप लागेका पल शाह फरार, ओमानविरुद्ध शानदार जितका साथ नेपाल तेस्रो, सेयर बजारमा एमसीसीको साइट इफेक्ट लगायत छन् ।

१. एमसीसीले सत्ता गठबन्धनमा गडबड
अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन’ (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनबीच ध्रुवीकरण देखिएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले एमसीसीका बारेमा प्रतिनिधिसभामा प्रक्रिया अघि बढाउन चटारो देखाइरहेको समयमा नेकपा माओवादी केन्द्र भने यसलाई विफल बनाउने अडानमा कायम छ । बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरी दलहरु छलफलमा जुटेका छन् । 

​२. एमालेसँग काँग्रेस र माओवादी केन्द्रको छुट्टाछुट्टै छलफल
एमसीसीका सवालमा सत्तारुढ गठबन्धनभित्र खटपट बढेसँगै नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीसँग छुट्टै छलफल गरेका छन् ।

​३. एमसीसीको विरोधमा आज पनि प्रदर्शन
एमसीसीको विरोधमा केही दिन यता दैनिक विरोध प्रदर्शन गर्दै आएका युवा तथा विद्यार्थीले बिहीबार पनि राजधानीको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा एक प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । 

 

४. एमसीसीबारे सत्तारुढ जसपा नेपाल अनिर्णित
आन्तरिक कलहमा फसेको जसपा नेपाल एमसीसीका बारेमा अनिर्णित बनेको छ । सत्तारुढ गठबन्धनमा सामेल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव एमसीसीका बारेमा मौन रहँदा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भने खुलेरै एमसीसीको समर्थनमा लागेका छन् । उनले पार्टीका कार्यकारिणी परिषद सदस्य तथा सांसदहरुको हस्ताक्षरसमेत संकलन गरेको बताइन्छ । डा. भट्टराईले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत भेट गरेका छन् ।

 

५. नाबालिगलाई बलात्कार गरेको आरोप लागेका पल शाह फरार
अभिनेता पल शाहमाथि नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएसँगै प्रहरीले आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाएको छ । यद्यपि पल शाह भने फरार छन् । उनीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ ।

 


६. स्थानीय तहको निर्वाचनका लागि आयोगले माग्यो ८ अर्ब ९५ करोड
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि सरकारसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ बराबरको बजेट माग गर्ने निर्णय गरी अर्थ मन्त्रालयमा निकासाको लागि अनुरोध गरी पठाएको छ ।

 

७. ओमानविरुद्ध शानदार जितका साथ नेपाल तेस्रो
विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानमाथि ९ विकेटको जित हात पारेको हो । 

 

८. सेयर बजारमा एमसीसीको साइट इफेक्ट
अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को साइड इफेक्ट बिहीबारको सेयर बजारमा पनि देखिएको छ । बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा झण्डै ५९ अंकको गिरावट आएको छ । 

 

९.प्रधानन्यायाधीशमाथिको महाभियोग विरुद्धको रिट निवेदन संवैधानिक इजलासमा
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोगका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि संवैधानिक व्याख्याको आवश्यकता रहेको भन्दै उक्त रिटलाई संवैधानिक इजलासमा पठाइएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए ।

 

१०. पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

 

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।  १६ वर्षमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन लागेकाहरूलाई नियमित बढुवा नगरेर आईजीपी निकट मानिसहरुले आर्थिक चलखेल गरेको उजुरकर्ताको आरोप छ ।

 

हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ । सो समूहले एमसीसीमाथिको छलफलमा भाग लिने र एमसीसीको पक्षमा मतदान गर्ने भएको छ ।  

 

नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको राजीनामा उनकै पार्टीका कार्यकर्ताले मागेका छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै कार्यकर्ताले उनको राजीनामा मागेका हुन् ।

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप