बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा इन्धनको हाहाकार अझै जारी

बिहीबार, १४ असोज २०७८, १५ : ३४
बिहीबार, १४ असोज २०७८

 बेलायतमा पछिल्ला केही दिनयता इन्धन आपूर्तिमा भएको संकटका कारण मानिसहरुमा हाहाकार मच्चिएको छ ।  इन्धन अभावका बढेका  कारण मानिसहरुले सपिङ ब्याग, जेरिकेन, बाल्टिन जस्ता भाँडामा समेत इन्धन भर्ने गरेका भिडियो तथा फोटो भाइरल बनेका छन् । 

लाइनमा बस्दा इन्धन सकिएर गाडी  धकेल्दै गरेको दृश्यका साथै पेट्रोल स्टेशनमा नै हातपात गरेको दृश्य पनि अहिले सामान्य बनिसकेको छ  । बेलायतका करिब आठ हजार पेट्रोल स्टेसनमध्ये एक करिब तिहाइमा मात्र इन्धन उपलब्ध हुँदै आएको अधिकारीहरुले बताएका छन् । 

आपूर्तिलाई सहज बनाउन सरकारले १५० वटा सेनाका ट्यांकरहरुलाई तालिम दिएको बताए पनि घण्टौंसम्म गाडीमा लाम लाग्नुपर्ने अवस्था यथावत नै छ । पर्याप्त मात्रामा इन्धन मौज्दात रहे पनि इन्धन ढुवानी गर्ने चालकको अभावका कारण सङ्कट उत्पन्न भएको हो । वर्तमान परिस्थितिमा बेलायतमा  ९० हजारदेखि एक लाखसम्म लरी ड्राइभरको आवश्यकता रहेको छ । उक्त परिस्थितिलाई मध्यनजर राख्दै सरकारले आगामी क्रिसमस झन् आतंक फैलिने भन्दै  विदेशी लरी ड्राइभरलाई तीन महिने अस्थायी भिसा दिने  प्रक्रिया अघि बढाएको छ ।

 तर, कतिपय युरोपेली ड्राइभरहरूले भिसा अवधि  छोटो भएको भन्दै सरकारको उक्त आव्हान अस्वीकार गरेका छन् । अनावश्यक रुपमा पनि मानिसहरुले इन्धन मौज्दात राख्न थालेपछि इन्धन संकट झन् चुलिएको छ । पेट्रोल स्टेशनहरुमा २४ घण्टा नै गाडीहरु लामबद्ध देखिन्छ ।

बेलायतमा इन्धन भण्डारण सम्बन्धी कानूनी प्रावधान

बेलायतमा  पेट्रोल  स्टेसनबाट आफ्नो सवारी साधनबाहेक अन्य भाँडामा इन्धन भर्दा कानूनले निर्धारण गरेको मापदण्डको पालना गर्नुपर्नेछ । बढीमा कति मात्रामा इन्धन भण्डारण गर्न सकिन्छ, कस्तो सुरक्षा विधि अपनाउनुपर्छ र कस्तो भाँडामा कहाँ राख्नुपर्छ भन्ने विषयमा कानूनले स्पष्ट व्यवस्था गरेको छ ।

आफ्नो  सवारी साधनबाहेक आफूसँग इन्धन भण्डारण गर्नको लागि यहाँको कानूनले निश्चित सिमा निर्धारण गरेको छ । भण्डारण गर्ने भाँडाको आधारमा कतिसम्म इन्धन राख्न सकिन्छ भन्ने निर्धारण गरिएको छ । प्लास्टिकको भाँडामा १० लिटर, धातुको  भाँडामा २० लिटर र फ्युल ट्यांकमा ३० लिटरसम्म इन्धन भण्डारण गर्न सकिनेछ । पेट्रोल प्रज्वलनशील भएकोले भाँडामा पेट्रोल र उच्च प्रज्वलनशील चिन्हसहित स्पष्ट खुलाएर लेख्नुपर्नेछ । दुईवटा उपयुक्त भाँडोमा बढीमा ३० लिटरसम्म पेट्रोल राख्न पाउने कानूनी प्रावधान छ । घरमा भण्डारण गर्दा घर भन्दा  ६ मिटरको दुरीमा सेड वा ग्यारेजमा राख्नुपर्नेछ । तर, आफ्नो सवारी साधनको ट्यांक, बोट तथा जहाजमा भएको इन्धनलाई भने गणना गरिनेछैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप