शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : बादललाई एमाले विधान महाधिवेशनको जिम्मा, ओली–कमल थापामाथि प्रचण्डको हमला

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार
बिहीबार, १४ असोज २०७८, २० : ०६
बिहीबार, १४ असोज २०७८

आज मिति २०७८ साल असोज महिनाको १४ गते । अरु दिनझैं आज पनि हामी रातोपाटी डटकमको नियमित प्रस्तुती ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर आएका छौं ।

आजको मुख्यमुख्य समाचारमा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार, प्रचण्डद्वारा ओली र कमल थापाको आलोचना, शुक्रबारदेखि एमालेको विधान महाधिवेशन, बागमती प्रदेशमा नयाँ सरकार बनाउन रस्साकस्सी, कोरोनाको नियमित अपडेट, अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु, मन्त्रिपरिषद् बैठकको निर्णयलगायत रहेका छन् ।

१.सर्वदलीय बैठक–एमालेको बहिस्कार

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडी बढाउन भूमिका खेल्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरेको छ । यद्यपी बालुवाटारमा बसेको सो बैठकलाई एमालेले बहिस्कार गर्यो ।

​२.अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु–प्रचण्ड आक्रामक

माओवादी निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । क्रान्तिकारीले नयाँ नेतृत्व चयन गर्दै १६ गते सम्मेलन सक्नेछ ।

क्रान्तिकारीको सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाको चर्को आलोचना गरे । प्रतिगामी कित्तामा रहेका उनीहरुको अमिल्दो आतंक अहिले रहेको भन्दै उनले कटाक्ष गरे ।

​३. मन्त्रिपरिषद्को निर्णय

सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।  बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय समेत गरेको छ । 

​४. प्रतिनिधिसभामा एमाले अवरोध जारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीबारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका हुन् ।

​५. माग पूरा नभएसम्म सदन चल्न नदिने अडान

प्रमुख प्रतिपक्ष एमाले सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको बताए । प्रतिनिधिसभा बैठकपछि उनले आफूहरुको माग पूरा नभएसम्म सदन चल्न नदिने पनि बताए ।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका मुद्दालाई संवोधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए ।

​६. एमाले  विधान महाधिवेशन भोलिदेखि, बादल कमाण्डर

नेकपा एमालेको विधान महाधिवेशन शुक्रवारबाट शुरु हुने भएको छ । पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको महाधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ । महाधिवेशनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी रामबहादुर थापा बादलले पाएका छन् ।  

यसैगरी, पत्रकार सम्मेलनमा बादलले जबज अहिले पनि सान्दर्भिक भएको बताए ।

७. परराष्ट्रमन्त्री फर्किए

परराष्ट्र मन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर स्वदेश फर्किएका छन् ।

महासभा बैठकको सम्बन्धमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले आफुले महासभाको बैठकमा कोभिड १९ को प्रभावबाट विश्वलाई मुक्त गर्नको लागि सबै राष्ट्रहरूलाई खोप, औषधीउपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्ने विषय उठाएको बताए ।

८ . कोरोना संक्रमण

बितेको २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ९११ जना निको हुँदा १२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

​९ आजको सेयर बजार कस्तो रह्यो ?

आज साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३२ अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा जम्मा तीन अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

​१०, र यो पनि

पूर्व माओवादी नेता प्रभु साहले अहिलेकै अवस्थामा आफू एमालेमा रहन नसक्ने बताएका छन् । रातोपाटीमार्फत उनले आफ्नो असन्तुष्टिहरू सार्वजनिक गरेका छन् ।

​अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारलाई विस्थापित गर्ने योजना बनाएको गठबन्धनबीच सरकारको नेतृत्वका बारेमा सहमति हुन सकेको छैन । गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रदेश सरकारको नेतृत्वका विषयमा हानथाप हुन थालेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा रहेका छन् ।

काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीमा चढ्न रोक लगाउने निर्णय गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप