मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सेनाको ‘युटा नेशनल गार्ड’ लाई ल्याउने गोप्य योजना बन्दैछ : भीम रावल

सोमबार, ३० जेठ २०७९, २२ : ५२
सोमबार, ३० जेठ २०७९

नेकपा एमालेका सांसद डा.भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारेमा संसदलाई जानकारी दिनुपर्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई जानकारी गराउन समेत माग गरेका हुन् । 

उनले नेपालको असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको आरोप लगाए । डा.रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको प्रति आपति जनाए ।

अमेरिकी जर्नेलले स्थल सेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा  अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंग भएको हो कि भन्ने आशंका उत्पन्न भएको डा. रावलले बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री पनि छलफलका लागि आउनुपर्ने माग राखे । उनले प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भिर रहेको बताए ।

उनले भने, ‘नेपालको परराष्ट्र नीतिलाई असंलग्न र स्वतन्त्र बनाउने भनेर जो लेखेका थियौं । तर त्यो अहिले सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको देखिन थालेको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी जनरलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुने के भनेको हो यो ? कसको भरपर्दो स्थलगत सेना भन्न खोजेको ? स्थल सेनाको ग्रुपमा काम गर भन्न खोजेको हो  । यसले के आशंका उत्पन्न गरेको छ भने स्टेड पार्टनरसीप कार्यक्रम राज्य साझेदारी कार्यक्रम भनेर अमेरिकाले चलाएको छ । त्यसको भित्रबाट नेपाल अंग भइसक्या हो कि ? आशंका उत्पन्न हुन्छ ।  यस्तो बेलामा प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने कुरा आएको छ । प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ कि पर्दैन । प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे समितिलाई जानकारी गराउनुपर्छ । परराष्ट्र मन्त्री प्रधानमन्त्रीसँगै आउनुपर्यो ।’

उनले अन्तर्राष्ट्रिय सम्बन्धका विषयका छलफल हुँदा समितिमा परराष्ट्र मन्त्रीले आउँदिन भन्न नमिल्ने बताए । उनले भने, ‘दुई देशको बीचमा भ्रमण भइरहने कुरा सामान्य हो । यो भ्रमण आदानप्रदान कसले गर्छ । हाम्रो परराष्ट्र मन्त्रालय छ तर परराष्ट्र मन्त्रालयमा कुनै जानकारी आउँदैन । नेपालका राजदूत अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गएर कुराकानी गर्नुहुन्छ । अमेरिकाका जर्नेल नेपाल भ्रमण गर्नुहुन्छ । नेपाली सेनाका प्रधानसेनापति अमेरिका भ्रमण गर्ने कुरा आउँछ र दुई देशका सेना र रक्षा मन्त्रालयको बीचमा सबै चाँजोपाँजो मिलाइएको जस्तो सम्पूर्ण घटनाक्रमहरूले देखाएको छ । यो एकदमै आपत्तिजनक कुरा हो । सत्तापक्षकै सांसदले अमेरिकी भ्रमण गर्नुहुन्न भन्नुभएको छ ।’

डा.रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको समेत बताए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि आरोप लगाए । प्रधानमन्त्री पत्नी आरजु अहिले स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर परामर्शकै लागि भारत गएको रावलले बताए । रावलले अमेरिकी सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसीप सम्झौताको तयारी हो भने निकै गम्भिर कुरा भएको भन्दै प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने बताए ।

उनले अमेरिका भ्रमण र हस्ताक्षरका विषयमा समितिलाई परराष्ट्र मन्त्रीले जानकारी दिएर नहुने बताए । गठबन्धनका नेतालाई समेत थाहा नदिई अमेरिकी सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसीप सम्झौताको तयारी भएको उनको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप