मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको आग्रहमा यसरी भयो आजको संसद बैठक स्थगित

बिहीबार, १२ फागुन २०७८, १७ : १५
बिहीबार, १२ फागुन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा आजको संसद बैठक स्थगित गराएर ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) बारे दलहरुबीच सहमतिको खोजीमा जुटेका छन् । संसदको गतिरोध अन्त्य गरेर एमसीसीमाथि छलफल अगाडि बढाउन देउवाले अन्तिम प्रयास गरेका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसीका सम्बन्धमा ४ दिनसम्म सहमति नजुटेपछि आजको प्रतिनिधिसभा बैठक अन्तिम समयमा स्थगित भएको हो । एमसीसीबारे सैद्धान्तिक छलफलका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिनको समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ ।

त्यसपछि भयो बैठक स्थगित

काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालका अनुसार कार्यव्यवस्था परामर्श समितिमा संसद बैठकमा एमसीसीबारे छलफल चलाउने प्रस्ताव काँग्रेसले गरेको थियो । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजै एमसीसीमाथि सामान्य छलफल सुरु गर्ने सहमति भएको थियो,’ उनले भनिन्, ‘सामान्य छलफलको हुने हो । बैठक नरोकौं, छलफल चलाउँ भन्ने हाम्रो कुरा थियो ।’

एमसीसीका सम्बन्धमा बोल्न चाहने जति सांसदलाई समय दिने गरी सामान्य छलफल सुरु गर्ने सहमति कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको उनको भनाइ थियो । ‘पूर्व प्रधानमन्त्री र पूर्व सभामुखलाई समय तोक्नु हुँदैन । अरु सबै सांसदलाई समय तोकेर बोल्ने दिने सहमति भएको थियो,’ भुसालले रातोपाटीलाई भनिन् ।

तर सरकारका तर्फबाट फेरि एक पटक प्रतिपक्षी दललाई एमसीसीमाथि सामान्य छलफल हुनुअघि सहमतिमा ल्याउन एक पटक कोसिस गर्ने भनेर बैठक स्थगित गरिएको उनको भनाइ छ । भुसालले भनिन्, ‘आज सत्ता गठबन्धनमा थप छलफल गर्ने र विपक्षी दलसँग पनि सरकारले वार्ता अगाडि बढाउन संसद बैठक स्थगित गरिएको हो । एमसीसी पास गर्न हामी संयुक्त प्रयासमा जुटेका छौं ।’

समितिको बैठकमा सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि आजको बैठक रोक्न आग्रह गरेका थिए । एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्र र आफूहरुले संसद सूचारु भएपछि मात्र छलफल सुरु गर्न सुझाएको बताए ।

उनले भने, ‘टेबल गर्नेसम्म त भइ नै सक्यो । एमसीसी अब एउटा छलफलमा जाने तहमा बसिसकेको छ । आजको बैठक रोकौं भनेर मैले सुझाव राखेको थिएँ ।’ श्रेष्ठका अनुसार आइतबार संसदमा एमसीसी टेबल हुँदा पनि सहमतिको वातावरण बनाएर छलफल प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

‘संसदमा प्रमुख प्रतिपक्षको अवरोध हटाउन प्रयास गर्ने कुरा पनि भएको थियो । संसद सुचारु गरेर छलफलमा जाने कुरा भएको थियो,’ उनले भने, ‘तर आजै सैद्धान्तिक छलफलका लागि भनेर प्रस्ताव आयो ।’ उनका अनुसार बैठकमा माओवादी र एकीकृत समाजवादीले संसद सुचारु नभइ छलफल अगाडि बढाउन नसकिने बताएका थिए ।

‘हामीले संसदमा छलफलको वातावरण छैन । प्रमुख प्रतिपक्षले अवरोध सिर्जना गरिरहेको छ । अवरोधका बीचमा कसरी कुरा राख्ने ?’ आफूले बैठकमा राखेको भनाइ उद्धृत गर्दैै उनले भने, ‘आजै एमसीसीलाई छलफलमा नलैजाऔं । प्रमुख प्रतिपक्षीलाई पनि सहमतिमा ल्याउनका लागि सरकार र सभामुखले पनि प्रयास गरौं ।’ त्यसपछि पनि केही उपाय लागेन भने एमसीसीलाई अगाडि बढाउँला भन्ने आफूहरुको प्रस्ताव रहेको उनले सुनाए ।

तर सरकारकातर्फबाट कार्यव्यवस्था परामर्श समितिको बैठकमा आएका गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री दिलेन्द्र बडू र काँग्रेस सचेतक पुष्पा भुसालले एमसीसी प्रस्तावलाई छलफलमा लानुपर्नेमा जोड दिए ।

‘छलफलमा लानै पर्छ । आज छलफल प्रारम्भ गर्नै पर्छ भन्ने धारणा उहाँहरुले राख्नुभयो, श्रेष्ठले भने, ‘त्यसपछि छलफलमा जाने भनेरै कार्यव्यवस्था परामर्श समितिबाट हामी निस्केका थियौं ।’

कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कानुनमन्त्री बडू र सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवा आजको बैठक स्थगित गराउन तयार भए । प्रधानमन्त्री देउवाको सन्देश बोकेर कानुनमन्त्री बडू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगे । त्यसपछि आजको बैठक स्थगित गरिएको सूचना जारी भएको हो ।

बैठक स्थगित गरेर प्रधानमन्त्री देउवाले संसद भवनमै एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरे । संसद भवनमा रहेको एमाले अध्यक्ष ओलीको कार्यकक्षमा देउवा र ओलीबीच छलफल भएको हो । छलफलमा काँग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र महामन्त्री गगन थापा पनि सहभागी थिए । ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई साथमा राखेका थिए । काँग्रेस र एमालेबीच भएको छलफलको विषय गोप्य राखिएको छ ।

यता सिंहदरबारमा सभामुख सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच पनि छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप