शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस–एमाले वार्ता : कसले के भने ?

बिहीबार, १२ फागुन २०७८, १९ : ०५
बिहीबार, १२ फागुन २०७८

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्लाई सुचारु गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको बताएका छन् । बिहीबार बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । सो भेटबारे जानकारी दिँदै मन्त्री कार्कीले संसद्लाई सुचारु गराउने सहमति जुटाउनका लागि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको बताएका हुन् । 

उनले भने, ‘संसद्लाई सुचारु गर्नका निमित्त प्रधानमन्त्रीज्यूले अधिकतम सहमति बनाउनका निमित्त सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ । र यो छलफलले संसद् सुचारु हुने विश्वास छ । र जुन एमसीसी छ, एमसीसी सार्वभौम संसद्मा गहन रूपले छलफल भएर एउटा निष्कर्षमा पुग्ने वातावरण तयार हुन्छ भन्ने विश्वास छ । संसद्मा जति राजनीतिक दलहरूको उपस्थिति छ, तिनीहरू सबैको सहमतिमा संसद् सुचारु हुन्छ र संसद्मा एमसीसीको बारेमा छलफल प्रारम्भ हुन्छ । यसका निमित्त प्रधानमन्त्रीजीले अधिकतम प्रयत्न गर्नुभएको छ । समय सीमाको बारेमा हामी सबै जानकार छौँ । र समय सीमा भित्रै एउटा निष्कर्षमा पुग्छौँ ।’

त्यसै गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसीलाई मुलुकको हितमा प्रयोग गर्न सहमत हुनेहरूका बिचमा संवादको आवश्यकता महसुस भएकाले भेटवार्ता भएको बताए । एमसीसीलाई मुलुकको हितमा प्रयोग गर्नुपर्ने उनको भनाई छ । 

उनले भने – ‘एमसीसीलाई मुलुकको हितमा प्रयोग गर्नुपर्छ भनेर सहमत हुनेहरूका बीचमा संवादको आवश्यकता महसुस भयो । मुलुकको हितमा एमसीसीलाई प्रयोग गर्नुपर्छ । यदि एमसीसी रोकियो भने त्यसपछिको हुने परिणामहरू मुलुकको हितमा रहन्छ कि रहँदैन । मुलुकको भविष्यका बारेमा चिन्ता गर्नेहरूका बिचमा अझै पनि थप छलफलको आवश्यकता छ भन्ने विषय हो । त्यस कारण यसका निम्ति समय चाहियो । हामीले एक दिनको समय लियौँ । संवाद सबैसित चलिरहेकै छ ।’

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले गठबन्धन अगाडी बढ्न नसकेको अवस्थामा कसरी अगाडी बढ्ने भन्ने विषयमा कुराकानी भएको बताए । उनले संसद्मा एमालेले उठाएका विषयहरूलाई कसरी समाधान गरिन्छ सोही अनुसार एमाले अगाडी बढ्ने पनि बताए । उनले भने – ‘मुलुकलाई कसरी अगाडी बढाउने, कसरी यो असार २८ गते बनेको अप्राकृतिक किसिमको जुन एउटा गठबन्धन छ, यो गठबन्धनलाई कसरी मुलुकको हितमा लगाउने वा गठबन्धन चल्दै नचल्ने स्थिति बनेको हो भने कसरी अब अगाडी बढ्ने भनेर प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले कुरा गर्न चाहेको हामीले बुझेका छौँ । यदि यो गठबन्धन रहने स्थिति रहेन भने त्यसपछि थप कसरी अगाडी बढ्ने नेकपा(एमाले)ले बिचार गर्छ । एमाले मुलुकमा अहिले उत्पन्न भएका गतिरोध छन् ती गतिरोधलाई निकास दिने र शीघ्र मुलुकमा निर्वाचन गरेर नयाँ जनादेशका साथ मुलुकमा नयाँ सरकार स्थापित गर्न चाहन्छ । यो गठबन्धनको बारेमा स्पष्ट दृष्टिकोण आइसकेपछि त्यसपछि एमाले कसरी अगाडी बढ्छ र संसद्मा हामीले उठाएको इस्यूलाई कसरी समाधान गरिन्छ, त्यसका आधारमा नेकपा एमाले अघि बढ्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप