बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान, थापा र लिङ्देनले लगाए उम्मेदवारको टुंगो

बिहीबार, १६ मङ्सिर २०७८, २० : ११
बिहीबार, १६ मङ्सिर २०७८

पाठकवृन्द नमस्कार ! सधैँझै आज पनि हामी रातोपाटी डटकमको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर आएका छौं । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छ ।

१. संसद बैठक आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो ।

​२. काँग्रेस प्रदेश अधिवेशन

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर सबैले कांग्रेसलाई सुदृढ र बलियो बनाउन लाग्नुपर्ने बताएका छन् । उनले भर्चुअल माध्यमबाट प्रदेशको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

काँग्रेसको प्रवेश अधिवेशन आजदेखि सातै प्रदेशमा सुरु भएको छ ।

३. राप्रपा महाधिवेशन

राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन् ।  राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् ।

​यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।  यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ । विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् ।

४. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा ११ हजार ४०३ जनामा कोरोना परीक्षण हुँदा ३१५ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २०१ जना संक्रमणमुक्त बनेका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ हजार ४५ जना रहेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

​५. आयो बागमती प्रदेश सरकारको साझा कार्यक्रम

बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनमा आवद्ध दलहरूका तर्फबाट बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलको संयोजक बनेका प्रदेशसभा सदस्य युवराज दुलालको टोलीले करिब एक महिनाको छलफल र अध्ययन पश्चात तयार पारेको सरकारको न्यूनतम कार्यक्रम बिहीबार सार्वजनिक गरिएको हो । सो कार्यक्रम आजै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको छ। 

​६. न्यायालयको विवाद

सर्वोच्च अदालतका न्यायाधीशहरूको बिहीबार बसेको बैठक कार्यवाहक प्रधानन्यायाधीश तोक्नेबारे कुनै पनि निर्णय नगरी सकिएको छ । यसअघि बिहान नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका प्रतिनिधिले न्यायाधीशहरूलाई प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशलाई कार्यवाहक तोक्न सुझाव दिएका थिए ।

​७. १६ जिल्लामा काँग्रेस अधिवेशन स्थगित

नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।

८. न्यायालयबारे गठबन्धनको सुझाव

सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।

दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई बिहिबार पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए ।

व्यवसायी ध्रुव थापाले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भावी नेतृत्वका लागि प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच थापाले औपचारिक रुपमा आफूसहित १८ जना केन्द्रीय सदस्यहरुको सामूहिक उम्मेदवारी घोषणा गरेका हुन् ।

‘हनी ट्रयाप’को आरोपमा पक्राउ परेकी महिलालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गा माइती भएकी देवी थापालाई तीन लाख पचास हजार धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

​नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भएका बेलामा संविधान संशोधनका लागि दुई पटक प्रस्ताव लैजाँदा नेकपा एमालेको केपी ओली गुटले नचाहेका कारण संशोधन प्रक्रिया अघि बढाउन नसकेको बताएका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप