फुटतिर गठबन्धन, काँग्रेस–माओवादी आ–आफ्नो बाटो लाग्ने

एमसीसीको विषयले सत्ता गठबन्धन फुटतिर गएको छ । माओवादी केन्द्र कुनैपनि हालतमा संशोधनबिना एमसीसी पास गर्न तयार नभएपछि गठबन्धन फुटतर्फ गएको हो । यद्यपि फुटको औपचारिक घोषणा भने हुन बाँकी छ । माओवादी केन्द्रका एक नेताले बिहीबार भएको नेताहरुबीचको एकपक्षीय र बहुपक्षीय छलफलपछि आ–आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए ।
बिहीबार बिहान माओवादी र एकीकृत समाजवादी पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच संशोधनबिना एमसीसी कुनै हालतमा स्वीकार गर्न नसक्ने निचोडमा पुगेका थिए । यो निष्कर्षपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । त्यसक्रममा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसीमा सहमति जुटेन । त्यसपछि दुवै नेता आ आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेका हुन् ।
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बिहीबार देउवा प्रचण्डको छलफलपछि गठबन्धनमा रहेका दलहरु आआफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको रातोपाटीलाई बताए । ‘आज बिहान प्रधानमन्त्री र हाम्रो अध्यक्षबीच भएको छलफलपछि सौहार्दपुर्ण बातावरणमै आआफ्नो बाटो लाग्ने कुरा बुझेको छु’, नेता पोखरेलले भने, ‘एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र हामी संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेपछि त्यो अवस्था आएको हो ।’
सोही निष्कर्षपछि प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक एक दिनका लागि स्थगित गरिएको थियो । लगत्तै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले पछिल्लो वस्तुस्थितिको बारेमा एमाले नेताहरुलाई जानकारी गराएका थिए ।
यसैबीच प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचपनि बिहीबार अपराह्न भेटवार्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
-
मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
-
आन्तरिक उडान गर्ने हवाई जहाजले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : महेश बस्नेत
-
मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले
-
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
-
वीर अस्पताल सुधारका लागि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन