काँग्रेस अधिवेशन : कर्णालीमा कचिङ्गल, पौडेल पक्षलाई बोलाइएन

नेपाली काँग्रेसको प्रदेश अधिवेशन आजदेखि सुुरु भएको छ । कर्णाली प्रदेशको हकमा राजधानी वीरेन्द्रनगरको रङ्गशालामा अधिवेशन कार्यक्रम आयोजना गरिएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रदेश अधिवेशन उद्घाटन गरेका छन् ।
अधिवेशन उद्घाटन कार्यक्रममा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु सहभागी भएनन् । संस्थापन इतर पक्षका नेताहरुले कार्यक्रमबारे आफूलाई कुनै खबर नभएकाले उपस्थित नभएको जनाएका छन् । काँग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले रातोपाटीसँग कुरा गर्दै भने, ‘मैले त कार्यक्रम छ भन्ने थाहा नै पाइनँ । खबर पनि छैन । उद्घाटन भइसकेपछि केही नेताले भनेपछि बल्ल अधिवेशनबारे थाहा पाएँ ।’
उनले व्यङ्ग्य गर्दै अगाडि भने, ‘मैले त एउटा टिमको कार्यक्रम होला भन्ने सोचेको थिएँ । त्यहाँ त अधिवेशन पो गरिएको रहेछ ।’ काँग्रेसका युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाही पनि उक्त कार्यक्रममा सहभागी छैनन् । नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापति कमलराज रेग्मीले पनि आफूहरुलाई कुनै खबर नभएको जानकारी दिए ।
कर्णालीमा प्रदेश अधिवेशन सफल पार्न काँग्रेसका केन्द्रीय सदस्य तथा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ । उनी पार्टी सभापति देउवा पक्षका नेता हुन् । कर्णालीमा अहिलेसम्म दुवै पक्षबाट आधिकारिक रुपमा उम्मेदवार घोषणा भएको छैन ।
संस्थापन (देउवा) पक्षबाट कर्णाली प्रदेश सभापतिमा चार जना आकांक्षी छन् । मुख्यमन्त्री जीवनबहादुर शाही, जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीव विक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारीको नाम सभापतिमा चर्चा छ । पौडेल पक्षबाट भने युवा नेता भुपेन्द्रजङ्ग शाहीले सभापतिका लागि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको दुष्प्रयत्न : दोषी को ?
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण