बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अत्याचारलाई पुनःस्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरे : प्रचण्ड

आइतबार, ०७ कात्तिक २०७८, १६ : ५९
आइतबार, ०७ कात्तिक २०७८

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनःस्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरेका बताएका छन् । आइतवार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘ज्योति स्पर्श’ र ‘रातो बारुद’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

माओवादीले दलित, जनजाति, आदिबासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उनले दलित समुदाय आफूलाई अत्याचार गर्नेहरुको पछाडि लागेर हिँड्दा भने आफूलाई नमिठो लाग्ने तर्क गरे । उनले भने,  ‘तपाईहरुले देख्नुभयो नि हिजोका सरकारका कतिपय ठुल्ठूला महान विद्धान कर्मचारीतन्त्रका ठुला भन्नेहरु चाहिँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्ति मात्रै । को हुन् ति मान्छेहरु ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरी पुनःस्थापित गर्न चाहाने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरूलाई सिध्याएपछि हुन्छ के ? तर दुर्भाग्य के छ भने जुन वर्ग, समुदायका निम्ति भनेर हामी लडाइँ लड्यौँ, त्यो वर्ग समुदायपनि जानेर वा नजानेर आफुलाई नै अत्याचार गर्नेहरुको पछिपछि लागेर ताली पिट्दै हिँडेको देख्दा मलाई कहिलेकाहीँ बडो नमिठो लाग्छ । के भएको होला भन्ने महशुस हुन्छ ।’

 पूर्व अर्थसचिव खनालले केही दिन अघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त ।’ भनि ट्वीट गरेका थिए । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा जातिय विभेद हटाउन अन्तरजातीय विवाह गर्ने क्रम सुरु भएको भएपनि अझै जातिय विभेद कायम रहेकोमा दुःख व्यक्त गरे । 

उनले कतिपयले जातिय विभेदको अन्त्य गर्न भनि भएको विद्रोहलाई बदनाम गर्न र संघीयता उल्ट्याउन चाहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप