आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारको नेतृत्वका लागि दुई दलबीच हानथाप

बिहीबार, १४ असोज २०७८, १३ : ३७
बिहीबार, १४ असोज २०७८

अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारलाई विस्थापित गर्ने योजना बनाएको गठबन्धनबीच सरकारको नेतृत्वका बारेमा सहमति हुन सकेको छैन । गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रदेश सरकारको नेतृत्वका विषयमा हानथाप चलेको हो ।

प्रदेश सरकारको नेतृत्वका लागि दुवै दलले दाबी गरिरहेका छन् । सरकारको नेतृत्वका विषयमा गठबन्धन घटकबीच सहमति बन्न नसक्दा अन्योल बढेको छ ।

शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको २१ दिन बितिसक्दासमेत विपक्षी दलहरुले सरकार आफ्नो दाबी पेस गर्नबाहेक केही गर्न सकेका छैनन् । पार्टीका केन्द्रीय नेतृत्वले नै प्रदेश सरकारको नेतृत्व टुङ्ग्याउने भएकाले प्रदेशस्तरमा कुनै छलफल हुन नसकेको विपक्षी गठबन्धनका नेता बताउँछन् ।

नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डे र नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको नेतृत्वका लागि दाबी गरेका छन् । गत भदौ २ गते प्रदेश सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेकपा एमाले विभाजनपछि संकटमा परेकी छन् । पार्टी विभाजनपछि प्रदेशसभामा एमालेको सरकार अल्पमतमा परेको हो ।

​सत्तारुढ दल विभाजन भएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही अनुसार मुख्यमन्त्री शाक्यले असोज २५ गतेभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने बाध्यात्मक परिस्थिति छ । मुख्यमन्त्री शाक्य भने नेकपा एमालेले कारवाही गरेका १४ जना संघीय सांसदको विषय र नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकताका बारेमा सर्वोच्च अदालतमा परेको मुद्दा देखाएर संसद्को नवौं अधिवेशन आह्वान गर्न आनाकानी गर्दैछिन् ।

दुईवटा प्रदेशमा समाजवादीले नेतृत्व गर्छ : हुमागाई

नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशका प्रमुख सचेतक बसुन्धारा हुमागाईले प्रदेश सरकारको नेतृत्वबारे गठबन्धनका केन्द्रीय नेतृत्वले टुङ्ग्याउने बताए । यद्यपि दुईवटा प्रदेशमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने उनको भनाइ छ ।

उनले केन्द्रीयस्तरमै प्रदेश सरकारका बारेमा छलफल भइरहेको बताए । उनका अनुसार प्रदेश १ र बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीले सरकारको नेतृत्व गर्ने सम्भावना छ । गठबन्धनमा रहेका प्रमुख ३ दलले २÷२ वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने र एउटा प्रदेशमा जसपा नेतृत्वको सरकार रहने गरी केन्द्रीय गठबन्धनमा छलफल जारी रहेको उनको भनाइ छ ।

सोही अनुसार बागमती प्रदेश र प्रदेश १ मा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी पार्टीले पाउने उनले बताए । ‘बागमती प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले दाबी गरेको मेरो जानकारीमा छैन,’ रातोपाटीसँग उनले भने, ‘केन्द्रीय नेतृत्वले निर्णय लिने विषय भएकाले बजारमा आएका हल्लामा कुनै सत्यता छैन ।’

केन्द्रीय नेतृत्वले गरेको निर्णय सबैलाई मान्य हुने भन्दै हुमागाईले दसैँ अगाडि नै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार विस्थापित हुने दाबी गरे ।

बागमतीमा काँग्रेसले नेतृत्व गर्छ : लामा

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक छिरिङ दोर्जे लामाले बागमती प्रदेशमा काँग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए । प्रदेश १ मा भने नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अवश्यकता ठानेरै बागमती प्रदेश सरकारको नेतृत्वका लागि गठबन्धनमा रहेका दलहरुसँग छलफल सुरु गरेको उनको भनाइ छ ।

गठबन्धनमा रहेका दलहरुबीचको सहमतिमै बागमती प्रदेशमा सरकारको नेतृत्व काँग्रेसले गर्ने भन्दै उनले केन्द्रीय गठबन्धनले चाँडै नै यस विषयमा निर्णय लिने बताए । दसैँ अगाडि नै नयाँ सरकार गठनको तयारी भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप