शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र माधवलाई चुनाव जितेर देखाउन ओलीको चुनौती

आइतबार, ०७ कात्तिक २०७८, १७ : २०
आइतबार, ०७ कात्तिक २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका कारण चुनाव जितेको दावी गरेका छन् । आइतबार झापामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले माओवादी र माधव नेपालको पार्टीले अरुले उमारेको जुँगामा ताउ लाइरहेको पनि बताए । उनले प्रचण्ड र माधव नेपाललाई अव चुनाव जितेर देखाउन चुनौती समेत दिए । ‘प्रचण्डले अब जितेर देखाउन् त, माधव नेपालले जितेर देखाउन् त ?’ओलीको भनाइ छ । उनले एमालेबाट गएका अरु नेता कार्यकर्ता फर्किए स्थान दिने भन्दै माधव नेपाललाई अव एमालेले कुनै स्थान दिन नसकिने बताए । ‘माधव नेपाललाई अब एमालेले कुनै स्थान दिँदैन, उनी कम्युनिस्ट आन्दोलन विरोधी हुन्, गद्दार हुन्’, ओलीको आरोप छ ।  

अध्यक्ष ओलीले सरकार र सत्तारुढ दलहरुलाई खराव काम गर्नेहरुको संज्ञा दिँदै बुझीबुझी एमालेको इर्श्याका कारण देशलाई नै समाप्त पार्ने प्रयासमा लागेको बताए । ‘प्रतिकृयावादीसँग साँठगाँठ गरिरहेका छन्, वामपन्थी सरकार ढाल्ने र दक्षिणपन्थी सरकार बनाउने गरेका छन्’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकारले केही गर्न नसक्ने दावी गरे । ‘तीन महिनामा २५ जना मन्त्री भए एउटा मन्त्री तीन दिनमै फुस्किए । प्रधानमन्त्री वातावरणसम्बन्धी वेलायत जाँदै हुनुहुन्छ तर राजदूत फिर्ता बोलाएका छन्,अरु कारण छैन । एमालेले नियुक्त गरेका कारण राजदूत फिर्ता गरेका हुन्’, ओलीको भनाइ छ ।   

उनले नेकपा एमालेले जनता र राष्ट्रको हितमा काम गर्ने भन्दै स्वार्थका लागि अवाञ्छित सम्झौता नगर्ने दावी समेत गरे । उनले एमाले नेतृत्वको सरकारले गरेका कामले राष्ट्रको शीर माथि उठाएको समेत बताए । उनले नेपाल अव गरिव देश रहिरहन नसक्ने भन्दै धनी बनाएरै छाड्ने उदेश्य अनुसार आफ्नो पार्टीको नेतृत्वको सरकारले देश बनाउन सम्मृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई अघि सारेकाले त्यसलाई सफल पार्नुको विकल्प नभएको बताए ।

संविधान सभा अध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङले जनताको मतबाट प्रधानमन्त्री भएका केपी शर्मा ओली सर्वोच्च अदालतको परामदेशबाट हटाइएको बताए । उनले परमादेशबाट कम्युनिस्ट नेतृत्वको सरकार हटाएर शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै नेकपा एमाले र केपी शर्मा ओलीप्रति जनताको माया र आकर्षण बढेको दावी समेत गरे । उनले परमादेशबाट बनेको सरकारले ८८ दिनसम्म सरकार नै विस्तार गर्न नसकेको भन्दै त्यही पनि एक जना मन्त्रीले सपथ लिएको भोलिपल्ट नै राजीनामा गर्नुपरेबाटै सरकारको हैसियत देखिएको बताए ।

नेम्वाङले एमालेलाई कमजोर बनाउन लाग्नेहरूमा झापामा भएको पार्टी प्रवेश कार्यक्रमले भुइँचालो ल्याएको बताए । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले जनताका समस्या सम्बोधन गर्न लाग्नुपर्ने सत्तासीन दलका नेताहरु जिपलाइनमा रमाइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप