शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा महाधिवेशन : नेतृत्व चयनमा मधेसको भोट ‘निर्णायक’

बिहीबार, १६ मङ्सिर २०७८, १५ : ३२
बिहीबार, १६ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा जारी छ । राप्रपाको यो महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ । महाधिवेशनमा सहभागी हुन देशभरिबाट ४ हजार ७ सय केन्द्रीय प्रतिनिधि काठमाडौँ आएका छन् । 

त्यसमध्ये झण्डै एक हजार प्रतिनिधि प्रदेश २ (मधेस) बाट रहेका छन् । हालसम्म मधेसबाट उपाध्यक्षमा रामचन्द्र राय यादव (सर्लाही) ले उम्मेदवारी दिने घोषणा गरेका छन् भने केन्द्रीय सदस्यमा रामनारायण साह (सिरहा), सत्रुघन महासेठले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुले प्रचारप्रसारसमेत तीब्र बनाएका छन् ।

यसअघिको कार्यसमितिमा रामचन्द्र राय यादव उपाध्यक्ष र रामप्रताप साह महामन्त्री गरी दुई पदाधिकारी थिए । निर्देशक समितिमा पनि तीनजना मधेसका सदस्य थिए भने कार्यसमिति सदस्यमा १२ जना मधेसी थिए । यसपाली थप संख्या बढाइनुपर्ने राप्रपाका मधेसी नेताहरुको माग छ ।

लिङ्देनलाई समर्थन

प्रदेश २ मा अध्यक्षका उम्मेदवार कमल थापाको तुलनामा राजेन्द्र लिङ्देनप्रति बढी आकर्षण देखिएको छ । सिरहाका नयनबहादुर मोक्तानले भने, ‘एकजना जनजातिको छोरा पार्टीको अध्यक्ष बन्दै हुनुहुन्छ, आदिवासी जनजाति तथा मधेसीका लागि यो भन्दा खुशीको कुरा अरु के हुन सक्छ, पुरै मधेस लिङ्देनको पक्षमा छ ।’ त्यस्तै, महाधिवेशन प्रतिनिधि किशोरी यादवले राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको कारण पुरै मधेस खुशी रहेको बताए ।

छैन उम्मेदवारी कन्फर्म

उपाध्यक्षका उम्मेदवार रामचन्द्र राय यादवका अनुसार मधेसबाट कसले कुन पदमा उम्मेदवारी दिने अहिलेसम्म कन्फर्म भइसकेको छैन । उनका अनुसार केन्द्रीय अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिने घोषणा भए पनि मनोनयन दर्ताको बेलासम्म सहमति पनि हुन सक्छ ।

झण्डै एक हजार महाधिवेशन प्रतिनिधि प्रदेश २ बाट आएकाले राप्रपाका लागि मधेस एउटा ठूलो शक्ति हो । मधेसको मत हार जितको एउटा फ्याक्टर बन्न सक्ने दावी गर्दै यसपाली मधेसलाई किनारा लगाउन नहुने यादवको जिकिर छ ।

केन्द्रीय सदस्यका उम्मेदवार रामनारायण साहका अनुसार १९९ सदस्यीय केन्द्रीय समितिमा १४९ जनाका लागि मतदान हुनेछ । त्यसमा मधेसका लागि पुरुष ६ र महिला ५ गरी ११ जना सदस्यको कोटा छुट्याइएको छ । उनले भने, ‘अहिले सबै कुराको टुङ्गो लागेको छैन । मधेसीबाहेक महिला, मुस्लिम, दलित, आदिवासी जनजातिलगायतलाई पनि कोटा छुट्याइनेछ ।’

प्रदेश २ मा राप्रपाको जनाधार राम्रो भएपनि स्थानीय तहमा वडाअध्यक्ष र सदस्यबाहेक अन्य पदमा प्रतिनिधि छैनन् । प्रदेश २ का विभिन्न स्थानीय तहमा तत्कालीन राप्रपाबाट ६ वटा वडाध्यक्षसहित २८ जना सदस्य प्रतिनिधि रहेका छन् । त्यस्तै, तत्कालीन राप्रपा (प्रजातान्त्रिक) ले २ वटा वडाध्यक्षसहित अन्य सदस्य गरी ८ जना प्रतिनिधि जितेको छ ।

प्रदेश २ प्रदेशसभामा २६ हजार ४ सय ४ समानुपातिक मत राप्रपाले ल्याएको थियो । राप्रपाका नेताहरु भन्छन्, यो सन्तोषजनक मत नै हो । प्रतिनिधिसभामा त्यतिबेला राप्रपा (राष्ट्रवादी)ले लगभग सबै क्षेत्रमा उम्मेदवारी दिएको थियो । कमल थापा नेतृत्वको राप्रपाले भने धनुषाको क्षेत्र–३ मा मात्र उम्मेदवारी दिएको थियो । त्यहाँ सो पार्टीले ९३ मत मात्र प्राप्त गरेको थियो । राप्रपा (राष्ट्रवादी)ले प्रदेश २ मा प्रतिनिधिसभामा प्रत्यक्ष मत ७ हजार १७० मत मात्र ल्याएको थियो ।

प्रदेश २ मा यसपाली चुनाव जित्ने राप्रपाका मधेसी नेताहरुको आँकलन छ । विगतको चुनावमा मधेसवादी दलको आन्दोलन र भर्खर भर्खर गणतन्त्र आएको हुनाले आफूहरुको पार्टीलाई असर गरेको थियो । तर, अहिले परिस्थिति धेरै फेरिएको दावी गर्छन्, नेता रामनारायण साह । गणतन्त्रवादी नेताहरुको पाँच वर्षे कार्यकाल जनताले हेरिसकेका छन्, यी नेताहरूबाट जनता आजित भइसकेका छन् । त्यसैले यो महाधिवेशनपछि मधेससँगै सारा देशमा राप्रपा सुदृढ भएर अगाडि आउने उनले दावी गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप