बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सचिवालय बैठकको ठहर : स्थानीय तहको निर्वाचन परिणाम अपेक्षाअनुसार आएन

सोमबार, ३० जेठ २०७९, १९ : ४०
सोमबार, ३० जेठ २०७९

नेकपा एमालेले स्थानीय तहको निर्वाचन परिणाम आफूले अपेक्षा गरेअनुसार नआएको ठहर गरेको छ । एमाले सचिवालय बैठकले स्थानीय तह निर्वाचन परिणामको समीक्षा गर्दै यस्तो ठहर गरेको हो ।

एमाले नेता प्रदिप ज्ञवालीले सोमबार सम्पन्न सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै निर्वाचन परिणाम अपेक्षाकृत नभए पनि पपुलर मतमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको ठहर गरेको बताए । ‘निर्वाचन प्रकृयामा जित र हार, सफलता र असफलता स्वाभाविक हो, हाम्रो सबैभन्दा ठुलो चिन्ता विभिन्न ठाउँमा स्वच्छ, निष्पक्ष ढंगले निर्वाचन भएन भन्ने हो,’ उनले भने, ‘जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट दिशा निर्देशित भयो ।’

निर्वाचन प्रकृयामा सत्तारुढ गठबन्धनबाट भएका यी विकृतिप्रति आफूहरुको गम्भीर चिन्ता रहेको उनले बताए । उनले २०७४ को निर्वाचनभन्दा एमाले कमजोर भएको तर पपुलर मतमा एमाले अग्रपंक्तिमा कायमै रहेको जिकिर गरे । ‘३४ प्रतिशत पपुलर मत सहित एमाले अहिले पनि अगाडि छ,’ उनले भने ।

केही ठाउँमा एमालेकै कतिपय साथीले घात अन्तर्घात गरेको भन्दै उनले पुष्टि भएका ठाउँमा सम्बन्धित कमिटीले कारवाही गर्ने पनि बताए । २०६४ देखि नेपालको मतको ‘प्याटर्न’ हेर्दा नेकपा एमाले र नेपाली काँग्रेस देशको मुख्य शक्ति रहेको र पपुलर मतमा एमाले नै पहिलो शक्ति देखिएको उनको भनाइ थियो । अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा लाग्ने निर्णय बैठकले गरेको पनि उनले जानकारी दिए । ​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप