शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बारम्बार किन भासिन्छ पोखरा ?

विज्ञ भन्छन्– अव्यवस्थित भौतिक संरचना नै मुख्य कारण
शुक्रबार, १८ भदौ २०७८, १७ : २९
शुक्रबार, १८ भदौ २०७८

मनसुनी वर्षा सुरु भएपछि पोखराका विभिन्न क्षेत्रमा जमिन भासिएको छ । पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल, नदिपुरलगायतका स्थानमा जमिन भासिएको छ । लगातार वर्षा हुने बित्तिकै पोखरा क्षेत्रका नदिपुर, सिर्जनाचोक, महेन्द्रपुल, चिप्लेढुङगा र न्युरोड क्षेत्रमा भ्वाङ पर्ने गर्दछ । पोखरा महानगरपालिका–१६, अर्मलामा २०७० साल मंसिरमा ठूल्ठूला भ्वाङ परेका थिए । तर, पछि अर्मलामा भ्वाङ पर्ने समस्या नदेखिएको स्थानीयवासी बताउँछन् ।

तर, पोखराका अन्य क्षेत्रमा लगातार पानी पर्दा भ्वाङ पर्ने र भासिने समस्या भने कायमै छ । लगातारको वर्षापछि गत हप्ता पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलको फुट ट्रयाकसहित सडक छेउको जमिन भासिएको छ । सडक र फुटपाथ भासिएपछि स्थानीयवासी चिन्तित बनेका छन् । महेन्द्रपुल पोखराको मुख्य बजारका रुपमा चिनिन्छ ।

बुधबारमात्रै पोखरा–३ नदीपुरमा जमिन भासिएको छ । जमिन भासिँदा तीन घर र सडकमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । लगातार परेको मुसलधारे वर्षाका कारण स्थानीय देउबहादुर पुन, छविलाल पुन र बलबहादुर पुनको घर भासिएको उनले बताए । ३ वटै घरको कम्पाउन्ड, पर्खाल भासिएको छ । छविलालको घरको गेट भासिएको छ भने बलबहादुर पुनको कम्पाउण्ड वाल र देउ बहादुरको आँगनसहित गेट भासिएको छ ।

घरको आँगन र सडक भासिएपछि तत्कालै पोखरा महानगरको प्राविधिक टोलीले मर्मतको काम गरेको पोखरा महानगरपालिकाका इन्जिनियर भुवनेश्वर तिमिल्सिनाले बताए । उनले मनसुनी वर्षा सुरु भएपछि पोखरामा भासिएका आधा दर्जनभन्दा धेरै ठाउँमा तत्कालै मर्मत कार्य गरिएको बताए ।

इन्जिनियर तिमिल्सिनाले पोखराको भू–बनोट नरम खालको चुनयुक्त माटो मिसिएका कारण पानी जमेर सामान्य सिफेज भएको अवस्थामा पनि जमिन भासिएर भ्वाङ पर्ने अवस्था रहेको बताए । ‘हिमताल फुटेर पोखरा उपत्यका बनेकाले यहाँ जमिनभित्रको कंक्रिटमा चुनयुक्त माटो छ । त्यसैले सामान्य रुपमा पानीको सिफेज हुने बित्तिकै जमिन भासिएर भ्वाङ पर्छ,’ उनले भने, ‘जमिन भासिनबाट जोगाउनका लागि भौतिक संरचना निर्माण गर्दादेखि नै विशेष ध्यान दिएर पानी जम्न र सिफेज हुनबाट रोक्ने गरी विचार पु¥याउन आवश्यक छ ।’

इन्जिनियर तिमिल्सिनाले शहरीकरण सुरु भएपछि विगत साढे दुई दशकदेखि पोखरा क्षेत्रमा भ्वाङ पर्ने समस्या देखिएको बताए । ‘पोखरा क्षेत्रमा साढे दुई दशक यता शहरीकरणसँगै जमिन भासिएर भ्वाङपर्ने समस्या देखिएको छ,’ उनले भने, ‘शहरीकरणसँगै भ्वाङ पर्ने समस्या देखिएकाले भौतिक संरचना निर्माणसँगै ढल निर्माण लगायतका कार्यलाई व्यवस्थित गर्नुपर्ने अवस्था देखिन्छ ।’

भूगर्भविद्हरू पोखरामा बारम्बार भ्वाङ पर्ने मुख्य कारण पोखराको भौगोलिक बनावटलाई नै बताउँछन् । उनीहरुका अनुसार करिब १२ हजार वर्षअघि अन्नपूर्ण हिमालमा गएको हिम पहिरोले हिमताल फुटेर आएको बाढीले बगाएर ल्याएको ढुंगा, माटोलगायत गेग्य्रान थुप्रिएर पोखरा उपत्यका बनेकाले जमिनभित्र चट्टानको बीचमा चुनायुक्त माटो रहेका कारण पानी छिरेपछि बिस्तारै पग्लिएर जमिन भासिन्छ । वर्षासँगै विभिन्न छिद्रबाट पानी जमिनभित्र छिरेपछि विस्तारै चुनायुक्त लेदो बगाउँदा जमिन कमजोर भएर भासिने उनीहरुको भनाइ छ ।

बारम्बार किन भासिन्छ पोखरा ?

परापूर्वकालमा हिमपहिरोका कारण हिमतालसहितको गेग्य्रानहरु थुप्रिएर पोखरा उपत्यका बनेकाले पोखराको जमिनमा प्रशस्तमात्रमा चुनाले गेग्य्रानलाई जमाएकाले छिद्र मार्फत पानी छिरेर चुनायुक्त माटो बगाएपछि जमिन भासिन थाल्ने भूगर्वविद् श्रीकमल द्विवेदी बताउँछन् । ‘पोखरा परापूर्वकालमा पहिरोसँगै हिमताल फुटेर बनेको उपत्यका हो, हिमतालसँगै आएको पहिरोले बगाएर ल्याएका कंक्रिट र गेग्य्रानलाई तालको पिँधमा रहेको चुनायुक्त माटोले जमाएर राखेको छ,’ उनले भने, ‘जब पोखरा क्षेत्रमा पानी पर्छ, त्यो पानी कुनै कारणले फाटिएको छिद्रमार्फत जमिनभित्र पस्छ, त्यसपछि विस्तारै चुनायुक्त लेदो बगाउँदा जमिन कमजोर भएर भासिन्छ ।’

पोखरा उपत्यकामा कमजोर भूबनोट भएका कारण भेल बाढीले सजिलै सडक खोतल्ने गरेको उनको भनाइ छ । भूगर्भविद् द्विवेदी दुई दशकदेखि पोखरा उपत्यकामा तीव्ररुपमा सहरीकरण भएको बताउँदै पानीको चापसँगै व्यवस्थित भौतिक संरचना निर्माण र ढलको उचित व्यवस्था नहुँदा बारम्बार जमिन भासिने गरेको बताउँछन् ।

‘सहरीकरणसँगै व्यवस्थित तरिकाले ढलको निकास गरिएको भए बारम्बार जमिन भासिने अवस्था नआउन सक्थ्यो, पोखरामा सामान्य बस्ती भएको बेला बनाइएका साना ढलहरूलाई समयक्रम अनुसार बढाएर सहज रुपमा पानी बग्ने व्यवस्था नभएका कारण जमिनको छिद्रमार्फत पानी छिरेपछि भासिने क्रम बढेको हो,’ उनले भने ।

पोखरामा जमिनको संरचना कमजोर रहेको र पानीको निकासले खोतल्दै जाँदा सुरुङ बनेको भन्दै उनले त्यस्तो जमिनमाथि अव्यवस्थित भौतिक संरचना निर्माण भएपछि भार थेग्न नसकेरसमेत भासिने गरेको बताए ।

उनले पोखरा उपत्यकामा पानी र ढलको व्यवस्थापन उचित नभएका कारण सडकमा बगेर छिद्रमार्फत कमजोर ठाउँबाट पानी छिर्ने गरेको र जमिन कमजोर बनाएपछि क्रमशः भासिने गरेको प्रस्ट पारे । भूगर्वविद् द्विवेदी यसरी भ्वाङ पर्न नदिन सबैभन्दा पहिले पानी परेपछि सहज रुपमा बगेर जाने विकल्प दिनुपर्ने बताउँछन् । उनले भने, ‘त्यसपछि पानी छिर्ने सम्भावित छिद्रहरुको मर्मत सम्भार, व्यवस्थित पूर्वाधार एवं प्रविधियुक्त भौतिक संरचना निर्माण गर्न आवश्यक छ ।’

के हुनसक्छ समाधान ?

इन्जिनियर तिमिल्सिनाले पोखरालाई व्यवस्थित सहर बनाउनका लागि टाउनप्लानिङको मापदण्ड कायम नभएकाले पनि जमिन भासिने क्रम बढेको बताए । बिना योजना अव्यवस्थित रुपमा पोखरा क्षेत्रमा बाटोघाटोदेखि अन्य संरचना निर्माण भएकाले पानी जम्ने र सिफेज भएपछि जमिन भासिने समस्या देखिएको उनको भनाइ छ ।

उनले भने, ‘पोखरा क्षेत्रको जमिन भासिनबाट रोक्ने हो भने पानी नजम्ने गरी सडक निर्माण गर्ने र पानीको उचित निकास हुने गरी व्यवस्थित ढल निर्माण गर्न आवश्यक छ ।’ इन्जिनियर तिमिल्सिनाले पोखरा क्षेत्रमा तीन÷चार दशक पहिले बनाइएका साना आकारका नाली भरिएर बाटोमा पानी बग्ने भएकाले पनि सडक भासिने गरेको बताए । उनले अहिले पोखरा क्षेत्रमा खानेपानीको पाइप गाड्नका लागि सडक खनिएका कारणसमेत त्यहीँबाट भ्वाङ बनाएर पानी पस्ने र जमिन भासिने क्रम बढेको बताए ।

पोखरा क्षेत्रमा खानेपानीको पाइप विस्तारका क्रममा खनिएका सडकलाई व्यवस्थित गर्न महानगर, खानेपानी संस्थान, सडक विभाग लगायतका निकायबीच सहकार्य भइरहेको उनले बताए । सन् १९९८ मा नेपालको खानी तथा भूगर्भ विभाग र जर्मनीको भूवैज्ञानिक तथा प्राकृतिक स्रोतसाधन संस्थान (बिजीआर)ले पोखराको भौगर्भिक अध्ययन गरेको थियो । अध्ययनमा पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, छोरेपाटन लगायतका ठाउँको जमिन निकै कमजोर रहेकाले सकभर धेरै भार हुने गरी संरचना बनाउन नहुने उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप