बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानीको भोक मेटाउन खोज्दा पाकिस्तानी अर्थतन्त्र चौपट

पहिले दैनिक एक करोड डलर प्राप्त, अहिले दिनहुँ ३० लाख डलर तस्करी
बिहीबार, १४ असोज २०७८, १६ : ३९
बिहीबार, १४ असोज २०७८

अमेरिका नेतृत्वको उत्तर आन्ध्र सन्धी संगठन (नाटो) को गठबन्धन सैनिक अफगानिस्तानबाट फर्किएको एक महिना पुग्दा–नपुग्दै छिमेकी देश पाकिस्तानको अर्थतन्त्र चौपट परेको छ । दक्षिण एसियाको चरम द्वन्द्वग्रस्त देशबाट लगभग हारेर फर्कंदै गर्दा अमेरिकाले हातहतियार र बमबर्षक विमानमात्र लगेको छैन, काबुल र इस्लामावादको अर्थतन्त्रलाई पनि निकै सकसमा पारिदिएको छ ।

पाकिस्तानी मुद्रा यतिखेर अमेरिकी डलरसँग निकै कमजोर भएको छ । त्यहाँ एक अमेरिकी डलर पाउन १७१ रुपये (पाकिस्तानी मुद्रा) तिनुपर्ने अवस्था छ । देशको मुद्राभन्दा अमेरिकी डलर निकै बलियो हुनुको मुख्य कारण निरन्तर बढिरहेको आयात र अफगानिस्तानतर्फ भइरहेको डलर तस्करी नै हो । यसले व्यापार र चालू खातामा घाटा बढाइरहेको छ । विनिमयदरमा नकारात्मक असर परिरहेको छ । 

पाकिस्तानबाट हुने आयातमा निर्भर अफगानिस्तानमा पनि यसको असर परेको छ । त्यहाँ पनि रुपयेको तुलनामा डलरको भाउ बढिरहेको छ । यतिखेर काबुलमा एक अमेरिकी डलरको विनिमयदर १७८ पाकिस्तानी रुपये पुगिसकेको छ । जबकी पाकिस्तानमा १७१ रुपयेसम्म छ ।

अफगानीको भोक मेटाउन खोज्दा...

पाकिस्तानले अफगानिस्तानको मागलाई पनि हेरेर खाद्यपदार्थ आयात गर्ने गर्छ । किनकी, अहिले अफगानिस्तानतर्फ पाकिस्तान बाहेक अन्यत्रबाट खाद्यान्न गएको छैन ।

जुलाईमा मात्र पाकिस्तानले करिब ५ अर्ब ५० करोड र अगष्टमा ६ अर्ब ५० करोड डलरको बराबरका खाद्यान्न आयात गरेको थियो ।

पाकिस्तानले आयात गरेको खाद्यान्नका ठूलो हिस्सा अफगानिस्तानतर्फ पठाउने गरेको छ । तर, अफगानिस्तानका लागि आयात बढाउँदा पाकिस्तानले यतिखेर मूल्य चुकाइरहेको छ ।

अहिले अफगानीहरूले त्यहाँ रहेको आफ्नो सम्पत्ति अन्यत्र लैजान चाहेका छन् भने अर्कातिर त्यहाँ खाद्य आवश्यकता परिपूर्ति गर्न अतिरिक्त आयात गर्दा पाकिस्तानको अर्थतन्त्र भुंग्रोमा पर्दैछ ।

अमेरिकाले तालिबान सरकारको कोष रोक्का गरिदिएको र अफगानिस्तानमा बैंक क्षेत्रले अहिले काम नगरेकाले यो सबै बोझ पाकिस्तानमाथि परेको जानकारहरू बताउँछन् ।

अहिले आयातले नै विनिमयदरमा असन्तुलन निम्त्याएको फरेक्स एसोसिएशन अफ पाकिस्तानका अध्यक्ष मलिक बोस्तान बताउँछन् ।

काबुलको संकट इस्लामावादसम्म

पछिल्लो केही सातायता पाकिस्तानको निजी क्षेत्रले डलर तस्करी भइरहेको संकेत दिइरहेको छ । पाकिस्तान स्टेट बैंकका गभर्नरले पनि यसलाई स्वीकार गरेका छन् । उनले अफगानिस्तानतर्फ तस्करी भइरहेकाले डलरको मूल्य बढेको बताएका हुन् ।

डलरसँग पाकिस्तानी मुद्राको विनिमयदर आकाशिनुको अर्को मूख्य कारण पनि यही नै हो । पाकिस्तानबाट अफगानिस्तानतर्फ कसरी डलर तस्करी भइरहेको छ भन्नेबारे पाकिस्तानको केन्द्रीय बैंकका अधिकारीहरू नै अनभिज्ञ देखिएका छन् ।

अहिले अफगानिस्तानमा डलरको कमी हुनुको मुख्य कारण अमेरिकाले तालिबान सरकारको डलर खाता रोक्का गरिदिनु हो । यही कारण त्यहाँ पाकिस्तानबाट डलर तस्करी भइरहेको छ । तालिबानले काबुल कब्जा गर्नु अघिसम्म अमेरिकी गठबन्धन सेनाका लागि हरेक साता ५० करोड डलर (कम्तिमा ५० अर्ब रुपैयाँ) अफगानिस्तानमा जाने गथ्र्यो । प्राप्तमध्ये अधिकांश रकम खरिदमा खर्च हुन्थ्यो । ठूलो परिमाणमा अफगानिस्तानमा खर्च हुने गरेको डलर पाकिस्तानसम्म आइपुग्थ्यो । दैनिक ५० लाखदेखि एक करोड डलरसम्म पाकिस्तानतर्फ ल्याउने गरिएको थियो ।

तर, तालिबानले अफगानिस्तान कब्जा गरेपछि पाकिस्तानको अवस्था बदलिएको छ । अहिले ठीक उल्टो स्थिति छ । पाकिस्तानबाटै अफगानिस्तानतर्फ दैनिक १० देखि २० लाख डलरसम्म तस्करी हुने गरेको छ । ट्रकदेखि दुई देशमा दैनिक आवतजावत गर्ने मानिसहरूले पनि यो काम गरिरहेका छन् ।

पाकिस्तानको केन्द्रीय बैंकले डलरसहित विदेशी मुद्रा खरिदबिक्री गर्न लाइसेन्स जारी गर्छ । तर, अवैध मनी चेञ्जरहरू पनि यस व्यापारमा सामेल हुन्छन् । उनीहरूले ‘ग्रे मार्केट’बाटै अमेरिकी डलरको खरिदबिक्री गर्छन् ।

अवैध ढंगबाट विदेशी मुद्रा साट्ने काममा गरिरहेका कमाल खानले पाकिस्तानबाट अफगानिस्तानतर्फ अमेरिकी डलर दुई तरिकाले गइरहेको बताएका छन् । बीबीसीका अनुसार अफगानिस्तानतर्फ पठाइने डलर कराँचीको ‘ग्रे मार्केट’बाट खरिद गरिन्छ । क्वेटामा भने मौसमअनुसार विदेशी मुद्रा भित्रिने गर्छ । हज र उमराहका बेला त्यहाँ विदेशी मुद्रा आवश्यक पर्छ ।

कराँचीदेखि क्वेटासम्म अवैध ढंगले विदेशी मुद्रा ओसारपसार गर्ने बाटो एउटै समूहको हातमा छ । क्वेटादेखि चमन हुँदै अफगानिस्तानसम्म डलर पु¥याउने जिम्मा अन्य समूहले लिने गरेका छन् । सो मार्ग हुँदै अफगानिस्तानमा जति डलर तस्करी हुन्छ–त्यो पेशावरबाट हुने गरेको तस्करीको तुलनामा निकै सानो हिस्सा मात्रै हो । पेशावरबाट अफगानिस्तानतर्फ तस्करी गरिने धेरै डलर पञ्जाबको अवैध मुद्रा बजारबाट खरिद गरिन्छ । पेशावरबाट एक/डेढ घण्टामा सजिलै पुगिने रावलपिण्डी यसको केन्द्र हो ।

निकै सजिलो काम, तर देश चौपट

पाकिस्तानबाट अफगानिस्तानमा डलर तस्करी गर्न निकै सजिलो छ । किनकी दुवैतर्फ एक–अर्को देशका नागरिकको आवतजावत निकै बाक्लो छ । सीमाबाट एक किलोमिटर पर अफगानिस्तानतर्फ रहेको वेश मन्डीमा दैनिक हजारौँ मानिसहरूको घुइँचो लाग्छ । पाकिस्तानको क्वेटा र अफगानिस्तानको कन्दहारमा रहेका डलर तस्करहरूबीच सजिलै सम्पर्क हुन्छ ।

ट्रकमार्फत पाकिस्तानबाट अफगानिस्तानतर्फ १० देखि ३० हजार डलरसम्म तस्करी गर्ने गरिएको यसमा संलग्नहरूले बीबीसीलाई बताएका छन् । यो काममा पनि क्वेटा र कन्दहारकै मानिसहरू बढी सक्रिय छन् ।

जफर पराचा एक्सचेञ्च कम्पनीज् एसोसिएशन अफ पाकिस्तानका अध्यक्ष हुन् । अफगानिस्तानतर्फ पेशावरबाटै धेरै डलरको तस्करी भइरहेको उनी बताउँछन् । तस्करहरूले स्थलमार्ग नै प्रयोग गर्ने गरेका छन् ।

पाकिस्तानको केन्द्रीय बैंकले नै अफगानिस्तानतर्फ डलर तस्करी भइरहेको स्वीकारेको छ । अहिले अफगानिस्तानको राजधानी काबुलमा डलरको विनिमय पाकिस्तानमा भन्दा पनि धेरै रहेकाले यसो भइरहेको बैंकका अधिकारीहरू बताउँछन् । यतिखेर काबुलमा एक अमेरिकी डलरको विनिमयदर १७८ पाकिस्तानी रुपये पुगिसकेको छ । जबकी पाकिस्तानमा १७१ रुपयेसम्म छ । 

अहिले क्वेटा र पेशावर शहरको ग्रे मार्केटमा १७५ रुपयेमा एक अमेरिकी डलर खरिद गर्न सकिन्छ । कराँची र पञ्जाबको ग्रे मार्केटमा त अझै कम मूल्यमा डलर विनिमय भइरहेको छ । त्यहाँबाट काबुलमा डलर पु¥याउन सक्नेले निकै लाभ लिन सक्छन् । किनकी, अहिले काबुलमा डलरको माग निकै बढेको छ । काबुलमा डलरको विनिमयदर नघटेसम्म पाकिस्तानबाट तस्करी बढिरहने पाकिस्तानका मुद्रा सटही कर्ताहरू बताउँछन् ।

यसरी, अफगानीहरूको भोक मेटाउन विदेशबाट अधिक आयात गर्दा र काबुलमा डलरको अभाव मेटाउन तस्करी हुँदा पाकिस्तानको मुद्रा नै यतिखेर निकै कमजोर बनेको हो ।

बीबीसी  हिन्दीमा प्रकाशित सामग्री अनुवाद/सम्पादन गरी प्रकाशित ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप