रातोपाटी ब्रिफिङ : संविधान दिवस- कतै उत्सव, कतै विरोध, पदक पाउनेप्रति ओलीको कटाक्ष
आज २०७८ असोज ३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा संविधान दिवस : कतै उत्सव, कतै विरोध, पदक पाउनेप्रति ओलीको कटाक्ष, नयाँ नोट भोलिदेखि बजारमा आउने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको अख्तियारको ठहर, संखुवासभा हत्याकाण्डमा अनुसन्धानको दायरा फराकिलो पार्दै प्रहरी, नेपाल निजामती कर्मचारी संगठन विभाजन लगायत छन् ।
१. संविधान दिवस : कतै उत्सव, कतै विरोध
असोज ३ अर्थात् संविधान दिवस कतै उत्सव, कतै विरोध प्रदर्शन गर्दै मनाइएको छ । वर्तमान संविधानको विरोधमा मधेसवादी दलहरु अग्रपंक्तिमा रहँदै आएकोमा काठमाडौंमै नागरिक समाजका अगुवाले समेत आइतबार संविधान दिवसलाई ‘कालो दिन’ का रुपमा मनाएका छन् । केहीले भने राजधानीमै ‘राजा आउ देश बचाउ’ नारा लगाउँदै संविधान र गणतन्त्रप्रतिको असन्तुष्टि प्रदर्शन गरेका छन् ।
२. पदक पाउनेप्रति ओलीको कटाक्ष
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान दिवसका अवसरमा विभिन्न मानपदवी तथा पदकबाट विभूषित गर्नेहरु सूची हेर्दा लाज लागेको टिप्पणी गरेका छन् । सरकारले नातागोता, आफन्त छानेर पदक वितरण गरेको भन्दै ओलीले त्यसप्रति कटाक्ष गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै भोलि (असोज ४) देखि बजारमा नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ । काठमाडौं उपत्यकालगायत देशभरका तोकिएका बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यसैबीच दसैँका लागि काठमाडौंबाट देशका विभिन्न गन्तव्यमा जाने यात्रुका लागि असोजको दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी भएको छ ।
४. वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको अख्तियारको ठहर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्राप्त उजुरीका सम्बन्धमा आयोगले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार गर्ने कार्यादेशसहित गठन गरेको अनुगमन समितिले आयोगलाई प्रतिवेदन बुझाएको छ ।
५. संखुवासभा हत्याकाण्डमा अनुसन्धानको दायरा फराकिलो पार्दै प्रहरी
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा तेजबहादुर कार्की परिवारका ६ जनाको हत्या भएको घटनामा प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो पार्दै लगेको छ । हत्यामा आफ्नो संलग्नता रहेको प्रहरीसमक्ष स्वीकार गरेका लोकबहादुरलाई पक्राउ गरिसकेको अवस्थामा पनि प्रहरीले सो हत्याकाण्डमा अन्यको समेत संलग्नता रहेको आशंकामा अनुसन्धानको दायरालाई बढाएर विभिन्न कोणबाट घटनाको विश्लेषण गरिरहेको छ ।
६. डेढ महिना बित्दा पनि पत्ता लाग्न सकेन हत्यारा
ललितपुर महानगरपालिका–२ सानेपा स्थित गुर्सिङ्गालमा भारतीय नागरिक सत्यनारायण पारिकको हत्या भएको डेढ महिना बित्दा पनि प्रहरीले सो घटनामा संलग्न व्यक्तिको पहिचान गर्न सकेको छैन । २०७८ साउन २० मा सानेपास्थित भाडामा लिएको घरमा पारिक मृत भेटिएका थिए ।
७. कुमारी यात्रा अवलोकन गर्न राष्ट्रपति र प्रधानमन्त्री वसन्तपुरमा
इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बसन्तपुरस्थित कुमारी यात्राको अवलोकनका लागि बसन्तपुर पुगेका छन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्वमा कुमारी यात्रा हेर्न राष्ट्रपति र प्रधानमन्त्री पुग्ने प्रचलन छ ।
८. शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डा. केसी पुगे अमेरिका
विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्रसंघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डा. गोविन्द केसी अमेरिका पुगेका छन् । सोलिडारिटी फर डा. केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उनी अमेरिकाको बोस्टन शहर पुगेका हुन् ।
९. नेपाल निजामती कर्मचारी संगठन फुट्यो
नेपाल निजामती कर्मचारी संगठन फुटेको छ । नेकपा एमाले विभाजन भएसँगै सो पार्टी निकट रहेको कर्मचारी संगठन पनि फुटेको हो । एमालेबाट फुटेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठनको आइतबार बसेको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाउँदै नयाँ नेतृत्वको घोषणा गरेको छ ।
१०. पछिल्लो २४ घण्टामा ७३४ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ७३४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।
११. र यो पनि,
संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् ।
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलका सहसंयोजक सुवोध शेर्पालीले एमाले नेता महेश बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डलाई जोडेर बस्नेतले खेदजनक अभिव्यक्ति दिएको शेर्पालीको भनाइ छ ।
हाइप्रोफाईल व्यक्तिलाई दाङको घोराही उप–महानगरपालिका स्थित होटलमा बोलाएर ‘बार्गेनिङ’ गर्ने ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)