शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रधानमन्त्रीको अमेरिका भ्रमणप्रति संसदीय समितिको चासो, मल ल्याउन सरकारलाई संसदको ताकेता

सोमबार, ३० जेठ २०७९, २१ : ३३
सोमबार, ३० जेठ २०७९

आज २०७९ जेठ ३० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा रासायनिक मल ल्याउने सबै उपाय अवलम्बन गर्न सरकारलाई संसदको निर्देशन, एमाले सचिवालय बैठकको ठहर– बाह्य सम्बन्धमा विचलन; स्थानीय निर्वाचन परिणाम अपेक्षाकृत आएन, प्रस्तावित अमेरिका भ्रमणबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्रीलाई, विश्वराजको मुद्दा ‘हेर्दाहेर्दै’मा; अब असार ५ गते सुनुवाइ, बजेट निर्माणमा तोकिएकाबाहेक कोही सहभागी नभएको अर्थ मन्त्रालयको प्रष्टोक्ति, कार्यकर्ताको घरमा पलेँटी कसेर खाए प्रचण्डले लगायत छन् ।

१. रासायनिक मल ल्याउने सबै उपाय अवलम्बन गर्न सरकारलाई संसदको निर्देशन
खेती गर्ने मुख्य सिजनमै रासायनिक मलको अभाव देखिएको भन्दै संसदले मल ल्याउने सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार एमालेका १५ सांसदले स्थगन प्रस्तावमार्फत बजेटमाथिको छलफल रोकेर रासायनिक मलको अभाव सम्बन्धी विषयमा विशेष छलफलको माग गरे बमोजिम प्रतिनिधिसभा बैठकमा भएको छलफलपछि संसदले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

​२. एमाले सचिवालय बैठकको ठहर– बाह्य सम्बन्धमा विचलन, स्थानीय निर्वाचन परिणाम अपेक्षाकृत आएन
नेकपा एमालेले देशको बाह्य सम्बन्धमा सरकारका कारण विचलन देखिएको ठहर गरेको छ । एमालेको सोमबार सम्पन्न सचिवालय बैठकले स्थानीय तह निर्वाचन परिणाम पार्टीका लागि अपेक्षाकृत नभएको निष्कर्ष पनि निकालेको छ । यस्तै एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि राजधानीमा दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको खाका पनि बैठकले तयार पारेको छ ।

​३. प्रस्तावित अमेरिका भ्रमणबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्रीलाई
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ । प्रधानमन्त्रीको प्रस्तावित अमेरिका भ्रमणको विषयमा जानकारी लिन समितिले प्रधानमन्त्रीलाई बोलाएको हो । सोमबार समितिको बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणका बारेमा सांसदहरुले चर्चा गरेका थिए ।

४. विश्वराजको मुद्दा ‘हेर्दाहेर्दै’मा, अब असार ५ गते सुनुवाइ
प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार ५ गतेको पेसीमा राखिएको छ । सोमबार सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर असार ५ गते सुनुवाइको मिति तोकेको हो । 

५. बजेट निर्माणमा तोकिएकाबाहेक कोही सहभागी नभएको अर्थ मन्त्रालयको प्रष्टोक्ति
अर्थ मन्त्रालयले बजेट निर्माणमा कोही पनि गैर व्यक्तिलाई नबोलाइएको र बजेट निर्माणमा सरिक समेत नगराएको प्रष्ट पारेको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई मन्त्रालयमै मध्यरात प्रवेश गराएर राजस्व तथा भन्सार दर परिवर्तन गराइएको समाचार प्रकाशमा आएसँगै मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत यस्तो प्रष्टोक्ति दिएको हो । 

६. रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिम घोषणा
एसीसी महिला टी २० च्याम्पियनसिपको लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो ।

७. सेयर बजारमा गिरावट जारी
सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले घटेको छ । केही दिन यता लगातार घटिरहेको नेप्सेमा सोमबार थप १५.८२ अंकले गिरावट आएको हो । सोमबार सेयर बजार २ हजार ३२.३४ अंकमा झरेको हो । 

८. कार्यकर्ताको घरमा पलेँटी कसेर खाए प्रचण्डले
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कामका शिलशिलामा सोमबार बर्दिया पुगेका छन् । त्यसक्रममा प्रचण्डले स्थानीय कार्यकर्ताको घरमा पुगेर सँगै खाना समेत खाएको तस्बिर सार्वजनिक भएको छ । 

९. र यो पनि,
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नेपालस्थित एमसीए नेपालको कार्यालय घेराउ गरेको छ । जततउकस्ररचबतयउबतष्।​​

प्रधानमन्त्री शेरबहादुर देउवाले एकदुई दिनमा बजेट पारित हुने र त्यसलगत्तै संसदमा नागरिकता विधेयक पेस हुने बताएका छन् । बालुवाटारमा सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप