बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा नेकपा एकीकृत समाजवादीका नेतालाई फकाउँदै एमाले

२०७५ जेठ २ अघिकै जिम्मेवारीसहित पत्र पठाइयो
शुक्रबार, १८ भदौ २०७८, १४ : ४०
शुक्रबार, १८ भदौ २०७८

नेकपा एमाले दैलेख जिल्ला कमिटीले नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वरुननाथ योगीलाई एमालेको जिम्मेवारी दिएको छ । एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रहसहितको पत्र लेखेका हुन् । केन्द्रीय कमिटी बैठकले एमालेका सम्पूर्ण संरचना जेठ २ गतेको अवस्थामा फर्काएको भन्दै योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रह गरिएको छ ।

पत्रमा भनिएको छ, ‘भदौ १० गतेको केन्द्रीय कमिटी बैठकले मातहतका सबै कमिटीहरु २०७५ जेठ २ गते पूर्व कायम गर्ने निर्णय भए बमोजिम हाम्रो पार्टीको मिति २०७८ साल भदौ १७ गतेको जिल्ला कमिटी सचिवालय बैठकले उक्त निर्णय लागू गर्ने र २०७५ साल जेठ २ गतेदेखि हालसम्मका नेकपाकालीन थप जिम्मेवारीलाई सम्बोधन गर्ने गरी अन्तरपार्टी निर्देशन अनुसार तपाईलाई विगतको जिम्मेवारी कायम गरिएको छ ।’

पत्रमा एमालेले यसअघि गरेको सम्पूर्ण कारबाही निष्कृय गरिएको समेत उल्लेख छ । उनलाई भदौ २४ गतेभित्र कमिटीको बैठक गरी पार्टीको सदस्यता नवीकरण लगायतका कामहरु गरी जिल्ला कमिटीमा प्रतिवेदन पेस गर्नसमेत भनिएको छ ।

‘कमरेडले मिति २०७८ भदौ २४ गतेभित्र कमिटीको बैठक गरी पार्टीको सदस्यता नवीकरण लगायतका अन्य कामलाई सम्पादन गरी जिल्ला कमिटीमा प्रतिवेदन प्रस्तुत गर्नुहुने छ भन्ने विश्वासका साथ यो जिम्मेवारी पत्र पठाइएको छ,’ पत्रमा भनिएको छ ।

यता, समाजवादीको जिल्ला अध्यक्ष योगीले भने उक्त पत्र औचित्यहीन रहेको बताएका छन् । उनले रातोपाटीसँग भने, ‘हामी एकीकृत समाजवादीमा लागिसकेपछि र हाम्रो पार्टी भइसकेपछि लेखेको चिठीको कुनै अर्थ छैन । पार्टीमा आएको समस्याले हाम्रो पार्टी अलग भइसक्यो । म नेकपा एकीकृत समाजवादीको जिल्लाको अध्यक्ष हो ।’

केही समय अघि नै रवीन्द्रराज शर्माले योगीलाई कारबाही गरेको भनेर पत्रसमेत लेखेका थिए । ‘अहिले कारबाही फुकुवा भनेर लेख्नुभएछ,’ उनले भने, ‘उहाँहरु यस्ता कृत्रिम कामहरु गर्नुहुन्छ । कुनै पनि पार्टीको प्रमुखले यस्तो पत्र लेख्नु गलत हो । फकाउन खोज्नु भएछ ।’ 

योगीले एमालेमा नैतिकता नरहेका कारण यस्ता पत्र पठाइएको पनि जिकिर गरेका छन् । दैलेखमा राम्रो छवि बनाएका नेता योगी एमालेको नवौं महाधिवेशनमा दैलेखको उपाध्यक्षमा पराजित भएका थिए । उनी तत्कालीन नेकपाको जिल्ला कमिटी सदस्य थिए । एमालेभित्रको विवाद उत्कर्षमा पुगेकै बेला वैशाख १३ गते उनको नेतृत्वमा एमालेले समानान्तर कमिटी गठन गरेको थियो ।

माधवकुमार नेपाल एमालेबाट छुट्टिएपछि समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा विलय भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप