बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : फुलकोर्ट बहिष्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय, प्रचण्ड र माधवलाई ओलीको चुनौती

गठबन्धन बीचको खटपटले मुख्यमन्त्री आचार्यको कार्यकाल लम्बियो
आइतबार, ०७ कात्तिक २०७८, २० : ४९
आइतबार, ०७ कात्तिक २०७८

आज २०७८ कार्तिक ७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा प्रधानन्यायाधीशले बोलाएको ‘फुलकोर्ट’ बैठक न्यायाधीशहरुले बहिष्कार गर्ने, गठबन्धनबीचको खटपटले मुख्यमन्त्री आचार्यको कार्यकाल लम्बियो, प्रधानमन्त्रीबाट बाढी प्रभावित पूर्वी जिल्लाको निरीक्षण, प्रचण्ड र माधवकुमार नेपाललाई ओलीको चुनौती, चार वर्षअघि पराजित स्थानीय तहका उम्मेदवार पुनः मतगणनामा विजयी घोषित, ओली सरकारले ल्याएकै बजेटअनुसार हिसाब गर्दै देउवा सरकार, कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनभित्र खटपट लगायत छन् ।

१.प्रधानन्यायाधीशले बोलाएको ‘फुलकोर्ट’ बैठक न्यायाधीशहरूले बहिष्कार गर्ने
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको ‘फुलकोर्ट’ बैठक अन्य न्यायाधीशले बहिष्कार गर्ने भएका छन् । आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरुको अनौपचारिक बैठकले सोमबारका लागि बोलाइएको ‘फुलकोर्ट’ बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । पछिल्लो समय प्रधानन्यायाधीश जबरा विवादमा मुछिएका छन् ।

आइतबार बारका पदाधिकारीले प्रधानन्यायाधीशसँग छलफलसमेत गरेका थिए । छलफलमा न्यायालयमा सुधारका लागि आफू प्रतिवद्ध रहेको बताएका प्रधानन्यायाधीश जबराले सोमबारका लागि ‘फुलकोर्ट’ बैठक राखेका छन् । तर, न्यायाधीशहरूले उक्त बैठक बहिष्कार गर्ने निर्णय गरेसँगै प्रधानन्यायाधीशमाथि चुनौती थपिएको छ ।

२. गठबन्धन बीचको खटपटले मुख्यमन्त्री आचार्यको कार्यकाल लम्बियो
अल्पमतमा परिसकेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको कार्यकाल थप लम्बिएको छ । गठबन्धन घटकबीचको खटपटका कारण प्रदेशसभाको निर्धारित बैठक आइतबार बस्न नसकी प्रदेश सरकारको कार्यकाल लम्बिएको हो ।

आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची थियो । तर गठबन्धनकै घटक नेपाली काँग्रेसले आइतबारको बैठक स्थगित गर्न प्रदेशसभाका सभामुखलाई पत्र पठायो । आइतबार नेकपा एमालेले पनि प्रदेशसभा बैठक नराख्न सभामुखलाई आग्रह गरेपछि पूर्वनिर्धारित बैठक बस्न सकेन । प्रदेशसभाको अर्को बैठक कार्तिक १५ गतेका लागि राखिएको छ । प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ ।

३. प्रधानमन्त्रीबाट बाढी प्रभावित पूर्वी जिल्लाको निरीक्षण
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बाढी प्रभावित पूर्वी जिल्लाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले पीडितका लागि सरकारले चाँडै राहतका कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।

४. प्रचण्ड र माधवकुमार नेपाललाई ओलीको चुनौती
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चुनाव जितेर देखाउन चुनौती दिएका छन् । आइतबार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो चुनौती दिएका हुन् । सो अवसरमा झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई लगायतकाहरु एमालेमा प्रवेश गरेका छन् । 

५. उत्पीडन र अत्याचार पुनर्स्थापित गराउन चाहनेबाट माओवादीको विरोध : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक विभेद रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनःस्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरेको प्रस्ट पारेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलित, जनजाति, आदिवासी समुदाय र महिलाको हकका निम्ति आफ्नो पार्टीले संघर्ष गर्दै आएको बताए ।

६. चार वर्षअघि पराजित स्थानीय तहका उम्मेदवार पुनः मतगणनामा विजयी घोषित
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्ष पदका लागि २०७४ सालमा भएको निर्वाचनको आइतबार पुनः मतगणना हुँदा स्वतन्त्र उम्मेदवार रमेश कुमार रायलाई विजयी घोषित गरिएको छ । त्यतिबेला दुई उम्मेदवारको समान मत आएपछि गोलाप्रथामा उनी पराजित ठहरिएका थिए । सर्वोच्च अदालतको आदेशपछि आइतबार पुनः मतगणना हुँदा उनी दुई मतले विजयी घोषित भएका हुन् ।

७. ओली सरकारले ल्याएकै बजेटअनुसार हिसाब गर्दै देउवा सरकार
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको बजेटले प्रतिस्थापन गरिसके पनि अर्थ मन्त्रालयले भने पूर्ववर्ती सरकारले ल्याएकै बजेटअनुसार खर्च भइरहेको हिसाब देखाएको छ । महालेखा परीक्षक कार्यालयले अहिले पनि पूर्ववर्ती ओली सरकारकै पालामा ल्याइएको बजेटको हिसाब देखाइरहेको छ ।

८. मदन भण्डारीका हत्यारालाई ओलीले लुकाएको आरोप
नेकपा एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले मदन भण्डारीका हत्यारालाई ओलीले लुकाएको आरोप लगाएका हुन् ।

९. कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनभित्र खटपट
कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनभित्र खटपट देखिएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र सत्ता साझेदार दल नेपाली काँग्रेसबीच आलोपालो नेतृत्वको विषयलाई लिएर खटपट देखिएको हो । 

१०. पछिल्लो २४ घण्टामा ५५७ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ५५७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८७७ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
विगत ६ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले यही सातादेखि नयाँ आवेदन खुलाउने तयारी गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उत्साहजनक वृद्धि आएको हो । यसक्रममा २ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएर ५८ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेकपा एमालेको कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । आइतबार एमाले र प्रतिष्ठानबीच सहमति भएसँगै एमाले कार्यालय थापाथलीबाट च्यासलमा सर्न लागेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप