शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले महाधिवेशनमा १० बुँदे पक्षधरले कसरी पाए ओलीको भन्दा धेरै मत ?

१९ सय मत कटाउने पनि १० बुँदे पक्षधर मात्रै
बिहीबार, १६ मङ्सिर २०७८, १४ : ०३
बिहीबार, १६ मङ्सिर २०७८

 चितवनमा सम्पन्न नेकपा एमालेको दसौँ महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याउनेमा परिन्, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । धेरैको अनुमान विपरीत शाक्यले सबैभन्दा बढी मत ल्याउन सफल भइन् । विगतमा माधव नेपाल निकट रहेर केपी ओलीको चर्को आलोचना गर्ने नेतृ हुन् शाक्य । तर, भदौ २ मा माधव नेपालले अलग पार्टी गठन गर्दा शाक्य एमालेमै बसेर धेरैलाई आश्चर्यमा पारिन् ।

मङ्सिर १४ गते साँझ एमाले महाधिवेशनको नतिजा सार्वजनिक गर्नुभन्दा केही अघिसम्म शाक्यसहित एमालेका १० बुँदे पक्षधर नेताहरूको पक्षमा ‘कति नै मत आउला र !’ भन्ने चर्चा भइरहेको थियो । तर शाक्यले अध्यक्ष ओलीको भन्दा धेरै मत ल्याइन् । नतिजा सार्वजनिक भइरहँदा हलमै कार्यकर्ताबीच खासखुस सुरु भयो, ‘शाक्यले कसरी यति धेरै मत पाइन् त ?’ तिनै एमाले नेता कार्यकर्ताबीच चलेको खासखुसमा अर्कोतिर आवाज सुनिन्थ्यो– एमालेभित्र एकताको मनोविज्ञान कति छ भन्ने कुरा शाक्यले पाएको यो मत उदाहरण हो ।’

एमाले महाधिवेशनमा सहभागी २१ सय ५३ प्रतिनिधिमध्ये २ हजार ९६ जनाले मतदानमा भाग लिए । मतदानमा ५७ प्रतिनिधि अनुपस्थित थिए । केपी ओली १८ सय ३७ मत पाएर अध्यक्षमा विजयी बन्दा अध्यक्षकै प्रत्याशी भीम रावलले भने २२३ मतमात्र पाए । अध्यक्षका दुवै प्रत्याशीको मत जोड्दा दुई हजार ६० हुन्छ । ३६ जना मतदाताले अध्यक्षका दुवै उम्मेदवार ओली र रावललाई रुचाएको देखिएन । यद्यपि सङ्ख्याका हिसाबले रावलले जति मत पाए पनि त्यसको ठुलो राजनीतिक अर्थ रहने धेरैको विश्लेषण छ ।

१० बुँदे पक्षधरलाई लोकप्रिय मत किन ?

विगतमा एमालेभित्र तीन धार प्रस्ट थियो । त्यसमा केपी ओलीको मुख्य धार हो भने १० बुँदे पक्षधरको एउटा धार र पूर्व माओवादीको अर्को धार । ओली धारको तुलनामा अरू दुई धार कमजोर मानिन्थे । तर महाधिवेशनमा १० बुँदे पक्षधर मानिएका अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै १९७६ मत पाइन् भने अर्का उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि ओलीको भन्दा धेरै मत पाए । पाण्डेले १९२५ र ज्ञवालीले १८४० मत ल्याए ।

यो नतिजा हेर्दा १० बुँदे पक्षधर नेता नै धेरै मत ल्याउनेमा देखिएका छन् । शाक्य, पाण्डे र ज्ञवाली एमालेभित्र १० बुँदे पक्षधर भनेर चिनिन्छन् । महाधिवेशनको नतिजा सार्वजनिक नहुँदासम्म सौराहाको महाधिवेशन परिसरमा पूर्व माओवादी समूह र १० बुँदे पक्षधरले जित्ने त कुरै छाडौँ, उनीहरूले ल्याउने मतसमेत अत्यन्त कम हुन्छ भन्ने अनुमान भइरहेको थियो । उक्त अनुमान विपरीत १० बुँदे पक्षधर र पूर्व माओवादी समूहका नेताहरूले नै राम्रो मत ल्याएर विजयी भए । यो नतिजा आउनुमा पार्टीमा १० बुँदे र पूर्व माओवादी पक्षधर पनि अटाउनुपर्छ भन्ने मनोविज्ञानले काम गरेको एमाले नेता अग्नि खरेलको बुझाइ छ ।

ओली पक्षबाट धेरै मत पाउनेमा नेम्वाङ

उता ओली पक्षबाट पदाधिकारीमा सबैभन्दा धेरै मत ल्याउने सुवास नेम्वाङ भएका छन् । उनले १८६५ मत पाएका छन् । तर ओली पक्षबाट सर्वाधिक मत ल्याएका नेम्वाङको तुलनामा पनि १० बुँदे पक्षधर अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले बढी मत ल्याएका छन् । एमाले उपाध्यक्षमा ओली समूहबाट नेम्वाङ र विष्णु पौडेल निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित रामबहादुर थापा पूर्वमाओवादी समूहका हुन् भने अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली १० बुँदे समूहका हुन् ।

सचिवमा ओली समूहबाट रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल निर्वाचित भएका छन् । पूर्व माओवादी समूहबाट टोपबहादुर रायमाझी र लेखराज भट्ट सचिवमा निर्वाचित भएका छन् ।

१९ सय मत कटाउने पनि १० बुँदे पक्षधर मात्रै

एमाले महाधिवेशनको निर्वाचन परिणाममा अर्को रोचक पक्ष पनि छ । पदाधिकारीका लागि भएको निर्वाचनमा १९ सय मत कटाउनेमा १० बुँदे पक्षधर नेता मात्रै रहे । १० बुँदे पक्षधर मानिएका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य १९७६ र सुरेन्द्र पाण्डेले १९२५ मत पाएका छन् । त्यस्तै सचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईले १९ सय मत कटाए । विष्ट र भट्टराईले क्रमशः १९७६ र १९६० मत पाएका छन् । एमालेमा केपी ओलीको समूह मुख्य धार मानिन्छ तर स्वयं ओलीले पनि १० बुँदे पक्षधरको जति मत ल्याउन सकेनन् ।

‘यो महाधिवेशनलाई एकता महाधिवेशनको स्प्रिटका रूपमा लिनुपर्छ भन्ने एमालेका प्रतिनिधिहरु र कार्यकर्ताहरूको चाहना देखियो । यो परिणाम एमाले एकताबद्ध हुनुपर्छ र एकता टुटाउनु हुँदैन भन्ने मनोविज्ञान हो’, एमाले केन्द्रीय सदस्य अग्नि खरेल भन्छन्, ‘त्यसैले नेताहरू लोकप्रिय भए भन्नुभन्दा पनि कार्यकर्ताहरूको एकताको मनोविज्ञान मुख्य कुरा हो ।’

उनले १० बुँदे पक्षधर भनेर चिनिएका र पूर्व माओवादी पक्षधर भनेर चिनिएका दुवै पक्षलाई सम्मानजनक मत परेकाले एमालेमा एकताको विकल्प छैन भन्ने सन्देश महाधिवेशनले प्रस्ट रूपमा दिएको बताए ।

‘पूर्व माओवादी समूहका नेता भनिने रामबहादुर थापाको पनि १७०० मत आएको छ भने सचिवमा टोपबहादुर रायमाझीको १८०४ र लेखराज भट्टको १७०४ मत आएको छ । अर्थात् माओवादीबाट पदाधिकारी बनाइएका तीनै जनालाई सुरक्षित गराइनुपर्छ भन्ने मनोविज्ञान देखियो’, खरेलले रातोपाटीसँग भने, ‘त्यसले सबै प्रतिनिधिहरुमा १० बुँदे र पूर्व माओवादी पक्षधरलाई अटायौँ भने मात्रै साँच्चैको एकताको महाधिवेशन हुनसक्छ भन्ने देखायो ।’

खरेलले दसौँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने एमालेको मूल प्रवाहमा रहेका नेता कार्यकर्ताको असीम चाहना भएको प्राप्त नतिजाले पुष्टि गरेको पनि बताए । ‘महाधिवेशनमा आएका प्रतिनिधिमा पार्टी एकताको असीम चाहना थियो । नेतृत्वको पनि चाहना त्यही थियो । नेताहरूले पाएको मत सङ्ख्या त्यसैको परिणाम हो’, खरेलको भनाइ छ । 

खुल्ला केन्द्रीय सदस्यमा ‘टप टेन’

पदाधिकारीमा मात्रै होइन एमालेको खुल्ला केन्द्रीय सदस्य पदमा पनि १० बुँदे पक्षधरका नेताहरूले राम्रो मत पाएका छन् । ८४ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनमा ‘टप टेन’ भित्र १३ नेता परेका छन् । खुल्ला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत पाउनेमा देवी ज्ञवाली भएका छन् । चितवनका ज्ञवालीले १८७७ मत पाएका छन् । उनी ओली निकट मानिन्छन् । त्यसै गरी केन्द्रीय सदस्यमा दोस्रो लोकप्रिय मत पाउनेमा ठाकुर गैरे छन् । गैरेले १८३२ मत पाए । उनी विगतमा माधव नेपाल समूहमा भए पनि पार्टी विभाजन हुँदा एमालेमै बसे ।

गैरेपछि बढी मत पाउनेमा किरण गुरुङ छन् । उनले १८११ मत पाए । चौथोमा काशीनाथ अधिकारी र पुरुषोत्तम पौडेल छन् । अधिकारी र पौडेलले बराबर मत १८०६ मत पाएका छन् ।

धेरै मत ल्याउने पाँचौँमा भानुभक्त ढकाल छन् । उनले १७९९ मत ल्याएका छन् । त्यसै गरी खगराज अधिकारी र पार्वत गुरुङले १७९७ मत ल्याएर छैटौँ स्थान कायम गरेका छन् । सातौँमा किशोर मल्लले १७८७ मत ल्याएका छन् भने आठौँ नम्बरमा अग्नि खरेल र अरुण नेपालले बराबर मत १७८४ मत ल्याएका छन् । त्यस्तै परशुराम मेघी गुरुङ र गणेश पहाडी क्रमशः नवौँ र दसौँ नम्बरमा छन् । गुरुङले १७८३ र पहाडीले १७८१ मत पाएका छन् ।

टप टेनभित्र मत ल्याउनेमा ५ जना १० बुँदे पक्षधर नेता परेका छन् । ठाकुर गैरे, पुरुषोत्तम पौडेल, अरुण नेपाल, परशुराम मेघी र गणेश पहाडी १० बुँदे पक्षधर हुन् । उनीहरूमध्ये पहाडी माधव नेपालले पार्टी फुटाउनुभन्दा केही पहिला ओलीतिर लागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप