बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : १४ औं महाधिवेशनमा होमियो काँग्रेस, एमालेबाट बामदेव गौतमले दिए राजीनामा

विवादपछि ‘ब्याक’ भए ओली
शुक्रबार, १८ भदौ २०७८, २० : ५२
शुक्रबार, १८ भदौ २०७८

आज २०७८ भदौ १८ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा १४ औं महाधिवेशनमा होमियो काँग्रेस, देशका विभिन्न भागमा बाढी पहिरोबाट जनधनको क्षति, एमालेबाट बामदेव गौतमले दिए राजीनामा, एसएमजी चोरी प्रकरणमा २८ महिनादेखि थुनामा रहेका दुई सैनिक रिहा, एमसीसीको विरोधमा प्रदर्शन, तीन दिन यता दार्चुलाको आकाशमा भारतीय हेलिकप्टर उड्दै, विवादपछि ‘ब्याक’ भए ओली लगायत छन् ।

१. महाधिवेशनमा होमियो काँग्रेस
लामो समयको अन्योलपछि अन्ततः नेपाली काँग्रेस १४ औं महाधिवेशनमा होमिएको छ । महाधिवेशन अन्तर्गत काँग्रेसले शुक्रबारदेखि वडा तहमा अधिवेशन थालेको छ । वडा तहको अधिवेशनलाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार नै भक्तपुर पुगेर उद्घाटन गरेका छन् । 

२. बाढीपहिरोले जनधनको क्षति, पर्वतमा १० जनाको मृत्यु
देशका विभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति भएको छ । अविरल वर्षा र पहिरोले पर्वतमा एकै घरका पाँचसहित १० जनाको मृत्यु भएको छ । यस्तै, मकवानपुरमा बाढीले ट्रक बगाउँदा दुई जना बेपत्ता भएका छन् । पोखरामा पनि खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

३. एमालेबाट बामदेव गौतमले दिए राजीनामा
नेकपा  एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । शुक्रबार थापाथलीस्थित पार्टी कार्यालय पुगेर उनले राजीनामा दिएका हुन् । एमाले विभाजनपछि उनी राजनीतिक रुपमा दुवै पक्षसँग असहमत देखिएका छन् ।  

४. एसएमजी चोरी प्रकरणमा २८ महिनादेखि थुनामा रहेका दुई सैनिक रिहा
सेनाको व्यारेकबाटै एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक शुक्रबार रिहा भएका छन् । २८ महिनादेखि थुनामा रहेका उनीहरुलाई सैनिक विशेष अदालतको फैसलाअनुसार रिहा गरिएको हो । सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई हतियार चोरीमा संलग्न भएको अभियोगमा पक्राउ गरी चितवनस्थित कारागारमा राखिएको थियो ।

५. एमसीसीको विरोधमा प्रदर्शन
काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गरिएको छ । एमसीसी खारेज राष्ट्रिय अभियानले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

६. तीन दिन यता दार्चुलाको आकाशमा किन उडिरहेछ भारतीय हेलिकप्टर ?
तीन दिन यता सुदूरपश्चिमको दार्चुला जिल्लाको आकाशमा भारतीय हेलिकप्टर बारम्बार उड्ने गरेको छ । स्थानीय प्रशासनले भारतीय पक्षलाई हेलिकप्टर नेपाली क्षेत्रमा प्रवेश नगराउन लिखित आग्रह गरे पनि सुनुवाई भएको छैन । यसबारे गृह मन्त्रालयलाई समेत जानकारी गराए पनि कुनै प्रतिक्रिया नआएको स्थानीय प्रशासनको भनाइ छ ।

७. एमाले छाडेर जनप्रतिनिधिहरु नेकपा एकीकृत समाजवादीमा सामेल हुने क्रम जारी
राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार विभाजन भएको नेकपा एमालेबाट जनप्रतिनिधिहरु धमाधम नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरिरहेका छन् । यसरी प्रवेश गर्ने कार्यकर्तालाई रोक्न एमालेले कतै २०७५ जेठ २ अनुसारकै जिम्मेवारी दिइएको पत्र पठाएको छ । यद्यपि दल विभाजन भइसकेको भन्दै कतिपयले त्यस्तो पत्रको समेत बेवास्ता गरी नयाँ दलका पक्षमा आफ्नो सनाखत गराउँदै आएका छन् ।

८. संवैधानिक इजलास सम्बन्धमा जारी अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन
प्रधानन्यायाधीशलाई बाहेक गरेर संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध कानुन व्यवसायीले भ्याकेट निवेदन हालेका छन् । शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा भ्याकेट निवेदन लगेका हुन् ।  

९. विवादपछि ‘ब्याक’ भए ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार प्रगतिशील पेसागत कानुन व्यवसायी संघ (पीपीएलए) को भेलामा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहे पनि विवाद बढेपछि अन्ततः उनी ‘ब्याक’ हुँदै उक्त कार्यक्रममा सहभागी भएनन् । १० बुँदे सहमतिको भावना विपरीत भेला बोलाइएको भन्दै तेस्रो धारका नेताहरुले आपत्ति जनाएपछि ओली सहभागी नभएका हुन् । भेलामा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भए ।

१०. एक हजार ७५६ संक्रमित थपिँदा दुई हजार २७४ जना निको भए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप एक हजार ७५६ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दावी गरेका छन् । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हट्नु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने बताएका हुन् ।

राजस्वबाट चालू खर्च धान्न धौधौ परिरहेको बेलामा बजेट सदुपयोग गरी मितव्ययी ढङ्गले धेरै काम गर्नुपर्ने भए पनि गर्जो टार्नेतर्फ भन्दा पनि सरकारको रफ्तार बजेट दुरुपयोगतर्फ बढेको छ । बजेट विनियोजन गर्ने अर्थ मन्त्रालयले नै यो विकृतिको नेतृत्व गरिरहेको पाइएको हो ।

भक्तपुरको सिद्दी स्मृति अस्पतालको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै आफन्तले धर्ना दिएका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ ढाडा गाउँकी ३० वर्षकी सुत्केरी रिता तामाङको मृत्यु भएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप