बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको बागमती प्रदेश अधिवेशन : कार्यक्रमस्थलमा जे देखियो  (तस्बिरहरु)

बिहीबार, १६ मङ्सिर २०७८, १४ : ३६
बिहीबार, १६ मङ्सिर २०७८

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) मा आयोजना हुँदैछ । अधिवेशन आयोजना स्थलमा नेता तथा कार्यकर्ता आउने क्रम जारी छ । दिउँसो २ बजे प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रदेश अधिवेशनका लागि काँग्रेस मकवानपुरले हेटौंडा बजार क्षेत्रलाई स्वागत गेट, ब्यानर, झण्डालगायतका सामग्रीले सजाउने कार्य गरेको छ भने निर्वाचन केन्द्रित गरेर प्रचार प्रचारका लागि उम्मेदवारहरूको ब्यानर राख्ने काम पनि भएको छ । अधिवेशनका लागि हेटौंडा बजार क्षेत्रमा काँग्रेसको चार तारे झण्डा र चुनाव चिह्न ‘रुख’ अंकित झण्डा राखिएको छ । अधिवेशनमा आउने नेता तथा कार्यकर्ताहरूलाई खाना तथा खाजाको व्यवस्थापन पनि कार्यक्रमस्थलमै गरिएको छ ।

अधिवेशनका लागि स्थानीय प्रशासनले सुरक्षा योजना पनि कडा बनाएको छ । प्रशासनले अधिवेशन लक्षित सुरक्षा योजना तयार परेर कार्यान्वयनमा ल्याएको बताएको छ । सर्वसाधारणलाई आवतजावत गर्न सहज होस् र अधिवेशन स्थलमा सवारी जाम नहोस् भन्नका लागि वैकल्पिक सडक प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अधिवेशन आयोजना स्थल र उच्च स्तरीय नेताको सुरक्षाका लागि प्रहरी नायव उपरीक्षकको कमाण्डमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अधिवेशन स्थलमा एम्बुलेन्स सहितको स्वास्थ्य सुरक्षा युनिट खडा गरिएको छ । सो युनिटले कोही बिरामी भएमा आवश्यक चेकजाँच र प्राथमिक उपचार गर्नेछ भने जटिल समस्या भएमा तत्काल अस्पतालमा रिफर गर्ने अधिवेशन सचिवालयले जनाएको छ । आजबाट सुरु हुने प्रदेश अधिवेशन मंसिर १८ गते सम्म सञ्चालन हुनेछ । अधिवेशनमा भोलि १७ गते नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता हुने कार्यक्रम छ भने १८ गते मतदानको कार्यक्रम छ ।

देश संघीयतामा भएपश्चात काँग्रेस पहिलो पटक प्रदेश संरचनामा जान लागेको हो । अधिवेशनमा प्रदेश सभापतिका लागि तीन जना उम्मेदवार भिड्ने लगभग पक्का भएको छ । सभापतिका लागि देउवा पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौं जिल्लाका पूर्व सभापति एवम् पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान भिड्ने भएका छन् ।

काँग्रेसको प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री र सदस्यहरुसहित नयाँ नेतृत्व चयन गर्नेछ । बागमती प्रदेशमा काँग्रेसका १ हजार ९ सय ६० मतदाता छन् । अधिवेशनमा प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसदहरु मतदाता रहने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप