शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रवासका माओवादीलाई प्रचण्डको प्रशिक्षण– पार्टी अब बलियो बन्छ

‘एनआरएनको चुनावमा विचार मिल्नेहरूबीच एकता हुनुपर्छ’
बिहीबार, १४ असोज २०७८, १३ : ०५
बिहीबार, १४ असोज २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको विकासमा प्रवासमा रहेका नेपालीहरुको योगदान महत्त्वपूर्ण हुने विचार व्यक्त गरेका छन्। बुधबार राति उक्त पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विदेशमा प्राप्त अनुभव, ज्ञान र सीपले देशको विकासमा महत्त्वपूर्ण योगदान हुने धारणा राखेका हुन् । प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको अध्यक्षतामा बसेको बैठकमा बोल्दै प्रचण्डले समिति निर्माण गर्ने पार्टीको निर्णय लगत्तै बैठक आयोजना हुँदा र विश्वका  विभिन्न देशमा छरिएर रहेका  पार्टीका कार्यकर्तासँग भेटघाट हुँदा आफूलाई खुशी र गर्व महसुस भएको पनि बताए।  

एक घण्टा लामो आफ्नो प्रशिक्षणात्मक मन्तव्यमा प्रचण्डले अब आफू नयाँ ढंगले पार्टी निर्माण र शुद्धीकरणमा लागेको भन्दै  कसैले पनि पार्टीलाई  निजी स्वार्थपूर्तिको भाडो बनाउन नहुने बिचार व्यक्त गरे।  ‘अब हामी क–कसले कहाँ–कहाँ गल्ति गर्यौ आत्मसमीक्षा गर्दै अघि बढौँ’, उनले भने।  पार्टी विभाजन, वर्तमान  राजनीतिक परिस्थिति, एमसीसी विवाद र एनआरएनए चुनाव सम्बन्धमा  पार्टीका  धारणाहरू राख्दै  उनले भने, ‘हामी अहिले राष्ट्रिय एकता कायम राख्दै समाजवाद उन्मुख संविधानको रक्षामा खटिएका छौँ,  हामीबीच एकता नहुँदा  पछिल्ला राजनीतिक उपलब्धि र सिंगो देश नै खतरामा पर्ने देखिन्छ।’ 

पार्टी विभाजन र नया संकल्प  

उनले आफ्नै पार्टीका तत्कालीन अध्यक्ष र प्रधानमन्त्रीमा देखिएको प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी  प्रवृत्तिसँग वैचारिक र  संगठनिक रुपमा सडक संघर्षमा जानु परेको र उक्त प्रवृत्तिलाई जनताको सहयोगमा परास्त गर्न सम्भव भएको विचार व्यक्त गरे।  सिद्धान्तहीन  सम्झौता गरेर पार्टी एकता  नगरिएको तर केपी शर्मा ओलीबाट देशको र पार्टीको बराबर र सम्मानजनक हैसियतले नेतृत्व गर्ने सहमति तोड्ने काम भएको बताए । 

ओलीलाई पार्टी र संसदीय दलबाट अत्यधिक बहुमतले निस्कासन गर्न सफल भएको तर बिभिन्न खाले षड्यन्त्र र  सेटिङले बहुमत पक्षको नेकपालाई आधिकारिकता दिन ढिलाई भएको बताउँदै प्रचण्डले पछि अदालतले प्राविधिक रुपमा पार्टी अलग अलग गरिदिएको बताए । उनले अझै पनि गहिरो आत्मविश्वासका साथ आफूले एकताको झण्डा बोकेको बताए।  

उनले कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरणको पहल सुरु गरिएको बताउँदै त्यसका लागि माधव नेपाल, मोहन वैद्य, बाबुराम भट्टराई, उपेन्द्र यादव  र विप्लव लगायतका नेताहरुसँग संवाद चलेको बताए।  हालैको केन्द्रीय समितिको बैठक बिगतका जस्तो नभई निरन्तरतामा क्रम भंगको भएको बताउँदै उनले अब नयाँ संकल्प सहित आफ्नो जनाधारलाई सुदृढ गर्ने दिशामा पार्टी अघि बढेको बताए।  

गठबन्धन जोगाइने 

वर्तमान राजनीतिक परिस्थितिको व्याख्या गर्दै उनले अहिले पार्टी र नेतृत्वलाई घेरा हाल्ने , अपमान गर्ने र एक्ल्याउने षड्यन्त्र विरुद्धको ब्याटल जितिएको तर युद्ध जित्न बाँकी भएको प्रचण्डले बताए । अहिले पनि सरकारी गठबन्धन तोड्ने प्रयास भएको र उक्त प्रयासलाई पनि परास्त गर्दै संविधानको रक्षा गरिने बताए।  

उनले आफूहरु र सरकारी गठबन्धन अमेरिकासँग आर्थिक सहयोग र अनुदान लिन नहुने मान्यतामा नरहेको बिचार ब्यक्त गर्दै ओलीको मन्त्रिपरिषदले एमसीसीलाई गिजोलेर विवादास्पद बनाएकाले फेरि दलहरुबीच समझदारी र राष्ट्रिय एकता आवश्यक परेको बताए ।  कूटनीतिक संवाद र आवश्यक परिमार्जन गरेर एमसीसीबारे अगाडि बढ्न सकिने उनको धारणा छ । 

यस्तै प्रचण्डले प्रवासमा रहेका पार्टी समर्थक तथा शुभचिन्तकहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे ।  उनले एनआरएनमा संगठित भएर देशको सेवामा सहभागी हुन पनि सुझाव दिए  । ​एनआरएनमा  राजनीति गर्न नहुने भएपनि निश्चित मान्यता र विचार मिल्नेहरूबीच एकता गरेर जानुपर्नेमा भने उनले जोड दिए।  

अहिले नेपालमा विकास र अग्रगमनको नेतृत्व लिएको सरकारी गठबन्धनका समर्थक प्रवासी नेपालीहरु  एकताबद्ध भएर एनआरएनको नयाँ नेतृत्व निर्माण गर्नुपर्नेमा उनले सुझाव दिए । कार्यक्रममा प्रवास समन्वय समितिका इन्चार्ज नारायणकाजी श्रेष्ठले अब प्रवासको पार्टी कामले गति लिने बिचार व्यक्त गरे।  उनले भने, ‘ पार्टीलाई प्रवासमा भएका लाखौँ नेपालीसँग जोडेर नेपाली क्रान्तिका बाँकी कार्यभार पुरा गर्न प्रवासका नेपालीको भूमिका र योगदानलाई सुनिश्चित गर्नु पर्छ।’ 

सो क्रममा प्रवास समन्वय समितिका सचिव  टीबी पाठकले प्रस्तुत गरेको संगठनको आगामी तीन महिनाको कार्ययोजना  बैठकले पारित गरेको छ । राजधानीमा नेपाली जन प्रगतिशील मंचको छुट्टै सम्पर्क कार्यालय खोल्ने निर्णय पनि भएको छ।  बैठकमा समितिका अध्यक्ष ओम शर्माले नयाँ जाँगर, उत्साह र इमान्दारीताका साथ पार्टी काममा जुट्न प्रवास समितिका सदस्यहरुलाई निर्देशन दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप