गम्भीर धोका भयो, यथास्थितिमा हामी एमाले छैनौँ : प्रभु साह (भिडियोसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहीबार बिहान १० बजे पार्टीका केन्द्रीय सदस्य प्रभु साहलाई आफ्नै निवास बालकोटमा बोलाए । असोज १५ देखि गोदावरीमा हुने विधान अधिवेशन ‘बहिस्कार’ गर्ने बताइरहेका साहलाई फकाउन ओलीले बालकोट बोलाएका हुन् ।
पूर्वमाओवादीबाट रामबहादुर थापा बादलसँगै एमालेमा मिसिएका पूर्वमाओवादी नेता प्रभु साहले आफू अझै एमाले हुन नसकेको बताउँदै आएका छन् । पछिल्लो समय उनले एमाले केन्द्रीय कमिटीको बैठकसमेत बहिस्कार गर्दै आएका छन् । केपी ओलीको क्याबिनेटका मन्त्रीसमेत रहेका साहले अध्यक्ष ओलीसँग विभिन्न ८ वटा माग राखेका छन् । यी माग पूरा नभए विधान महाधिवेशनमा सहभागी नहुने साहको अडान यथावत छ ।
विहीबार बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले साहका मागप्रति सकारात्मक रहेको भन्दै महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए । तर, साहले मौखिक आश्वासनले मात्रै नहुने भन्दै आफ्ना मागबारे एमालेले औपचारिकरुपमै निर्णय नगरेसम्म महाधिवेशनमा भाग लिन नसक्ने जवाफ ओलीलाई दिएका छन् ।
बालकोटमा अध्यक्ष ओलीसँग वार्ता सकेपछि रातोपाटीसँग कुरा गर्दै साहले भने, ‘अध्यक्षसँग सकारात्मक कुरा भएको छ । उहाँले विधान अधिवेशन र बैठकमा आउनुपर्यो भन्नुभयो, मैले त्यसरी सहभागी हुने–नहुने तपाईंको हातमा छ भनें । हामीले उठाएका सकारात्मक कुराहरु सम्बोधन गर्नुहुन्छ भने आउने वातावरण बन्छ भनें । यदि त्यो स्वीकार्नुहुन्न र असहमत हुनुहुन्छ भने सायद म आउदिनँ भनेको छु । उहाँले म सहमत छु, मिलाउँछु भन्नुभएको छ । पार्टीको स्पष्ट धारणा आएन भने महाधिवेशनमा जान सकिँदैन ।’
आखिर एमाले अध्यक्ष केपी ओलीसँग पूर्वमाओवादी नेता साहले राखेका ८ माग के–के हुन् त ? यिनै विषयमा केन्द्रित रहेर रातोपाटीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–
तपाईंलाई ‘नेकपा एमालेका नेता प्रभु साह’ भन्दा हुन्छ ?
अब कानूनी ढंगले त भनि पनि राखेको छ, हामीले त्यसलाई अन्यथा पनि लिएका छैनौं । वैचारिक, राजनीतिक ढंगले यदि एमाले नेकपाको निरन्तरता हो भने हामीलाई स्वीकार्न केही गाह्रो छैन । यदि पुरानै ढाँचाबाट जुन अभ्यास भइराखेको छ, त्यो यथास्थितिको एमाले त होइनौँ हामी ।
तपाईं केन्द्रीय सदस्य त हुनुहुन्छ नि एमालेको ?
त्यही त मलाई आश्चर्य लाग्छ । नेकपाबाट एमाले ब्युँतिसकेपछि यो नेकपाकै निरन्तरता हो भनेर नेताहरुले भनिराखे हामीलाई । व्यवहारतः त्यो देखिएन । यसका कारण केहो–केहो जस्तो अन्योलको स्थिति सिर्जना भयो । कि त एमाले नै हुनुपर्ने थियो भने तपाईं एमाले हुने कि नहुने भनेर हामीसँग सोध्नुपथ्र्यो । यदि नेकपाकै निरन्तरता हो भने एमालेको अभ्यास गर्नु हुँदैनथ्यो । त्यसैले यो प्रश्न मलाई भन्दा पनि नेकपा एमालेकै नेताहरुसँग सोध्नुभयो भने राम्रो हुन्छ ।
किनकि, नेकपाकै एउटा हिस्सा केपी ओलीजीलाई हामीले साथ दिएको हो । अदालतले एमाले ब्युँत्याइदिएपछि उहाँले एमालेकै अभ्यास गर्छु, तपाईंहरु एमालेमा आउनुहुन्छ या आउनुहुन्न भनेर सोध्नुपर्ने हो । हाम्रो नाम त्यहाँ सुनियो । र, हामीले भेट्दा यो नेकपाकै निरन्तरता हो, पुरानो एमाले होइन र हुन पनि सक्दैन भनिराख्नुभयो । तर, गरिराख्नु के भयो भने एमाले नै गरिराख्नुभयो । त्यसैले अब यसरी त जान सक्दैनौं भनेर हामीले केही विषयहरु उठान गरेका छौं ।
तपाईंले एमालेमा जुन ८ बुँदे माग राख्नुभएको छ, यो प्रभु साहको मात्रै माग हो कि एमालेमा गएका सबै पूर्वमाओवादी नेताहरुको माग हो ? बादल, लेखराज भट्टहरुले एमालेमा महत्वपूर्ण जिम्मेवारी नै सम्हालिराख्नुभएको छ । एमालेमा पूर्वमाओवादीका प्रभु साहमात्रै असन्तुष्ट हो कि ?
सबैको संख्या र मात्रा कम बेसी त होला । तर, मैले राखेको पोइन्ट जति पनि माओवादी पक्षबाट एमालेमा आवद्ध छन्, ती सबै साथीहरुको भावलाई समेटेर राखिएको विषय हो । र, टोपबहादुर रायमाझीजीले क्रियट गरेका बुँदाहरुलाई हामीले व्यवस्थित गरेको हो । त्यसैले यो प्रभु साहको मात्रै होइन । प्रस्तुत मैले गरेको हो, तर आम माओवादी पक्षको भावनाको प्रतिनिधित्व गरेर हामीले राखेका हौं ।
उसोभए तपाईंलाई अहिले नेकपा एमालेको नेता भनिहाल्न मिलेन ?
यथास्थितिमा त हामी एमाले छैनौं । नयाँ स्थिति बन्यो भने एमालेबाट अलग हुनुपर्ने कुनै कारण पनि देख्दिनँ ।
अब तपाईंले एमालेमा प्रस्तुत गर्नुभएका आठबुँदे मागबारे बुँदागत छलफल गरौं । तपाईंले ८ बुँदे प्रस्तावको पहिलो नम्बरमा भन्नुभएको छ– एमालेलाई नेकपाको निरन्तरताको स्थितिमा पुर्याइयोस् । यो के भन्न खोज्नुभएको ?
नाम र अदालतको निर्णयले कानूनतः एमाले भनिए पनि हामीले नेकपाकै एउटा हिस्साका रुपमा बुझिराखेका थियौं । तर, कस्तो देखापर्यो भने नेताहरुले अदालतको बाहना बनाउँदै, अदालतले बनाइदियो भन्दै साँच्चिकै एमालेको विधानतः अभ्यास गर्न थाल्नुभयो । एमालेको विधानतः अभ्यास गर्न थालेपछि माओवादीबाट आएका साथीहरुको पोजिसन के हुन्छ भन्ने प्रश्न गम्भीर हुँदै आयो । सुरुमा आयोजक कमिटी थियो, त्यसलाई अलिकति हामीले एडजस्ट गर्न खोजिरहेकै थियौं । त्यसपछि केन्द्रीय समिति ब्युँतियो । त्यसपछि फूल फेजका सबै संरचना र विधि विधानहरु ब्युँतिए । त्यसो भएपछि गम्भीर स्थिति सिर्जना भयो र हामीले भन्यौं, यो एमाले नै हो भने प्रष्ट पार्नुपर्यो, त्यसपछि हामी एमाले स्वीकार्न या त तयार हुनुपर्यो, या अर्को निर्णय गर्नुपर्यो । नेकपाकै निरन्तरता हो भने हामीलाई केही समस्या छैन । एमाले हो भने सोच्नुपर्ने हुन्छ भन्दै आएका थियौं ।
पछिल्लो चरणमा खास गरेर अध्यक्षकै निर्देशनमा जस्तो लाग्छ, एउटा कार्यदल निर्माण भयो । त्यो कार्यदलको बैठक पनि बस्यो । त्यो कार्यदलमा भएको छलफललाई मैले अहिलकति पोइन्ट आउट गरें र पछिल्लो समय अध्यक्षसँग बसिसकेपछि खासै निचोडमा पुग्न सकिएन । त्यसपछि यथास्थितिमा थियो । तर, आज अध्यक्षसँग पोजेटिभ नै कुरा भएको छ । यदि पोजेटिभ सम्वोधन भयो भने हामी सकारात्मक रुपले नै लिन्छौं ।
यहाँले एमालेको कार्यदलतर्फ संकेत गर्नुभयो । कार्यदलले जेठ २ अघिको एमालेको संरचना फर्कने गरी जुन १० बुँदे सहमति तयार पारेको थियो, यसमा पूर्वमाओवादी नेताहरुको आपत्ति हो ?
हामीलाई निरन्तर भनिराख्नुभयो कि यो नेकपाकै निरन्तरता हो । तर, व्यवहारमा अर्कै गरिराख्नुभयो । यसले हामीलाई बढी चिन्तित बनाएको छ । मेरो विचारमा यो एकदम गम्भीर प्रकारको धोका हो यो । हामीसँग धोका हो । यदि नेकपा नै थिएन, हुनै सक्दैनथ्यो भने हामीलाई यसरी ढाँटिराख्नुपर्ने जरुरी थिएन । हामी एमाले स्वीकार्न पनि सक्थ्यौं, नस्वीकार्न पनि सक्थ्यौँ । तर, हामीलाई ढाँटेर, नेकपाकै निरन्तरता, नेकपाकै निरन्तरता भनेर .... । नेकपा भनेको के हो ? नेकपा भनेको विचार पनि हो । नेकपा भनेको राजनीतिक कार्यदिशा हो । त्यसको कार्यक्रम पनि हो । नेकपा भनेको त्यसको अलग विधान पनि हो । नेकपा भनेको यसको अर्कै भाव पनि हो । यसलाई मुखले मात्र भनिराख्ने, व्यवहारतः नगर्ने हो भने यो एक ढंगको जालझेल र धोका भन्न सकिन्छ ।
त्यसैले अब नयाँ ढंगको समझदारी नगरिकन, नयाँ ढंगको स्पष्टता हासिल नगरिकन जान गाह्रो भयो । मेरो मात्र होइन हाम्रो आम माओवादी पङ्क्तिलाई नै असहज छ । तपाईं जहाँ–जहाँ हुनुहुन्छ, एक त जिम्मेवारी नै छैन । जिम्मेवारी भए पनि खासै उसको रेस्पोन्स छैन र जिम्मेवारीको बोधै छैन । पद दिए पनि कामको जानकारी नै छैन । एक त विधानले माओवादी चिन्दैन । धेरै मान्छेलाई माओवादीका बारेमा थाहा पनि छैन । एमालेको स्कुलिङ माओवादीप्रति पोजेटिभ रहेनछ । संख्या पनि माओवादीको थोरै भएको नाताले पनि सायद अपमानको ठूलो परिघटना म देख्छु । त्यसकारण यसलाई हल गर्न नेतृत्व पङ्क्तिले नीतिगतरुपमा नै माथि उठेर काम गर्न सकियो भने यो पार्टी साँच्चिकै एकतावद्ध र सुदृढ हुन्छ । नत्र नेकपा एमाले सफलताको दिशामा अगाडि बढ्न सक्दैन ।
एमालेलाई २०७५ जेठ २ अघिको संरचनामा फर्काउने कुरा र ‘नेकपाको निरन्तरता’बीच विरोधाभास भयो भन्न खोज्नुभएको हो ?
जेठ २ मात्र होइन । २०७१ सालकै विधानमा आयो । हामीले नेकपाकै विधान र प्रतिवेदनमै नेकपा एमाले लेख्दिेउ भनिरहेका थियौं । यदि एमालेकै निरन्तरता हो भने ०७१ को विधान ब्युँताइराख्नु त परेन । नेकपाकै विधानमा नेकपा एमाले लेखे पुग्थ्यो । त्यही राजनीतिक प्रतिवेदनमा नेकपाको ठाउँमा नेकपा एमाले लेखे हुन्थ्यो । नेकपा एमाले शब्दसँग खासै मलाई आपत्ति पनि थिएन । तर, विधि विधान, राजनीतिक विचार मुख्य कुरा हो । त्यो स्वीकार्न गाह्रो मानिरहेको सन्दर्भमा अब नयाँ समझदारी नभइकन त्यहाँ जानु भनेको आत्मघाती हुन्छ । र, कम्युनिस्ट आन्दोलन पनि फेलियर हुन्छ भन्ने गम्भीर रुपमा लागेरै मैले यो विषयलाई उठान गरेको हुँ । म अझ भन्छु कि एमाले अझ पुरानै ढर्रामा चलिराख्यो भने एमालेको भविष्य छैन ।
पहिलो मागबारे चर्चा गर्यौ, अब दोस्रो मागमा जाऔं । एमालेसँग तपाईंको दोस्रो माग छ– हिजो नेकपाले अभ्यास गरेको ‘जनताको जनवाद’ लाई विकास गरेर अगाडि बढ्नुपर्छ । यसको अर्थ, एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद (जबज) तपाईंहरुलाई स्वीकार्य नभएको हो ?
जबज मदन भण्डारीज्यूले ल्याउनुभो र त्यतिबेलाका कम्युनिस्ष्ट आन्दोलनका चुनौतीहरुको समाधान गर्नुभो । भ्रमहरु हटाउँदै कम्युनिस्ट आन्दोलनप्रति आकर्षण सृष्टि गर्नुभो । उहाँको विचारले कम्युनिस्ष्ट आन्दोलनलाई नै नयाँ उचाइमा बढायो भन्ने हामीलाई लाग्छ । त्यसपछि नेपालमा ठुल्ठुला राजनीतिक परिवर्तनअरु भए । खासगरी सशस्त्र युद्ध यसरी भयो कि विश्वलाई नै हल्लाइदियो । विश्वलाई चकित पार्दै संविधानसभामा जान बाध्य गरिदियो । यसरी सडक आन्दोलन भयो कि त्यसले संसद पुनस्थापना गर्यो । ब्यालेटबाट पनि यस्तो चमत्कार भयो कि गणतन्त्र घोषणा भयो । यी जुन परिघटनाहरु भए, यसको अन्तर्यमा रहेको विचारलाई तपाईं स्वीकार गर्ने कि नगर्ने ? यसका सकारात्मक पक्षहरुलाई हामीले स्वीकार्न सकेनौं .... मदन भण्डारी भएको भए मलाई लाग्छ यसलाई स्वीकार गर्नुहुन्थ्यो ।
अहिले पनि जुन एक्काइसौं शताब्दीको गणतन्त्र हामीले जुन अभ्यास गरिराखेका छौं, थुप्रै चुनौतीहरुले घेरिएका छन् । देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । आम जनता अहिले निराश भएका छन् । यहाँका योग्य व्यक्तिहरु विदेसिन बाध्य छन् । तिनिहरुलाई आकर्षित गर्ने एउटा आइडियोलोजीको विकास हामीले गर्नैपर्दछ । नेतृत्व र पार्टीप्रति यो आकर्षण पैदा गर्ने भनेको विचारले नै हो । मदन भण्डारी भएको भए अहिले यसमा बहस पनि गर्नुपर्दैनथ्यो जस्तो लाग्छ । तर, अहिले जसरी एमाले ०४८ सालको विचारमा टाँसिएर बसिराखेको छ, त्यसले ०७८ साललाई कमाण्ड गर्छ भन्ने मलाई लाग्दैन । यसमा कम्युनिस्ष्ट आन्दोलनको भविष्य छैन र नेपालको पनि भविष्य छैन । एमालेजस्तो पार्टी पछाडि–पछाडि हिँडिराख्यो भने देश अगाडि बढ्न सक्दैन । यो चिन्ताका साथ हामीले केही विषयहरु उठाएका हौं ।
खासगरी अहिलेको महाधिवेशनमा विचारको नयाँ संश्लेषण र विकास गर्नुपर्छ । यो पंतिवद्धता आयो भने हामी सकारात्मकरुपमा बहसमा भाग लिन सक्छौं । तर, नेताले यसमा कमा, फुस्टिप केही पनि परिवर्तन हुँदैन भनिराख्ने हो भने यसमा हामी पक्कै जानु पनि छैन, तपाईंको एमाले तपाईंसँगै राख्नोस्, हामी अर्को बाटो हिँड्छौं भनेको हो मैले ।
भनेपछि, ‘जबज’ को ठाउँमा ‘जनताको जनवाद’ नै हुनुपर्छ भन्ने माग हो तपाईंको ?
जनताको जनवाद त सबै नेताले स्वीकारेर तीन वर्ष अभ्यास गरेको विषय हो । जनताको जनवाद त मेरो भूमिकाबाट भएको होइन । त्यतिबेलाका माओवादी नेता र एमालेका शीर्ष तहका नेताहरुकै सहमतिमा जनताको जनवाद आएको हो । त्यसमा प्रभु साहको कुनै सेयर छैन ।
जनताको जनवादको व्याख्या जसरी गरिएको थियो, यदि त्यसलाई मान्ने हो भने जबजभन्दा माथि उठेको समाजवादउन्मुख एउटा संक्रमणकालीन विचारका रुपमा हामीले त्यसलाई बुझ्दछौं । यदि जनताको जनवाद नै भन्नु थियो भने अहिले पछाडि फर्कनुको त कुनै कारण छैन ।
हिजो एमालेका साथीहरुले तीन वर्षसम्म के कारणले जनताको जनवाद भन्नुभएको थियो ? तीनवर्षसम्म अभ्यास गर्नुभो । विचार एउटा यस्तो चिज हुन्छ, अजा एउटा भन्दिने, भोलि अर्को भन्दिने ? यसले त नेताप्रतिको विश्वसनीयतालाई माथि उठाउँदैन ।
हामीले के भनेका छौं भने हामीले तीन वर्ष जे अभ्यास गरेका थियौं, यसलाई पनि मान्नुहुँदैन, यसमा बहस गरेर अझ समृद्ध गरौं । यसलाई अझ समृद्ध बनाउन हामी प्रतिवद्ध छौं भन्ने हो भने बहसमा हामीलाई सहजता हुन्छ । नत्र, यसमा यताउति गर्न सकिँदैन, जबज भनेको एउटा ब्रह्मास्त्र हो, यसलाई चलाउन पनि हुँदैन, छुन पनि हुँदैन भनिराख्यो भने नेपालको समस्या हल हुँदैन । त्यो अवस्थामा हामी कि सति जानुपर्यो, सति गएर देशलाई फाइदा छैन । हामी यसमा ओपन भएर छलफल गर्छौं र नयाँ निचोड दिन्छांै भन्यो भने आम जनता पनि यसमा सहभागी हुन्छन् र कम्युनिस्ट आन्दोलनका चुनौतिलाई नयाँ निचोड पनि दिन सक्छौं ।
मदन भण्डारीले जसरी जबज ल्याए, त्यसले कम्युनिस्ट आन्दोलनलाई नै नयाँ प्रवाहमा अघि बढ्न मद्दत गर्यो । एउटा गडगडाहट भयो, जसरी देश कम्युनिस्टमय नै भएको थियो । जनताको जनवाद स्वीकारीसकेपछि देशमा दुई तिहाइ जनमत आयो । यो विचारको बलमा आएको त्यो मतलाई पनि ठाउँ दिनुपर्छ कि पर्दैन ?
तपाईंले ‘नेकपाको एकताको निरन्तरता’ हुनुपर्ने माग गरिराखेका बेला जबजको साटो ‘जनताको जनवाद’ भन्दाखेरि नेकपाको भाव आउँछ ?
मैले सुरुमै भनें, एमालेमा हामी प्रवेश गरेको होइन, एकताको रुपमा आएको हो । तर, अहिले प्रवेशजस्तो पनि होइन, एकताजस्तो पनि होइन । यो निन्तान्त नयाँ परिवेशलाई नयाँ ढंगले संश्लेषण गर्नुप-यो । एउटै बुझाइ तलदेखि माथिसम्म हासिल हुनुपर्यो । नेताहरुमा एउटै बुझाइ छैन । एउटा एमाले जसरी कुदिरहेको छ, अर्को माओवादी छाँटिएजस्तो देखापरेको छ । त्यसको नयाँ संश्लेषण र नयाँ सम्बोधन भएन भने हामीले काम गर्न सजिलो छैन, अप्ठ्यारो छ भन्ने एउटा भाव त्यहाँनेर छ ।
दोस्रो, विचारको विकासमा हामी जड भएर होइन, अगाडि बढेर मात्रै हल हुन्छ । तेस्रो, जसरी एमालेको पोर्टफोलियो हामीले ब्युँताइदिएपछि तलदेखि माथिसम्म सबै पदाधिकारी ब्युँताइए, माओवादी पदाधिकारीविहीन थिए । माओवादीहरु हिजो पोर्टफोलियोविहीन थिए भन्न त मिल्दैन । हिजो दुईवटै पोर्टफोलियो बिगारेर नयाँ पोर्टफोलियो बनाएको सन्दर्भ नेकपाको हो । माओवादीको हकमा तपाईं नेकपाको पुरानो पोर्टफोलियो भन्नुहुन्छ, अनि एमालेको हकमा पुरानो ब्युँतिने ? यसो भएपछि त हामीलाई यहीँबाट अपमान सुरु भयो ।
एउटा संख्याले अपमान, अर्को विचार, विधान र धरातलले अपमान । त्यसमा पनि दिनदिनै नयाँ–नयाँ प्रावधान थपेर डिमोरोलाइज गर्ने हो भने त सायद कम्युनिष्ट आन्दोलन र एकतावद्धताको भाव बिग्रिन्छ भनेर त्यो चिन्ताका साथ हामीले एमालेको पुरानोको पोर्टफोलियो कायमै गर्ने हो भने माओवादीको पनि पुरानो पोर्टफोलियो कायम गर्नुपर्यो । जसरी एमालेको पदाधिकारी ब्युँताइयो, माओवादीका पनि पुरानो पदाधिकारीहरु थिए । ती पदाधिकारीलाई पनि पदाधिकारीमा समायोजन गर्नुप-यो । त्यसमा पनि पोलिटब्युरोहरु थिए, कमिटीहरु थिए, ती कमिटीहरुको पनि मिलान गर्ने एउटा नयाँ समझदारी हुनुप-यो । त्यो भयो भने माओवादीका साथीहरुले पनि असहज महसुस गर्दैनन् ।
एमालेको जस्तो पोर्टफोलियो ब्युँतिए पनि माओवादीले असुरक्षित फिल नगर्ने वातावरण बनाउन एउटा नयाँ समझदारी जरुरी छ भन्यौं हामीले । त्यो भयो भने माओवादीको असुरक्षाको, अनिश्तितताको समाधान हुन्छ । तेस्रो, हामी महाधिवेशन गर्दैछौं र माओवादीबाट आएको संख्या थोरै छ । र, महाधिवेशनमा हामी निर्वाचन गर्छौ र चुनाव हुन्छ भन्दा माओवादीहरु त त्यत्तिकै खाली नै हुन्छ ।
दोस्रो माग (जबज) को चर्चा पनि सकियो । अब तपाईंले उठाएको तेस्रो मागचाहिँ संविधानका त्रुटिहरु सच्याउनुपर्छ भन्ने छ । संविधान संशोधन गर्नुपर्छ भन्ने माग विभिन्न कोणबाट उठ्ने गरेका छन् । जस्तो–दरबारियाहरुले पनि आफ्नै तरिकाले कुरा उठाउँछन् । एमालेभित्रै पनि धर्मनिरपेक्षता र संघीयतामाथि केही प्रश्न उठेका छन् । संविधानमा तपाईंको असहमतिचाहिँ कहाँनेर हो ? ‘संविधानको त्रुटी’ कहाँनेर सच्याउनुपर्ने हो ?
नेपालमा हामी ३० वर्षदेखि एक ढंगको दलीय शासन प्रणालीको अभ्यास गरिरहेका छौं । तीन चरणमा यसलाई बुझ्यौं भने सहज हुन्छ । एउटा ०४६ देखि ०६३ सालसम्म । अर्को ०६३ देखि संविधान घोषणासम्मको अवधिसम्म । र, तेस्रो संविधान जारी भइसकेपछिको मिश्रित निर्वाचनसहितको संसदीय व्यवस्था । यी तीनवटैलाई सारमा हेर्ने हो भने मुख्यतः संसदीय दलीय प्रणाली नै हो ।
अहिले जुन अभ्यास हामी गरिरहेका छौं, संविधान घोषणा भइसकेपछि हामीले पाँचवटा सरकार हेरिसकेका छौं । दुईवटा नेपाली कांग्रेसका सरकार, दुईवटा एमाले नेतृत्वको सरकार र एउटा प्रचण्ड नेतृत्वको माओवादीको सरकार । यी पाँचवटा सरकारमा तात्विक अन्तर त केही पनि देखिएन, चाहे दुई तिहाईको सरकार होस्, चाहे कामचलाऊ सरकार होस्, चाहे बहुमतको सरकार होस् । जे गरे पनि सारमा जनतालाई उत्साहित गर्ने केही भएन ।
नयाँ संविधान निर्माणपछि सायद देशमा ठूलो आकर्षण हुन्छ भन्ने थियो । तर, जबसम्म देशको नेतृत्वप्रति जनता विश्वस्त हुँदैन । आफू के गर्ने हो भन्ने कुरामा स्पष्ट हुँदैन र जनता उत्साहित हुँदैनन्, तबसम्म देश बनाउन सकिँदैन । अहिले आम जनतालाई सडकमा हेर्नुस्, नेपालमा भविष्य राम्रो छैन भन्ने परेको छ । नेताहरु नै कोही ठीक छैनन् भन्दै हिँड्ने अवस्था छ । नेताले देश बनाउँछ भनेर आश्वस्त भइरहेका छैनन् ।
नेताका छोरा, ज्वाइँ, छोरी बुहारी नै विदेश पलायन भइरहेका छन् । उहाँहरुको परिवारमै विश्वास छैन । विदेश पलायन हुने, यहाँको पुँजीहरु लुटेर विदेश पु-याउने एउटा ठूलो श्रृंखला चलिरहेको छ । यसलाई रोक्ने भनेको त व्यवस्थामा के समस्या देखिएको छ, के कमजोरी भइरहेको छ, जोज्नुपर्छ । नेपालमा स्थिरता नभई समृद्धि हुँदैन । स्थिरता कुनै ठाउँमा पनि सम्भवै छैन । भनेपछि, जे समस्या देखाप-यो, त्यसलाई हल गरौं ।
हामीले हुने–नहुने सबै ग-यौं । जस्तो– आरक्षणको व्यवस्था भनेको गरिब, उत्पीडित, दमितहरुलाई हुन्छ । तर, शासक जातिलाई आरक्षण, दुनियाँ नभएको काम हामीले ग-यौं। दुनियाँमा नभएको ७७० वटा सरकार बनायौं । यो कुनै देशमै छैन । कुनै पनि देशमा यसरी तीनवटा तह छैन । दुईवटा तहले नै पुग्थ्यो ।
हाम्रो मिश्रित संसदीय प्रणाली हो । मिश्रित प्रणाली हामी जो बनाइरहेका छौं, जो दलितहरु सांसद भएका छन्, उनीहरु दलित समुदायबाट डराएका छन् कि नेतृत्वबाट ? अभ्यासमा त के देखियो भने नेताप्रति उत्तरदायी बढी भइरहेका छन् । प्रत्यक्ष जितेका जनप्रतिनिधि जनताप्रति अलिकति उत्तरदायी हुने भए पनि समानुपातिक नेताहरु त नेतृत्वप्रति नै उत्तरदायी भएको देखिएको छ ।
नेताजी र पार्टी कस्तो धरातलमा बनिरहेको छ भने हामी विधान अधिवेशन र महाधिवेशनहरु विभिन्न पार्टीहरुका हेरिरहेका छौं, यदि पार्टी सिस्टम हो भने त पार्टी पनि जवाफदेही हुनुपर्ने हो । चुनावमा एउटा घोषणापत्र बनाउनुहुन्छ, त्यसप्रति कुनै जवाफदेही छैन । नत्र नेकपा एमाले र माओवादी मिलेर चुनाव लडे, त्यतिबेला हामी एउटै पार्टी बनाउँछौं, कम्युनिष्ट मिलेर आउछौं, कम्युनिष्ट पार्टीको सरकार हुन्छ । ५ वर्षको सरकार हुन्छ भनेर प्रतिवद्धता जनाएर भोट लियौं । प्रभु साहहरु एकता नै खोजिरहेको छ, कम्युनिष्टकै साथमा छ, जो पदमुक्त भयो । कांग्रेसको पछाडि हिँड्नेहरु वैधानिक भएर हिडिँरहेका छन् । यदि साँच्चिकै लोकतन्त्र नै हो भने लोकतान्त्रिक परिपाटीमा जसले निर्णय गर्छ, त्यो लागु गरेन भने दण्डित त ऊ नै हुनुपर्ने हो नि ।
जनतासँग प्रतिवद्धता गरेको, जवाफदेही नहुने । त्यसमा कुनै लगाम र कानून नलाग्ने ! यो लोकतन्त्रप्रतिको मजाक भइरहेको छ । यो होलसेलमा भन्ने हो भने यो व्यवस्थाका कैयन नकारात्मक कुरा हामीले महसुस गरिरहेका छौं । मलाई लाग्छ, यही शासन प्रणाली, संसदीय विकृत शासन प्रणालीले दलालहरु उत्पादन गर्ने कारखानाजस्तो भयो । यसले देशको भलाइ गर्दैन । यसबारे पनि विचार गर्न जरुरी छ । एमालेले पनि विचार गर्न जरुरी छ ।
जब केपीजी प्रधानमन्त्रीबाट हट्नुभएको थियो, म उहाँलाई भेट्न बालकोट गएको थिएँ । उहाँले घतलाग्दो कुरा गर्नुभयो, उहाँले यस्तै टाइपको न्याय प्रणाली रहिरह्यो भने नेपालमा लोकतन्त्र विकसित र समृद्ध हुन मद्दत पुग्छ भन्ने लाग्दैन भन्नुभयो । अदालतप्रतिको उहाँको अलिकति बढी चिन्ता देखिन्थ्यो । अर्को यो प्रोसेसबाट जसरीअघि बढिरहेको छ । यस्तै भइरहने हो भने त देशमा समृद्धि निकै टाढा भइसक्यो । मलाई लागेको थियो कि उहाँले गम्भीर भएर यस व्यवस्थाको समीक्षा गर्नुहुन्छ भन्ने लागेको थियो । तर, यता, आएर त खासै त्यसमा चासो देखिँदैन । मैले यो कुरा गम्भीर ढंगले लिएँ, किनकि हामी नेपाल बनाउनकै लागि पार्टी राजनीतिमा लागेका औं । अब यस्तै नै हो र यो व्यवस्था उपयुक्त छैन भने के कारण उपयुक्त छैन ? फेल भएपछि यसबारे छलफल, समीक्षा गर्छौं र यो व्यवस्थामा समय सापेक्ष परिमार्जन गर्छौं भन्ने एउटा प्रतिवद्धता चाहियो । र कसरी परिमार्जन गर्ने भनेर बहस चलाउनुपर्यो ।
तपाईंले ८ बुँदे मागको चौथो नम्बरमा पूर्वमाओवादीहरुलाई पार्टीभित्र उचित समायोजन र वरियताको क्रम पनि नयाँ निर्धारण गर्नुपर्छ भन्नुभएको छ । अहिले पूर्वमाओवादीबाट एमाले गएका नेतालाई उचित समायोजन र सम्मान नभएको स्थिति छ र ?
हो । अहिले कयौं ठाउँमा त कमिटी नै बनेको छैन । नेकपा हुँदा पनि विभागहरु बनिसकेको थिएन । बन्ने क्रममा विवाद भएर कहाँ–कहाँ पुग्यो । जो नयाँ बनिरहेको छ, त्यसमा पनि एकताको भाव पर्दा गराउनुप-यो र सबैको सम्मानजनक सहभागिता गराउनुप-यो । भइरहेको पनि जब एमालेको पोर्टफोलियो ब्युताइँदिएपछि माओवादीको पनि पूर्वपोर्टफोलियो अनुसार मिलान गर्नुपर्यो । नयाँ थप्दा पनि एकताको भावअनुसार थप्नुप-यो भन्ने हो ।
अब महाधिवेशन गर्दा एकताको अधिवेशन गर्नुपर्छ । किनकि नेकपाको प्रतिवद्धता नै एकताको अधिवेशन गर्ने भन्ने थियो । त्यसैले अब एमालेले जो महाधिवेशन गर्दैछ, त्यो एकताको महाधिवेशन गर्छ भने माओवादीका साथीहरुले पनि असुरक्षित महसुस गर्दैनन् । तर, निर्वाचनबाट छान्छौं, बहुमतको निर्णय हुन्छ भनियो भने त माओवादी साथीहरु यहाँ बसेर देशलाई योगदान र पार्टीलाई केही गर्छु भन्ने सम्भावना त धेरै दूर जान्छ ।
तपाईं नेकपा माओवादी केन्द्रमा पोलिटब्युरो सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो हैन ? एमालेमा अहिले त्यो जिम्मेवारी छैन....
माओवादीमा कार्यालय अर्थात् हेडक्वाटर भन्ने सबैभन्दा माथिल्लो कमिटी थियो र त्यसमा हामी थियौं । अहिले त्यो छैन । मेरोमात्र होइन, पोलिटब्युरो सदस्यहरु अरु पनि थिए । जो पोलिटब्यरो सदस्य हो, ऊ केन्द्रीय सदस्यसम्म भएन । तर, गैरपोलिटब्युरोहरु केन्द्रीय सदस्य भए । हिजो प्रचण्डजीको महानताले होला ! यस्तो भएको थियो । अब नेकपा त रहेन । नेकपा रहदाँसम्म त मतलब भएन, नेकपा भएको भए नेकपाको पोर्टफोलियो अनुसार जान्थ्यो ।
पूर्वमाओवादीमा हुदाँ पोलिटब्युरो सदस्यमा रहेकाहरु अहिले एमालेमा पनि त्यही जिम्मेवारीमा हुनुपर्यो भन्न खोज्नुभएको हो ?
उदाहरणका लागि, हिजो सचिवालय सदस्य हुनुहुन्थ्यो बादलजी । उहाँ माओवादीमा लामो समयदेखि महासचिव रहँदै आउनुभएको हो । एउटै पार्टी हुँदा पनि महासचिव हुनुहुन्थ्यो । भनेपछि, अब पूर्वएमाले ब्युताइँदिएपछि उहाँ सत्रौं, सोह्रांै नम्बरमा हुनुहुन्छ । उहाँ सत्रौं नम्बरको फिगर हो र ? जब केन्द्रमा यस्तो भइरहेको छ भने तल त कति होला होला । उपाध्यक्ष भए, सचिव भए, को–को पदाधिकारी ब्युतिएँ एमालेका । माओवादीको हिजो एक–एकजना राखेको छ । हिजो सचिव अथवा अध्यक्ष राखेको थियो । यसरी पोर्टफोलियो मिलाउँदा त माओवादी झनै ‘डिमोरोलाइज्ड’ भयो । भनेपछि मिलाउनुप-यो, नीतिगत ढंगले मिलाउनुप-यो । व्यक्ति टार्गेट गरेर होइन, आमरुपमा हेरेर मिलाउनुप-यो ।
यसो भनिरहँदा प्रभु साहले एमालेमा स्थायी कमिटी सदस्य मागेको भन्छन् नि मानिसहरु ?
हैन, पूरै माओवादीलाई उत्साहित पार्ने गरी एउटा नीतिगत सम्बोधन खोजेको हो । प्रभु साहलाई व्यक्तिगत भन्ने कुनै सोच छैन । त्यो त, कयौं जायज कुरालाई स्वीकार्न नसकेर उल्टै दोषारोपण गर्नेबाहेक अरु केही पनि हुँदैन । कसैले यस्तो भन्छ भने त्यसमा कुनै सत्यता छैन ।
यथार्थमा माओवादीको पनि पुरानो पोर्टफोलियो चाहियो । एमालेको पुरानो पोर्टफोलियो नब्युताउँदासम्म त हामीले भनेका थिएनौं । नेकपा हुँदा त मैले केही भनेको थिइनँ । नेकपामा हिँड्नुस् न, मैले केही भनेको छैन । तपाईं नयाँ–नयाँ पद सिर्जना गर्ने, अनि माओवादीमा के मानिसहरुको पोर्टफोलियो र लेबल थिएन ? थियो भने मिलाउँ न त भन्ने हो ।
एमालेमा तपाईंको पाँचौं माग रहेछ, पदपूर्ति गर्दा पनि सम्मानजनक स्थान पूर्वमाओवादीलाई चाहियो.....
मैले भनेकै थिएँ, समायोजन नै भएको थिएन । कयौं कमिटी निर्माण भएको थिएन र नयाँ ठाउँ पदपूर्ति पनि भइरहेको छ भने एकताको भाव पनि हुनुपर्यो र माओवादीलाई ठाउँ पनि दिनुपर्यो ।
तपाईंको छैठौं माग सहमितका आधारमा एकताको महाधिवेशन हुनुपर्छ, सहमतिमै नेतृत्व चयन हुनुपर्छ भन्ने हो ?
महाधिवेशन गर्ने र निर्वाचन नगर्ने भन्ने हुँदैन । तर, निर्वाचन गर्दा खासगरी एकतामा आएका साथीहरुको कसरी सम्बोधन गर्ने भनेर नयाँ सम्बोधन हुनैपर्छ । जस्तो– एकतामा हामी आयौं, नि विभिन्न पक्षबाट । ती साथीहरुको भूमिका कसरी जोड्ने र सहजीकरण कसरी हुने भन्ने समझदारी हुनुपर्छ । अनिमात्रै हामी आश्वस्त भएर महाधिवेशनमा सहभागी हुन सक्छौं ।
नत्र, असुरक्षित भइराख्ने, यहाँ चिनजान पनि छैन, सदस्यहरुले मर्म पनि बुझ्दैन, कसले के योगदान गरेको छ भन्ने पनि बुझ्दैन । कयौं मानिस त माओवादी भनेको, कुनै–कुनै जिल्लामा त एमालेको कसैलाई माओवादीले दुख दिएको, अब यसलाई यही पार्टीमा आयो, अब ठीक गर्छाैं भन्दै हिँडेको पनि सुनेका छौं । त्यसकारण, एउटा नेगेटिभ स्कुलिङबाट आएको ठाउँमा अलिकति सहजीकरण हुने अवस्था भएन भने त गाह्रो हुन्छ भन्ने हो ।
तपाईंको सातौं माग प्रदेश २ मा विगतको सहमति कार्यान्वयन गर्नुपर्ने भन्नुभएको रहेछ । प्रदेश २ मा एमालेसँग के सहमति थियो ? के कार्यान्वयन भएन ?
प्रदेश २ मा त्यतिबेलाको पदाधिकारीहरु हामी जति पनि थियौं, एकचोटि हामी बसेर एमाले–माओवादी भइसकेपछि संगठनलाई कसरी संयोजन गर्ने, त्यसको सैद्धान्तिक आधार बनाउँ भनेर छलफल ग-यौं । सबै डाटा लियौं ।
जस्तो– एमालेका २१ जना प्रदेश सांसद हुनुहुन्थ्यो, जसमा केपीजीतिर ८ जना आए । १३ जना माधव नेपालतिर गए । माओवादीका ११ जना सांसद थिए । हामीसँग चार जना आए, ७ जना प्रचण्डजीतिर गए । मेयर, उपमेयर झन्डै ३३ प्रतिशत जति हामीतिर आए । केपीजीहरुको पक्षमा ५५ प्रतिशत आयो । पहिले हामी माओवादी–एमाले हुँदा ५०–५० प्रतिशत बाँडफाँड गरेका थियौं । यद्यपि अहिले नयाँ स्थिति सिर्जना भयो । चेन्ज आएपछि हामी ४०–६० रेसियो देखियो । किनकि, एमालेमा १ सय सदस्यीय प्रदेश कमिटीमा ५५ जना केपीजीतिर आए । माओवादीका झन्डै १ सय जना प्रदेश कमिटी सदस्यमा ३१ जनाजति हामीतिर भए । यो सबै हेर्दा ४०–६० भनेर हामीले समझदारी ग-यौं ।
आठ जिल्लामध्ये ५ जिल्लाको इञ्चार्ज एमालेलाई, ३ जिल्लाको इञ्चार्ज माओवादीलाई । यसरी जिम्मेवारी बाँडफाँड ग-यौं । तर, कतिपय नेताहरुले माओवादीको नेतृत्वको कहाँ हुन्छ भनेर कार्यान्वयन गर्न मान्नुभएन । जबकि, प्रदेशका नेताहरुमा हामीले लिखित सहमति गरेका थियौं । तर, कार्यान्वयन भएन । किन भएन ? माओवादीको नामै लेख्नुहुन्न, माओवादी पक्ष भन्नै हुन्न । माओवादी छैन त कहाँबाट माओवादी लेखेर आयो भनेजस्तो आएपछि यसले झनै हामीलाई तरंगित ग-यो ।
हामी त माओवादीकै हिस्सा हौं । वैधानिकताको कानूनी कुरा गर्दा त अलग होला । किनकि, एकीकृत माओवादीको वैधानिकता त प्रचण्डजीसँग छ । तर, हामी त्यसैको एउटा हिस्सा हो । हामी माओवादीकै एउटा टुकडी हो, हामीलाई माओवादी नभने त के भन्ने ? प्रश्न आएपछि जटिल पनि भयो । अब यसलाई फुकाउने हो भने विगतको सहमतिलाई सम्बोधन गर्नुप-यो भन्ने हो । उहाँहरु केही नेता, व्यक्ति हेरौं भन्नुहुन्छ । व्यक्ति त पछि हेरौंला न, पहिला त संगठन संयोजन गर्ने हो नि !
हाम्रो संगठन यतिकै त चलेको थिएन । हामी कोही नेता यतिकै भएको थिएन । तपाईंबाट परीक्षा लिएर हुने होइन नेता । अहिले जोड्ने हो भने हाम्रो पोजिसन जोडौं, पछि त्यसलाई कामका आधारमा मूल्यांकन गरौं । अहिले जोड्नेबेलामा त्यो ठीक छैन, हिजो के थियो भन्ने हिसाव गरेर हामी यहाँ प्रवेश गर्ने होइन । हाम्रो समग्र टीमलाई सम्बोधन गर्ने हो भने एकताको भावना आवश्यक छ ।
मैले किन एकता–एकता भनिरहेको छु भने, मैले कयौं ठाउँमा के पाएँ भने माओवादी पक्ष कहाँ रह्यो अब ? भनिन्छ, म पार्टीमा पक्षको कुरै नगर्नुस्, पक्षको कुरा गरेर पार्टी बन्नै सक्दैन भनिरहेको छु । जबकि पक्ष नभन्ने तर पक्षभन्दा बढी पक्षधरता गर्ने मान्छेहरुले पार्टी बिग्रियो ।
लुकाएर पक्षको र गुटको काम गर्ने, मुखले गुटसुटको कुरा गर्न नचाहने गर्नाले पार्टी बिग्रिरहेको छ । हामी त अहिले जोडिरहेका छांै । संयोजन पनि भएको थिएन । अब संयोजन गर्दा के आधारमा गर्नुहुन्छ ? के चिन्नुहुन्छ ? माओवादीको को हो प्रदेश र जिल्ला कमिटी, एमालेको को हो ? थाहा छ त ? नयाँ त महाधिवेशनमा छानौंला नि ! अहिले त जोड्ने बेला हो । जोड्दा कति अनुपातमा जोड्ने के लेवलमा जोड्ने ? मापदण्ड र आधार के हुने ? त्यसमा नीतिगत समझदारी गरेर जाऔं भन्दा कसैलाई असहज भयो होला ।
तपाईंले एमाले नेतृत्वसँग राखेको आठौं माग ‘आइटी आर्मी’ लाई पार्टीकै जनसंगठनका रुपमा मान्यता दिनुपर्ने भन्नेछ, के हो यो आइटी आर्मी ?
आइटी आर्मी आवश्यकता बनिसक्यो । मैले छोटो अवधिमा आइटी आर्मीका गतिविधि हेरेँ, मलाइ लाग्छ देशका जनताले नै गर्व गर्नुपर्छ । किनकि राष्ट्रियताको पक्षमा जहाँत्यहीँ युवाहरु मुखरित भएर आए । काठमाडौसम्म पुगेर खासगरी एमसीसीको विरोधमा प्रदर्शन भयो । राष्ट्रियताको पक्षमा लगाव देखापर्यो । यो सामान्य होइन ।
मुख्यत तराई क्षेत्रका दलितहरु हेर्न सक्नुहुन्छ । आवासको अधिकार मौलिक अधिकार भैसक्यो । आवास निर्माणका लागि अर्वौ अर्व पैसा सरकारले छुट्याएको छ, तर घर बन्ने संख्या न्युन छ । नाम मात्रको छ । स्थानीय निकायमा र प्रदेश २ सरकारमा जनता आवास भनेर लाखौ, करोडौ पैसा जान्छ तर चार बर्षमा ५ सय घर पनि बनेको छैन । चारवर्षमा धेरै पैसा दुरुपयोग भइरहेको छ ।
आइटी आर्मीले अहिले पहल गरेर दलित, गरिवहरुको घर बन्नुपर्छ, यो मौलिक र आधारभुत आवश्यकता भनेर प्रेसर बढाएर आकर्षण भएको छ त्यो सामान्य होइन । अहिले धानबालीको सिजनमा युरिया मलको ठूलो हाहाकारर छ । नेता र राजनीति गर्नेको कमी छैन । पार्टीपिच्छे किसान संगठन छन् । तर, ती किसानका लागि ती संगठनले बोलेको सुनिँदैन । उखु किसान काठमाडौमा आएर धर्ना बस्नुपर्छ । तमसुक पीडित आफैं आउनुपर्छ । मलका लागि किसान आफैं लाग्नुपर्छ । राजनीतिक पार्टीको वरिपरि रहेका किसान संगठनलाई मतलव नै छैन ।
आज आइटी आर्मीले मलखाददेखि लिएर किसानलाई झकझक्याउने काम गरिरहेको छ । हिजोमात्र बारा जिल्लाका आइटी आर्मी साथीहरुले मल र किसानलाई सम्मानको विषय लिएर प्रदर्शन गरे, त्यो स्मरणीय छ । आइटी आर्मीका युवाहरुप्रति जनताको सम्मान पनि छ । किनभने, आइटी आर्मी निस्वार्थ ढंगले गरिव दुःखीको सेवामा लागिरहेको छ । त्यसकारण पार्टीले यो संगठनको अपनत्व लिँदा पार्टीकै क्रेज बढ्छ ।
एमालेले अपनत्व लिएको छैन आइटी आर्मीको ? नेताहरु के भन्छन् ?
मलाई त लाग्दैन त्यस्तो । आइटी आर्मीलाई सहानुभूति त विभिन्न ढंगका छन् । देशकै र जनताको सहानुभुतिमा यस्तो काम गर्न सकेको हो ।
आइटी आर्मीलाई युवासंघको समानान्तर ठानेर हो कि ?
मलाई थाहा भएन । तर, नेताहरु यसबाट असुरक्षित र अलि आतंकित भएको मैले देख्छु ।
तर, प्रभु साहले आइटी आर्मीका नाममा एमालेबाट अलग्गै शक्ति बनाएर अर्को पार्टी खोल्ने तयारी गरिरहेको छ पनि भन्छन् नि ?
युवाहरुले मात्र पार्टी बन्दैन । युवाहरुको संगठन हो यो । तर, यसैबाट पार्टी बन्छ भन्ने पूर्ण कुरा होइन । नेपालमा अग्रगमनका लागि प्रगतिशीलहरुको धु्रवीकरण जरुरी छ । त्यसका लागि एमालेले प्रगतिशील सोचका साथ कम्युनिस्टहरुको नेतृत्व गरोस्, हामीले भनेको हो । तर एमाले एक इञ्चपनि नयाँ ढंगले सोच्दैन, देशको आवश्यकता पनि हेर्दैन भनिराख्ने हो भने तपाईंहामी धु्रविकरणको दिशामा अघि बढ्नैपर्छ, देशलाई निकास दिनैपर्छ ।
तपाईंले आफ्ना यी ८ वटै मागबारे अध्यक्ष ओलीसँग बालकोटमा पुगेर आजै छलफल गर्नुभएको छ, ओलीसँग के कुराकानी भयो ?
अध्यक्षसँग सकारात्मक कुरा भएको छ । उहाँले विधान अधिवेशन र बैठकमा आउनुपर्यो भन्नुभयो । मैले त्यसरी सहभागी हुने–नहुने तपाईंको हातमा छ, हामीले उठाएका सकारात्मक कुराहरु सम्बोधन गर्नुहुन्छ भने आउने वातावरण बन्छ भनें । यदि त्यो स्वीकार्नुहुन्न र असहमत हुनुहुन्छ भने सायद म आउदिनँ भनेको छु । उहाँले म सहमत छु, मिलाउँछु भन्नुभएको छ ।
ओलीको कुरामा तपाईं विश्वस्त हुनुहुन्छ त ? विधान अधिवेशनमा जाने कि नजाने ?
पार्टीको स्पष्ट धारणा आएन भने जान सकिँदैन ।
अचेल माओवादी केन्द्रका नेताहरुसँग तपाईंको भेटघाट र छलफल हुन्छ कि हुँदैन ?
हिजो पार्टी एकताले फेल खायो । म आफ्नो ठाउँबाट एकताका लागि निरन्तर प्रयासरत नै थिएँ । सायद एकताकै प्रयास गरेर ओलीजीसँग पुगियो । अब पनि एकचोटि एकता र धु्रवीकरणको प्रयास गर्नैपर्छ । प्रोग्रेसिभ शक्तिहरु विभाजित भइराखे भने देशले उल्टो दिशा लिन बेर छैन । सुल्टो बनाइराख्न जो देशप्रति चिन्तित छन् र अग्रगामी दिशामा समाजलाई परिवर्तन गर्नुपर्छ भनेर चिन्ता गर्ने साथीहरु अघि बढ्नुपर्छ । बीचमा मैले थुप्रै माओवादीका साथीहरु पनि भेटेँ । यसमा उहाँहरुको चिन्ता सकारात्मक नै पाएको छु । यो परिणाम आउन पनि जरुरी छ ।
परिणाम भनेको, फेरि वामपन्थीको एकता ?
खाली वामपन्थीहरुको एकतामात्रै होइन, प्रगतिशील, जो देश अघि बढोस् भन्ने चाहान्छन् । यसका लागि एमालेले विशेष पहल गर्न सक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
हरायो चेन्नईको चमक, लगातार चौथो हार
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा