अन्तरवार्ता

‘काँग्रेसलाई विजय गच्छदारको खाँचो छ, उपसभापतिमा दोहोरिनुहुन्छ’

लगानीको हिसाब गरौ, हामी काँग्रेसका आगन्तुक होइनौँ : योगेन्द्र चौधरी

person explore access_timeअसोज १४, २०७८ chat_bubble_outline0
तस्विर : कृष्ण खड्का

नेपाली काँग्रेसको राजनीतिमा विजयकुमार गच्छदारको बेग्लै ऐतिहासिक पृष्ठभूमि छ । मधेसको थारु समुदायमा सांगठनिक पकड भएका गच्छदारलाई विगतमा काँग्रेसभित्र जुझारु नेताका रूपमा लिइन्थ्यो । तर, अहिले उनको परिचय बदलिएको छ ।

लामो विरासत रहेको काँग्रेस पार्टी छोडेर २०६४ पश्चात् मधेस केन्द्रित राजनीतिमा लागेका गच्छदार ०७४ मा काँग्रेसमा फर्किएपछि आगन्तुक नेताजस्तै देखिन पुगेका छन् । पछिल्लो समय उनले बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचारसम्बन्धी मुद्दाको समेत सामना गरिरहनुपरेको छ । यसले उनलाई थप कमजोर बनाएको छ ।

नेपाली काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा बाहिरै रहेका गच्छदार १४ औँ महाधिवेशनमा आफ्नो टिमसहित सहभागी हुँदै छन् । महाधिवेशनमा उनी नेतृत्वको फोरम लोकतान्त्रिकबाट काँग्रेसमा समाहित भएका नेता–कार्यकर्ता पनि सहभागी हुँदै छन् । भ्रष्टाचारको आरोप लागेपछि रन्थनिएका गच्छदारले १४ औँ महाधिवेशनमा आफू र आफ्नो समूहको व्यवस्थापन कसरी गर्छन्, प्रस्ट भइसकेको छैन ।

काँग्रेसमा आएपछि राजनीतिक निर्णयका आधारमा उपसभापति मनोनीत भएका गच्छदार १४ औँ महाधिवेशनमा पनि सर्वसम्मत सोही पदमा दोहोरिन चाहेको उनी निकट केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रातोपाटीलाई बताए । गच्छदारप्रति कार्यकर्ताको उत्साह र उर्जा उस्तै रहेकाले काँग्रेसमा उनी आवश्यक रहेको चौधरीको दाबी छ ।

काँग्रेस महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को छानबिन गर्ने समितिमा जिम्मेवारी निर्वाह गरेका चौधरीले सदस्यता छानबिन सम्बन्धी आफ्नो अनुभव पनि रातोपाटीलाई सुनाए । काँग्रेसले चौधरीलाई कर्णाली र सुदूरपश्चिम प्रदेशको क्रियाशील छानबिन गर्ने जिम्मेवारी दिएको थियो । उनले आफ्नो जिम्मेवारी मङ्गलवार सम्पन्न गरेका छन् ।

क्रियाशील सदस्यता टुङ्ग्याउने क्रममा काँग्रेसलाई नजिकबाट अध्ययन गरेका चौधरीले गुटगत राजनीतिका कारणमा काँग्रेसमा सोझा साझालाई स्थापित हुन कठिन हुने सुनाए । तर, उनी आफूलाई भने महाधिवेशनमा थारु कोटाबाट सह महामन्त्री पदमा उभ्याउने प्रयासमा छन् ।

काँग्रेसमा क्रियाशील सदस्यता टुग्याउँदाको सकस, गच्छदार समूहको महाधिवेशन रणनीति र उनको तयारीबारे रातोपाटीले योगेन्द्र चौधरीसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ –

क्रियाशील सदस्यता छानबिन समितिमा बसेर काँग्रेस महाधिवेशन प्रक्रियामा बुझ्ने अवसर पाउनुभयो । नवप्रवेशीका नजरमा तपाईँले काँग्रेसलाई कसरी अध्ययन गर्नुभयो ?

यत्रो समय क्रियाशील सदस्यता छानबिन समितिमा बसेर काम गर्दाको अनुभव मैले कृष्णप्रसाद सिटौला दाइसँग पनि शेयर गरेको थिएँ । म एउटा थारुको छोरो । यस्तो काँग्रेसमा विजयकुमार गच्छदार कसरी टिक्नुभयो ? यति धेरै तिक्डमबाज छ ।

म यस्तो केही जान्दिनँ । मेरोजस्तो स्वभाव भएका मन्छेलाई काँग्रेसमा गाह्रो देख्छु । मजस्तै धेरै थारु समुदायका साथीहरूलाई काँग्रेसमा स्थापित हुन साह्रै कठिन  परिस्थिति देखेँ दाइ भनेर उहाँलाई सुनाएको थिएँ । उहाँले पनि अब काँग्रेस सबैको रहेन भन्नुभयो ।​

तपाईँले काँग्रेसमा आफू स्थापित हुन किन कठिन ठान्नुभयो ?

पार्टीमा एउटा क्रियाशील सदस्यता थप्नु पार्टीकै लागि फाइदा हो नि । तर, एउटा मान्छे थपिँदा पनि, घट्दा पनि साह्रै विवाद हुन्छ । क्रियाशील सदस्यता दिँदा पनि उसको र मेरो भनेर कित्ता छुटाउने काम हुन्छ । त्यो कुरा क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन प्रतिनिधिसम्म गुटगत हिसाब–किताब गरिरहेको देख्छु । हामीजस्ता गुटगत अभ्यास गर्न नजान्ने काँग्रेसमा स्थापित हुन गाह्रो देख्छु । एउटा थारुको छोरा विजय दाइ कसरी स्थापित हुनुभयो भनेर सोचिरहेको छु ।

तपाईँले सभापति शेरबहादुर देउवाको गृह जिल्ला रहेको सुदूरपश्चिम प्रदेशको क्रियाशील सदस्यता छानबिन गर्ने जिम्मेवारी पाउनुभएको थियो । देउवाको गृह जिल्ला डडेलधुराको क्रियाशील सदस्यता विवाद ठूलो मुद्दा बन्यो । त्यहाँको क्रियाशील सदस्यता टुङ्ग्याउन कत्तिको सकस भयो ?

काँग्रेसमा गुटको राजनीति हाबी छ ।  काँग्रेसलाई बलियो बनाउनेभन्दा पनि सबैले आ–आफ्नो गुटलाई बलियो बनाउँदा आफ्नो राजनीतिक भविष्य देख्ने परिस्थिति छ । गुटगत राजनीतिले डडेलधुराको विषय विवादमा आएको हो । नभए त्यहाँ विवाद गर्नुपर्ने कारण थिएन । क्रियाशील सदस्यता छानबिन समितिले डडेलधुराबारे गरेको निर्णय अन्य जिल्लामा भएको भए विवादको विषय बन्ने थिएन । सभापतिको जिल्ला भएकाले यसलाई एजेन्डा बनाउने प्रयास गरियो ।

पार्टी सभापति जोसुकै भए पनि सफल बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । सभापतिमा अर्को मान्छे भए पनि हामीले सहयोग गथ्र्यौं । पार्टी सभापतिलाई असहयोग गर्नु र असफल बनाउनु पार्टीलाई असफल बनाउनु हो । त्यसैले पार्टी सभापतिलाई सफल बनाउनुपर्छ भन्नेमा म प्रष्ट छु । मैले त्यहीअनुसार काम गरेको हुँ ।​

तर, तपाईँले सभापति शेरबहादुर देउवा पक्षलाई बलियो बनाउने गरी काम गर्दा त्यस्तो अवस्था आएको आरोप छ नि ?

क्रियाशील सदस्यता छानविन समितिमा रहेका अन्य साथीहरू पहिले नै दुई खेमामा विभाजित हुनुहुन्थ्यो । उहाँलाई को कार्यकर्ता कुन खेमाको भन्ने थाहा थियो । तर, म त नयाँ थिएँ । मलाई त्यो केही थाहा थिएन । कुन जिल्लामा को, कुन खेमामा बसेको छ, मलाई ज्ञान थिएन । छानबिन समितिमा रहेका अन्य साथीहरूभन्दा मैले स्वतन्त्र निर्णय गरेको छु । मैले कुनै गुटको हिसाबले काम गरेका छैन । मैले जिम्मेवारी पाएको प्रदेशमा क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ । म मेरो कामबाट सन्तुष्ट छु ।

तपाईँले आफू काँग्रेसभित्रको कुनै गुटमा छैन भन्नुभयो । तर, शेरबहादुर देउवाप्रतिको तपाईँहरूको झुकाव लुकाएर लुक्छ र ?

पार्टी सभापति जोसुकै भए पनि सफल बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । सभापतिमा अर्को मान्छे भए पनि हामीले सहयोग गथ्र्यौं । पार्टी सभापतिलाई असहयोग गर्नु र असफल बनाउनु पार्टीलाई असफल बनाउनु हो । त्यसैले पार्टी सभापतिलाई सफल बनाउनुपर्छ भन्नेमा म प्रष्ट छु । मैले त्यहीअनुसार काम गरेको हुँ ।​

त्यसोभए फोरम लोकतान्त्रिकबाट काँग्रेसमा जोडिएको पङ्क्तिले महाधिवेशनमा कसलाई सहयोग गर्छ ? तपाईँहरूको रणनीति के छ ?

कुनै पनि मान्छेले राजनीति गर्दा भविष्य हेर्छ नै । हामी पनि काँग्रेसमा आउँदा राजनीतिक भविष्य हेरेर नै आएका हौँ । राजनीतिक भविष्य जता सुरक्षित देखिन्छ, त्यतातर्फ जाने कुरा मानवीय स्वभाव नै हो । शेरबहादुर देउवाजी विजयकुमार गच्छदारसँग आएका फलानो–फलानो मान्छे ठीक छन्, उनीहरूलाई योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्छ भन्ने उहाँलाई लाग्यो भने सहयोग गरौँला ।

यस्तै रामचन्द्र पौडेलजीले पनि योगेन्द्र चौधरीहरू पार्टीका लागि आवश्यक मान्छे हुन् भन्ने लाग्यो र संरक्षण दिनुभएको हामीलाई आभास भयो भने उहाँलाई हामीले पनि साथ दिन्छौँ । हरेक मान्छेले आफ्नो राजनीतिक भविष्य हेरिरहेको हुन्छ । जोसँग हामीलाई राजनीतिक भविष्य सुरक्षित हुन्छ भन्ने लाग्छ, उसैसँग हुन्छौँ ।​

तपाईँहरू काँग्रेस प्रवेश गरेको चार वर्ष भएको छ । चार वर्षको भोगाइबाट कसले आफ्नो राजनीतिक भविष्य सुरक्षित गरिदिन्छ जस्तो लाग्यो ? कोसँग सहज महसुस गरिराख्नुभएको छ ?

अहिलेसम्म पार्टी सभापतिका रूपमा शेरबहादुर देउवाजीले नै हामीलाई जिम्मेवारी दिनुभएको छ । हामीलाई जिम्मेवारी दिँदा पार्टीमा कति धेरै सकस भोग्नुभयो, पार्टीभित्रको सन्तुलन कसरी मिलाउनुभयो, त्यो उहाँलाई थाहा होला । तर, हामीले जिम्मेवारी पाएका छौँ । त्यो जिम्मेवारी सभापतिले नै दिएको हामीलाई आभास भएको छ ।

काँग्रेसमा विजय दाइको धेरै रगत र पसिना पनि बगेको छ । आधा जीवन काँग्रेसमै बिताउनुभयो । उहाँले असोज ६ गते म सभापतिको उम्मेदवार होइन भन्नुभएको छ । काँग्रेसका सबैले उहाँलाई उपसभापतिमा आवश्यक छ भनेर बुझ्नुभएको छ  । त्यो ठाउँमा ल्याउन उहाँलाई दुवै पक्षबाट सहयोग हुने छ भन्नेमा म विश्वस्त छु ।

१४ औँ महाधिवेशनमा फोरम लोकतान्त्रिकबाट आएका नेताहरूको भूमिका कस्तो रहने छ ?

फोरम लोकतान्त्रिक काँग्रेसमा आउँदा विजय दाइले ‘काँग्रेसमा रहेको ध्रुवीकरणलाई थप ध्रुवीकृत गर्न नभई एक ठाउँमा ल्याउन पुलको काम गर्छु, दुई जना (सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल) मभन्दा सिनियर नेतालाई एक ठाउँमा उभ्याउन सकेको दिन मेरो राजनीति सफल भएको अनुभूति गर्छु र काँग्रेसमा आएको मेरो सार्थकता पुष्टि हुन्छ’ भन्नुभएको थियो ।

अहिलेसम्म उहाँको काम पनि त्यही छ । महाधिवेशनमा पनि उहाँको भूमिका यही रहन्छ । उहाँको दिशानिर्देशले हामीलाई गाइड गरेको छ । तल्लो तहमा पनि हाम्रो भूमिका यही रहेको छ ।​

यो त भूमिकाको कुरा भयो । तपाईँहरूको उपस्थिति कस्तो हुन्छ ?

असोज ७ गते विजय दाइ विराटनगर जाँदा एयरपोर्टमा कार्यकर्ताले देखाएको उत्साह र उर्जाले काँग्रेसमा उहाँप्रतिको विश्वास र कार्यकर्ताको चाहना प्रकट भएको छ । विजय दाइप्रति काँग्रेस कार्यकर्ताको क्रेज उस्तै छ । त्यसैले पनि नेपाली काँग्रेसमा विजय गच्छदारको आवश्यकता र भूमिकाको खाँचो छ भन्ने कुराको पुष्टि गर्छ । उहाँ मधेस राजनीतिमा एउटा खम्बाका रूपमा रहेको नेतृत्व हो । राज्यको मूलप्रवाहमा नआएका लाखौँ लाख थारु समुदायको उहाँले प्रतिनिधित्व गर्नुहुन्छ ।

उहाँ जत्तिको नेतालाई भूमिका दिनुपर्छ भन्ने कुरामा नेताहरूले नजरअन्दाज गर्न मिल्दैन, गर्नु हुँदैन । नेताहरूले उहाँलाई साझा रूपमा भूमिका दिने ठाउँमा पुग्नुहुन्छ भन्ने हाम्रो विश्वास हो । काँग्रेसमा विजय दाइको धेरै रगत र पसिना पनि बगेको छ । आधा जीवन काँग्रेसमै बिताउनुभयो । उहाँले असोज ६ गते म सभापतिको उम्मेदवार होइन भन्नुभएको छ । काँग्रेसका सबैले उहाँलाई उपसभापतिमा आवश्यक छ भनेर बुझ्नुभएको छ  । त्यो ठाउँमा ल्याउन उहाँलाई दुवै पक्षबाट सहयोग हुने छ भन्नेमा म विश्वस्त छु ।

१४ औँ महाधिवेशनमा तपाईँको उपस्थिति कहाँ रहन्छ ? के रणनीति बनाइराख्नुभएको छ ?

फोरम लोकतान्त्रिकबाट आएका हामी ११ जना केन्द्रीय सदस्य छौँ । हामी सबै पुरानै भूमिका आउने मलाई विश्वास छ ।

थारुको समावेशी कोटाबाट सहमहामन्त्रीको उम्मेदवारका रूपमा तपाई चर्चा छ नि ? सहमहामन्त्रीमा तपाईँको दाबी हो ?

मैले अहिले नै दाबी गरेको छैन । तर, नेताहरूले पार्टीमा दिने जिम्मेवारीबाट भाग्ने कुरा हुँदैन । म सहमामन्त्रीको जिम्मेवारी लिन योग्य छैन पनि भन्दिनँ । सहमहामन्त्रीका लागि मेरो योग्यता र क्षमता पुगेको छ । साथै मधेसको रणनीतिक जनसङ्ख्या बोकेको थारु समुदायलाई राजनीतिकरुपमा स्थापित गर्ने कुरामा नेताहरू गम्भीर हुनुपर्छ । विजय कुमार गच्छदारपछि काँग्रेसमा थारु नेता कसरी जन्माउने हो ? काँग्रेसकाले नेताहरू संवेदनशील भएर सोच्ने बेला आएको छ । मधेसको राजनीति पेचिलो बन्दै गएको छ । मुलुकको अखण्डताको रक्षाका लागि पनि थारु समुदायबाट नेतृत्व स्थापित गर्ने कुरा काँग्रेस बुझ्नुपर्छ । काँग्रेसमा रहेका थारुहरूले उचित जिम्मेवारी पाउनेछन् भन्नेमा म विश्वस्त छु ।​

तपाईँले थारु समुदायबाट गच्छदारको उत्तराधिकारीको कुरा गर्नुभयो । तर, त्यसका लागि व्यक्तिगत, लामो पारिवारिक राजनीतिक पृष्ठभूमि खोजिन्छ होला । तपाईँहरू आगन्तुकले त्यो योग्यता राख्नुहुन्छ र ?

कसैले हामीलाई आगन्तुक भन्छ भने उहाँ भ्रममा हुनहुन्छ । उहाँहरू कति पुरानो काँग्रेस हो ? हामी कति पुरानो काँग्रेस हो, इतिहास हेर्दा हुन्छ । मेरा हजुरबाले भन्नुहुन्थ्यो, परशुनारायणजी (काँग्रेसका संस्थापक नेतामध्येका एक तथा तत्कालीन महामन्त्री पशुनारायण चौधरी) को नेतृत्वमा धेरै चौकी लुट्न जान्थ्यौँ । कतिपटक हामीले फाइरिङ गरेका छौं भनेर सुनाउनुहुन्थ्यो । त्यसरी काँग्रेसमा प्रतिवद्ध भएर लागेको पारिवारिक इतिहास बोकेको व्यक्ति म पनि हो । मेरो बुवा काँग्रेस भएकै कारण द्वन्द्वकलामा हाम्रो घर लुटियो । हामी दाङबाट विस्थापित भएर काठमाडौँ बस्यौँ ।

वर्तमान सभापतिको नेतृत्वमा बनेको प्रजातान्त्रिक काँग्रेसमा मेरा बुवा कार्यालय सचिव भएर बस्नुभयो । मैले पनि सुरुमा नेविसंघको राजनीति गरेको हुँ । तर, योबीचमा नेपालको राजनीति फरक कोर्समा गयो । हामीले थारु आन्दोलन गर्नुपर्ने अवस्था आयो । त्यतिबेला हामीले थारु आन्दोलन नगरेको भए नेपाल राजनीति यो ठाउँमा हुन्थ्यो ? त्यसैले थारु आन्दोलनले यो मुलुकको अखण्डतालाई रक्षा गरेको छ ।

मेरो नेतृत्वमा मान्छे प्राण त्याग्न तयार भए । दाङमा दुई जना मान्छे मरे । हामीले आन्दोलनबाट ‘एक मधेस एक प्रदेश’लाई खण्डित गर्‍यौँ ।  काँग्रेस छाडेर भए पनि त्यो दायित्व निर्वाह गर्नु के हाम्रो भूल थियो र ? के हामीले पार्टीप्रति गद्दारी गर्‍यौँ ? मुलुकप्रति गद्दारी गर्‍यौँ ? हामीले थारु आन्दोलन नगरेको भए मुलुकको राजनीति आजको अवस्थामा हुने थिएन । काँग्रेस, माओवादी र एमालेले मधेस एक प्रदेश दिन तयार भएको अवस्था थियो । मुलुकको अखण्डतालाई रक्षा गर्ने काम हामीले गरेका हौँ ।

त्यसैले, कोही साथीले काँग्रेसमा भर्खर आयो भन्ने तर्क गर्नुहुन्छ भने म त्यसमा सहमत छैन । उहाँले मुलुकप्रति गरेको योगदान, मैले गरेको योगदान, काँग्रेसमा मेरो परिवारको लगानी र उनको परिवारले गरेको लगानीको हिसाब गरौँ न त ? त्यसैले म काँग्रेसको आगन्तुक होइन ।

 


कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।